शीर्ष चिनियाँ महामारी विशेषज्ञले भनिन्–‘अनुकूल वातावरणमा कोरोनाभाइरस २० वर्षसम्म बाँच्छ’
काठमाडौं। चीनकी एक शीर्ष महामारी विशेषज्ञले कोरोनाभाइरले आफ्नो लागि अनुकूल वातावरण पाएमा २० वर्षसम्म पनि बाँच्न सक्ने बताएकी छिन् । चीनको कोभिड १९ एक्सपर्ट टिमकी सदस्य प्रोफेसर ली लान्जुआनले कोरोनाभाइरस माइनस २० डिग्री सेल्सियसको तापक्रममा २० वर्षसम्म बाँच्न सक्ने बताएकी हुन् । चिसोमा बााच्न सक्ने यही विशिष्ट क्षमताका कारण भाइरस एक देशबाट अर्को देशसम्म पनि सजिलै पुग्न सक्ने उनले चेतावनी दिइन् ।
यी महामारी विशेषज्ञले चिनियाँ अधिकारीहरुलाई चिस्याइएका (फ्रोजन) सालमोन लगायतका खानेकुराहरु आयात गर्दा कडाइका साथ जाँच गर्न पनि आग्रह गरिन् । प्रोफेसर लीले पूर्वी चीनको हाङझेउमा भएको एक बैठकमा शुक्रबार यस्तो बताएको चिनियाँ मिडिया चाइना न्यूजलाई उद्धृत गर्दै डेलीमेलले लेखेको छ । बैठकमा उनले भनिन् ‘नोभेल कोरोनाभाइरस सामान्यतया चिसोसँग डराउँदैन ।’ प्रोफेसर लीका अनुसार भाइरस माइनस ४ डिग्री सेल्सियसमा केही महिनासम्म र माइनस २० डिग्री सेल्सियसमा २० वर्षसम्म बाँच्न सक्छ ।
चीनमा शुक्रबार अण्डरग्राउण्ड सी फूड मार्केटबाट २ सय नमूना लिइएका थिए । यीमध्ये कैयौं नमूना पोजेटिभ पाइएका थिए । यसअघि पनि चीनको झिनफडीमा आयात गरिएका सालकोन माछाको चपबोर्डमा भाइरस पाइएको रिपोर्ट आएको थियो । त्यसपछि सालमोनको बिक्रीमा रोक लगाइएको थियो । ग्लोबल टाइम्सले पनि चीनमा अहिले देखिएका नयाँ संक्रमणका केसहरुको सम्बन्ध आयात गरिएको फ्रोजन फूडसँग पाइएको लेखेको छ ।
Facebook Comment