सच्याऊ यो इतिहास

डिसी नेपाल
६ असार २०७७ ७:५६

मेरो जन्मलाई बहिष्कार गर्ने
पृथ्वीको प्रत्येक प्राणीलाई भन्न चाहन्छु
तिमीले मेटाउनै नसक्ने सत्य हुँ
मेरो बक्षस्थलबाट बग्दै गएका
यी दुधका धाराहरु संसार निर्माणकाे जग हो
म संसार चलाउने सृष्टि हुँ।

आदि अनादिकालदेखि
तिमी मेरै यौनको मादकताले सृजना भइरहेछौं
कल्पना गर त_
मैले हाँस्न छोडिदिएको दिन के हुन्छ?
के हुन्छ यो चली अाएको सृष्टि?
मेरो हृदयमा करुणा सकियो भने
के हुन्छ तिम्रो अस्तित्व?
के हुन्छ यो संसारको स्वरुप?
एकपल्ट तिमीले सोच्न जरुरी छ।
जबर्जस्ती मलाइ बन्धक बनाएर परिबन्दको जञ्जिरमा
आफूलाई शक्तिशाली सम्झने प्रत्येकले बुझ
तिम्रो जीवनको संरचना मेरो यौनको उन्माद हो
र,
तिमीले म माथि गरेको अत्याचारको प्रत्येक शृङ्खला
इतिहासको भद्दा मजाक हो।
नसोच म कमजोर छु
तिम्रो अत्याचारले समाप्त गर्न सक्दैन मलाइ
मेरो अस्तित्व यो धर्ती र आकाशजस्तै अटल छ।
तिम्रा प्रत्येक कुकर्मको प्रमाण हो मैले बाँचेको जीवन
इतिहासमा साक्षी छ गान्धारी
सबुत छ इतिहासमा सतिप्रथा
सबुत हो सीताको वनबास
सबुत हो योगमायाको जलसमाधि
सबुत हो यो प्रत्येक स्वास्नीमान्छेको दर्दनाक जीवन
सबुत हो प्रत्येक बलात्कृत छोरी र आमा
सबुत हो बोक्सी करार गरिएको वर्तमान।

तिम्रो अत्याचार विरुद्व मलाइ बौलाउन मन छ।
हाँक दिन्छु यो बेथितिको विरुद्ध
कस्तो दोहोरो चरित्र हो यो समाजको?
यति नाटक त हत्याराले पनि गर्दैन?
शङ्का लाग्छ मलाई मेरो शिरको यो रातो सिन्दुर
कुनै वीरङ्गनाको हत्या षड्यन्त्रको सबुत हो
खुनले लतपतिएको त्यही लासमाथि
तिमीले हत्या गरेको झुटको प्रमाण हो।

सच्चाऊ यो इतिहासलाई
जसले स्वास्नीमान्छेलाई मान्छे सोचेन
सच्याऊ तिम्रा प्रत्येक गल्ती
सच्याऊ, मानवता विरुद्धको प्रत्येक सभ्यता
खुनैखुनको लासमाथि
झुटको सत्ता चलाएर बाँच्ने तिम्रो हक छैन
बुझ म कमजोर छैन
तिम्रो छली शासनलाई म केवल पानीको फोका देख्छु।

अहँ,
सहने छैन तिम्रो दमन
मलाइ जेलझै लाग्छ यहाँको प्रत्येक सभ्यता र संस्कृति
मलाइ सास फेर्न पनि मुस्किल भइरहेछ
घमिरा लागिसकेको माटोको ढिस्कोजस्तो
मेरो जन्मदिनमा मनाउनु पर्दैन कुनै उत्सव
गर्नु पर्दैन कुनै नाटक

भर्खरै अस्पतालमा कति मारिदैछन् होला गर्भमै छोरीहरु
भर्खरै कति मारिए होलान् यो धर्तीमा छोरीहरु
यो बीभत्स हत्या शृङ्खलाले म पागल भइसकेको छु
कस्तो तिमीलाई नदुखेको?

कसरी गर्न सकेको आफ्नै आमा र छोरीको हत्या ?
मलाइ उसको चित्कारको कल्पना गर्दा पनि
आङ सिरिङ्ग भएर आउँछ

सच्याऊ ,
सच्याऊ इतिहासले छोरीमाथि गरेको प्रत्येक अन्यायलाई
बन्द गर छोरीलाई गर्भमै हत्या गर्न
कल्पना गर

जसरी तिमीले छोरीहरुको हत्या गरिरहेछौं
त्यसरी नै छोरीहरु यो दुनियाँमा जन्मन छोडे भने
यो संसार कस्तो हुन्छ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *