के मोदी चीनसँग डराएका हुन् ? चीनको पक्षमा यस्तो वक्तव्य किन दिए ?
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नै बोलीका कारण नराम्रोसँग फसेका छन् । उनले हिजो भएको सर्वदलीय बैठकमा बोलेको कुराले चीनले गर्दै आएको दावीलाई समर्थन गरेपछि प्रतिपक्षले उनीविरुद्ध मोर्चाबन्दी गरेका छन् । प्रतिपक्ष आक्रामक भएपछि मोदी ‘ब्याकफूट’मा आएका छन् ।
हिजो भएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले तीन कुरामा जोड दिएर वक्तव्य दिएका थिए । मोदीले भनेका थिए ‘न त्यहाँ कोही हाम्रो सीमामा घुस्न आएको छ, न त्यहाँ कोही हाम्रो सीमामा घुसिसकेको छ, न हाम्रो कुनै पोस्ट कोही अर्काको कब्जामा छ ।’ मोदीको भनाइले झडपका बेला चीनका सेना भारतीय सीमाभित्र प्रवेश नगरेको, झडपभन्दा पहिल्यै पनि चीनका कोही सैनिक भारतीय सीमाभित्र प्रवेश नगरेको र भारतको कुनै पनि पोस्ट चीनको कब्जामा नभएको बुझिन्छ ।
Even the PMO isn’t confident about what the PM says – hence the contradiction in the statements. #ModiSurrendersToChina pic.twitter.com/x1MaOIXm2V
— Congress (@INCIndia) June 20, 2020
तर, यसअघि भारतले चिनियाँ सेना आफ्नो सीमाभित्र प्रवेश गरेको दावी गरेको थियो । चीनले आफ्नो सीमामा प्रवेश गरेपछि झडप भएको र झडपमा सैनिकहरु मारिएको भारतको दावी थियो । चीनले भने तत्कालै प्रतिक्रिया दिँदै आफू भारतीय सीमामा प्रवेश नगरेको बरु भारत नै आफ्नो सीमाभित्र आएको बताएको थियो । मोदीको पछिल्लो वक्तव्यले पनि चीनकै दावी पुष्टि गर्छ । किनकि यदि चीनका सैनिक भारतीय सीमाभित्र नपसेको भए झडप भारतीय क्षेत्रमा हुन मिल्दैन । जसको सोझो अर्थ झडप चीनको क्षेत्रमा भएको थियो भन्ने हुन्छ जसले भारतीय सेना चीनको सीमाभित्र प्रवेश गरेको पुष्टि गर्छ ।
China claims they never entered our territory.
PM Modi claims China never entered our territory.
20 Indian soldiers were killed in Galwan Valley.
Will PM Modi clarify why they were martyred? On whose land were they martyred? https://t.co/CVJLBIlW5J
— Congress (@INCIndia) June 20, 2020
प्रधानमन्त्री मोदीको यो बयान आएसँगै विपक्षी दल उनीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् । कांग्रेसले ट्वीट गर्दै भनेको छ ‘चीनले ऊ कहिल्यै हाम्रो सीमाभित्र प्रवेश नगरेको दावी गर्छ । प्रधानमन्त्री मोदी चीन हाम्रो सीमाभित्र प्रवेश नगरेको दावी गर्छन् । २० जना भारतीय सैनिक गलवान उपत्यकामा मारिएका छन् । के प्रधानमन्त्री मोदीले प्रस्ट पार्नुहुन्छ, उनीहरु किन शहीद भए ? उनीहरु कसको जमिनमा शहीद भए ?’
विपक्षी आक्रामक भएसँगै रक्षात्मक अवस्थामा पुगेका प्रधानमन्त्रीले आफ्नो बचाउ गरेका छन् । प्रधानमन्त्री कार्यालयले स्पष्टीकरण दिँदै चिनियाँ सेना भारतीय सीमाभित्र प्रवेश नगरेको तर उनीहरुले घुसपैठ गर्न खोजेपछि भारतीय सेनाले रोक्ने क्रममा भारतीय सेनाका जवान मारिएको बताएको छ । कार्यालयले भारतीय सेनाको बहादुरीका कारण चीन भारतको सीमाभित्र प्रवेश गर्न नसकेको प्रस्टीकरण दिएको छ ।
Facebook Comment