राति १० देखि बिहान ५ बजेसम्म हिडडुल गर्न नपाइने
काठमाडौं । सरकारले राति १० बजेदेखि विहान ५ बजेसम्म हिडडुल गर्न रोक लगाएको छ। अत्यावश्यक काम बाहेक रातिको समयमा हिडडुल गर्न रोक लगाइएको हो।
‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ जारी गर्दै पैदल तथा सवारीसाधनमार्फत रातिमा हुने हिडडुलमा रोक लगाएको गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए।
‘मापदण्ड कडाइका साथ पालना गराउन रातिहुने हिडडुललाई रोकेका हौं।’ गृहमन्त्रालयका सूचना अधिकारीले भने, ‘देशभरका ७७ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएर असार १ गतेदेखि नै लागु हुने गरी यो निर्णय गरिएको हो।’
‘काेराेनाकाे भयावह स्थितिमा किन लखरलखर हिड्न पर्याे त ? त्यसैले रातिकाे समयमा हिड्डुल गर्न राेक लगाइएकाे हाे।’ अधिकारीले भने, ‘याे नियम असार १ गतेदेखिनै लागु छ।’
गत जेठ २८ गते बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन खुकुलो बनाउने र व्यवस्थित गर्न गृहलाई निर्देशन दिएको थियो। मन्त्रिपरिषदको निर्देशन बमोजिम गृहमन्त्रालयले यस्तो मापदण्ड ल्याएको उनले बताए।
उच्च कोरोना संक्रमित भएका जिल्लाहरु दैलेख, रौतहट, कपिलवस्तु र सर्लाहीबाहेक अन्य जिल्लाहरुमा जोर बिजोर गरी निजी सवारी साधन संचालनमा आएका छन्।
चैत ११ गतेबाट सुरु गरेको लकडाउन जेठ ३२ गतेसम्म जारी रहेको थियो। नेपालमा कोरोनाको संक्रमण बढ्दो भएका कारण लकडाउनलाई खुकुलो पारिए पनि सुरक्षा मापदण्ड लागु गरिएको छ।
Facebook Comment