चिनियाँ नेतासँग प्रचण्डले भने : सुरक्षासँग जोडिएको सहयोग अस्वीकार्य
काठमाडौं। भारत र चीनबीच सीमा क्षेत्रमा तनाव बढिरहेका बेला शुक्रबार नेपालको सत्तारुढ दल नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच भिडियो छलफल भएको छ। भिडियो छलफलमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतका नेताहरु सहभागी भए।
नेकपाको स्कुल विभाग र चिनियाँ कम्युष्टि पार्टीका नेताहरुबीच सरकार सञ्चालन, भ्रष्टाचार न्यूनीकरणका विषयमा हुने भनिएको छलफलमा अन्य विषयमा पनि छलफल भएको नेकपाका एक नेताले जानकारी दिए।
उनका अनुसारर नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ नेताहरुसँग सुरक्षासँग जोडिएको कुनै पनि सहयोग नेपालले नलिने बताएका छन्। उनले असंलग्न पराष्ट्र नीतिअनुसार नेपाल कुनै पनि सैन्य गठबन्धनमा नजोडिने उनले बताएका छन्।
प्रचण्डको यस्तो भनाई नेपालमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज (एमीसीसी) विवाद र सीमा क्षेत्रमा नेपाल भारत तथा चीन भारत तनाव भइरहेको बला आएको हो। गएको सोमबार भारतीय र चिनियाँ सेनाबीच भएको झडपमा २० जना भारतीय सैनिक मारिएपछि चीन र भारतबीच तनाव बढेको छ। नेपालले नयाँ नक्शा जारी गरेपछि नेपाल र भारतबीच पनि तनाव बढेको छ।
भारतसँग तनाव बढेपछि चीनले बिहीबार बेल्ट एण्ड रोड कोअप्रेशन समूहमा कोरोना भाइरस लगायतका विषयमा भन्दै नेपाललगायत २६ मुलुकसँग छलफल गरेको छ भने शुक्रबार नेपालको सत्तारुढ दल र चिनियाँ कम्युनिष्ट पार्टीबीच छलफल भएको छ।
प्रचण्डले यस्तो परिस्थितमा सुरक्षासँग जोडिएको सहयोग नलिने भनेर एकै पटक दुई सन्देश दिएका छनु। एक अमेरिकी एशिया प्रशान्त रणनीतिको अंग हो वा होइन भन्ने विवाद रहेको एमसीसी नेपालले अहिलेकै अवस्थामा अनुमोदन नगर्ने र चिनियाँ सरकारी समाचारपत्रले भारतसँगको विवादमा नेपाली सेनाले पनि भूमिका खेल्ने उल्लेख गरेको विषयमा नेपालले सैन्य भूमिका नदेखाउने।
Facebook Comment