चीनले नेपाललाई आफ्नो पक्षमा राखेर बंगलादेशलाई पनि तान्न खोजेको भन्दै भारतमा त्रास
काठमाडौं। चीनले बंगलादेशलाई पनि आफूतर्फ आकर्षित गर्न सक्रिय रुपमा लागेको भन्दै भारतमा आतंक फैलिएको छ । भारतीय मिडियाले नेपाल पहिल्यै चीनको पक्षमा भएको र अहिले चीनले बंगलादेशलाई पनि आफ्नो पक्षमा पार्न आक्रामक रुपमा अगाडि बढेको टिप्पणी गरेका छन् । टाइम्स अफ इण्डियाले अहिले चीन भारतको बलियो सहयोगी बंगलादेशलाई आफ्नो पक्षमा पार्न प्रयासरत रहेको लेखेको छ ।
समाचारमा नेपालले यही समय आफ्नो नक्सा परिमार्जन गर्नेगरी गरेको संविधान संशोधन पनि चीनकै आडमा गरेको आरोप समेत लगाइएको छ । यही समयमा चीनले बंगलादेशसँग व्यापार बढाउनको लागि अहम कदम चालेको छ । चीनले बंगलादेशलाई ५ हजार १६१ वस्तुहरुमा ९७ प्रतिशतसम्म कर छुट दिने प्रस्ताव गरेपछि यसले भारतीय व्यापारिक क्षेत्रमा त्रासको वातावरण सृजना गरेको छ ।
ढाकाले आफू अल्पविकसित मुलुक भएको भन्दै चीनसँग यो छुट मागेको थियो । चीनले पनि लद्दाखमा भारतीय सेनासँग भएको झडपको भोलिपल्टै ढाकालाई उसले मागेको छुट दिनेगरी जवाफ फर्काएको छ । बंगलादेशको विदेश मन्त्रालयका अनुसार चीनको अर्थ मन्त्रालयले बंगलादेशका उत्पादनहरुलाई ९७ प्रतिशतसम्म कर छुट दिनेगरी १६ जूनमा पत्र पठाएको छ । यो छुट १ जुलाइदेखि लागू हुनेछ ।
Facebook Comment