यी भीभीआईपी र हाम्रो कुटनीति
नेपाल भारत सीमा बिवाद सल्टाउन नेपालका लागि भारतीय पूर्वराजदूतहरुले लगातार परिपक्व बिचारहरु राखेर भारत सरकारलाई वार्तामा बस्न दवाब दिइरहेका छन्। भारतका बिदेश मामलाका जानकारहरुले प्राचीन छिमेकी मित्रको गुनासो र मागप्रति संबेदनशील हुन भारत सरकारलाई बारम्बार मर्यादित भाषामा सचेत गराइरहेका छन्। पूर्व भारतीय जनरलहरु पूर्व गल्ती कमजोरी र पापप्रति प्रायश्चित गरिरहेका छन्।
पूर्वराजदूतहरुको सक्रियता र जवाफदेहिता हेरेर पंक्तिकारले आफ्ना पूर्वराजदूतहरुको खोजी गरें। वर्तमान राजदूतहरुको सक्रियता, प्रभावकारिता र जवाफदेहिताको मापन गरें। बिदेश मामला जानकारहरुको प्रतीक्षा गरें। अनि विश्मय गरें कसरी हेर्दाहेर्दै मुलुकको कुटनीतिक साख आकाशबाट सडकमा पछारिन पुग्यो?
भूत न वर्तमान, आफ्नो मातृभूमि र जनताको स्वामित्व स्वस्फूर्त ग्रहण गरेर आफ्नो धर्म निर्वाह गर्ने राजदूत, बिज्ञ र बिदेश मामला जानकारहरुको खडेरी देखें। अनि १७ बर्ष पुरानो आफ्नो कालापानी प्रतिबेदनको एउटा बुँदा स्मरण गरें। जसमा मैले लेखेको थिएँ, “ज्यादै दुर्लभ विज्ञ बुद्धिनारायण श्रेष्ठजस्ता साहसिक क्षमतावान् र प्रमाणका खानी बिज्ञहरु कम्तीमा १ दर्जन शीघ्र उत्पादनमा राज्यले ध्यान दिनुपर्दछ।” यसको कस्तो कार्यान्वयन भयो त्यो सबैका अगाडि लर्छंगै छ।
तर, के हामीसँग विज्ञहरु छैनन्? सर्सती हेरौं त कति धनी छिन् नेपाल आमा। जतातै पूर्व राजदूतहरु छन्, पूर्व प्रधानमन्त्री, उप प्रधानमन्त्री, मन्त्रीगण, मुख्य सचिबहरु, सचिबहरु सडकमा जताततै भेटिन्छन्। भूतपूर्व प्रधानन्यायाधीश, न्यायाधीश र वकिलहरुको खानी नै छ। बिभिन्न संगठन प्रमुखहरु वर्तमान र भूतपूर्व कति छन् कति। महानिर्देशक, निर्देशक, प्रोफेसर, बिज्ञ, डाक्टरहरुको संख्या पनि कम छैन।
अझ स्वनामधन्य विज्ञहरुको कुरै छाडौं। तर नेपाललाई घाउ लाग्दा र दुख्दा किन हामी सबै नदेखे नसुने, नथाहा पाएजस्तो गरेर भूमिगत शैलीमा बस्दछौं? मुलुकको घाउमा मल्हम लगाउन किन हामी भाग्दछौं? देश लुटिँदा खोसिँदा टुक्रिँदा किन हामी मुक्दर्शक भएर हेर्दछौं।
प्रधानमन्त्री निवासलाई टुक्राटुक्रा पारेर मिलिभगत् खाएको र मातृभूमिको रक्षाप्रति नेपाल सरकार पूरापूर असंबेदनशील रहेको सत्य चिनियाँ उच्च तहको कुटनीतिज्ञले छर्लङ बुझ्न पाए। सरकारपिच्छे राजदूत फेरिरहने र दलको झण्डा बोकेर दलीय एवं गुटगत् स्वार्थ भर्न आउने संकीर्ण सोचका कुटनीतिज्ञसँग छिमेकी र विश्व समुदाय हैरान भइसकेको लाज र नग्नतालाई के भन्न सकिन्छ र ?
देशलाई अन्याय अत्याचार हुँदा किन हामी न्यायका लागि मुख खोलेर शव्द खर्चिदैनौं? बर्तमान र भावी पिढींले अनुसन्धान गरेर पत्तो लगाउनै पर्ने कुराहरु हुन् यी हाम्रा रहस्यमय चरित्रहरु। के अझै यी केही आशा गरेर बसेका छन्? जसको परिपूर्ति आफ्नो देशले गरिदिन सक्दैन र अरुको मुख ताक्दै छन्?
यीमध्येका कतिपयको चरित्र लज्जाजनक छ भन्न अव ढिलो गर्नु हुँदैन। पर्सनल सेक्युरिटी अफिसर (पि.एस.ओ.) लगायत १ डफ्फा गार्डले आजीवन घेरिएर बस्ने, राज्यको ढुकुटीबाट बिलासी सवारी साधन, ईन्धन, चालक, अघुवापछुवा, गाडी, घरभाडा, बत्ती, पानी, टेलिफोन महशुल, उपचार खर्च, छात्रबृत्ति कोटालगायत सर्वथोक उपभोग गरिरहने। अझ, देशका आँखा कान छैनन् भनेर आज्ञाकारी एजेण्ट बापतको रकम, भैपरि रकम, राहत रकम, चाडवाड् खर्च र उपहार समेत बुझिरहने पात्रहरुबारे बोल्नु जरुरी भइसकेको छ।
बिडम्बडा ऐया ऐया र बचाउ बचाउ भनेर पुकारिरहेकी नेपाल आमालाई उद्धार रक्षा सेवा कल्याण गर्न सबै परपर भाग्ने हाम्रो बैरी, बैगुणी, ऋणी, दरिद्र स्वभाव र चरित्रको कारण पत्ता लगाउन र पटक पटक सपथ खाएर नेपाललाई धोका दिने यो बिशाल भीभीआईपी बर्गलाई चिन्न, उखेल्न र फ्याँक्न पनि नयाँ देशभक्त मतदाता र युवाबर्गले साहसिक पहलकदमी लिनुपर्दछ ।
हामीले कस्ता जनप्रतिनिधि छान्यौं ? तिनले कस्ता राजदूतहरु छाने ? राजनीतिक आस्थाका ती भर्तीवालहरुले आफ्नो अलवा नेपाललाई आत्मा साक्षी राखेर के कति योगदान दिए त्यसको लेखाजोखा मूल्यांकन गरेर गौरवमय इतिहास कि धनी नेपालको स्वाभिमान रक्षा गर्न हामीले बिलम्ब गर्नुहुँदैन ।
पंक्तिकार जहाँजहाँ पुगेर देखें– आफ्ना महामहिम राजदूतहरु दुर्लभ अपबाद बाहेक घरभाडा, मेन्टिनेन्स खर्च, अतिथि खर्च, उत्सव खर्च, जनसम्पर्क खर्च, संचार महशुल, चिया खर्च दिएन पुगेन भनेर बिलौना र रुवावासी गरिरहेको पाएं । यीमध्ये कतिपय त २ नम्बरी धन्दामा रमिरहेका पनि पाइए । तर, देशले चाहेको कुटनीतिक व्यक्ति पाइनँ। कस्तो हुनुपर्छ त देशका लागि गर्ने त्यस्तो व्यक्ति?
जुन देशमा खटिने हो त्यो देशको भीभीआईपीदेखि सर्वसाधारणसम्म पहुँच बनाउन सक्ने, मर्यादाभित्र रहेर नेटवर्किङ बनाएर नमूना जनसम्पर्क, सम्बन्ध र समन्वयमार्फत नेपाल आमाको शौर्य ज्ञान र गौरव फैलाउन सक्ने, मौलिक नेपाली परिकारको भोज भतेर गरेर दिलदार अतिथि देवो भवः चरित्रले बिश्वको मन जित्न सक्ने, ज्ञान बिवेक बिज्ञता, बिद्वता कानून, आदर्श, महानता प्रदर्शन गरेर मुलुकको प्रतिष्ठा र छवि माथि उठाउन सक्ने निष्ठावान स्वाभिमान राष्ट्रभक्त व्यक्ति राजदूत होस् र उसले दाम जम्मा होइन नाम र किर्ति आर्जन गरेर नेपाल र नेपाली जनताको मन मुटुमा बस्न सकोस्। तर, दुर्भाग्य यहीँनेर छ।
ठीक राजदूत छनौट गर्न, प्रेरित गर्न, प्रशिक्षित गर्न र राष्ट्रिय हितका खातिर परिचालन र प्रयोग गर्न सबै सरकारहरु असफल भएकै हुन् भन्ने कुरामा दुबिधा भएन। भागबण्डाको राजनीतिक नियुक्तिले यो गरिमामय पद र जिम्मेवारीलाई निकम्मा र निर्बस्त्र बनाएको घाम झैं छर्लङ्ग छ ।
छिमेकमा कुटनीतिको दुर्दशा
ऐतिहासिक बिशेष सम्बन्ध भएको छिमेकी मुलुक भारतमा २४ मध्ये १९ घण्टा रकेट गतिमा सक्रिय भै बहुआयामिक सम्बन्ध बिस्तार गर्ने, होनहार राजदूत देशको माग र आवश्यकता हो। दिल्लीको नेपाली राजदूत बिश्व मञ्चमा आसिन छन्। उनको परिसर र परिवेश भित्र बिश्वका कुटनीतिज्ञहरुको भिड छ।
किन इपीजी रिपोर्ट घर्रामा सेलायो? वार्ता आग्रह ठीक ठाउँ मान्छे र कानमा किन पुगेन ? किन असझदारी र अविश्वास व्यापक बढ्दै गयो? किन कुटनीतिक ग्यापले सम्पर्क, सम्बन्ध र समन्वय चिसो भयो? भारतीय प्रधानमन्त्रीले ५० र बिदेशमन्त्रीले ७० भिडियो कन्फरेन्समार्फत समकक्षीसँग वार्ता गर्न भ्याउने तर नेपालसँग नभ्याउने कुरा के कसरी पत्याउने? यो हाम्रो परराष्ट्र मामलाको असफलता र कुटनीतिक बिफताको छर्लङ्ग सग्लो प्रमाण हो।
नेपाल– चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन योगदानरत राजदूतलाई एक्कासि फिर्ता बोलाएर हामीले नेपालको राजनीतिक र प्रशासनिक मिलोमतोमा हुने चरम भ्रष्टाचारको ऐना देखाइ दियौं चीनलाई।
प्रधानमन्त्री निवासलाई टुक्राटुक्रा पारेर मिलिभगत् खाएको र मातृभूमिको रक्षाप्रति नेपाल सरकार पूरापूर असंबेदनशील रहेको सत्य चिनियाँ उच्च तहको कुटनीतिज्ञले छर्लङ्ग बुझ्न पाए। सरकारपिच्छे राजदूत फेरिरहने र दलको झण्डा बोकेर दलीय एवं गुटगत् स्वार्थ भर्न आउने संकीर्ण सोचका कुटनीतिज्ञसँग छिमेकी र विश्व समुदाय हैरान भइसकेको लाज र नग्नतालाई के भन्न सकिन्छ र ?
सैनिक कुटनीति
बिशाल राज्यको महान, स्वाभिमान र गर्बिलो सरकारको सेना गौरवयोग्य हुन्छ। दरिद्र, कमजोर गन्हाउने सरकारको सेना कसरी गर्व योग्य हुन सक्छ ? भ्रष्टाचारमा लिप्त सरकारले कमाई खाने भाँडो र भर्याङ्ग नेपाली सेनालाई बनाएर सती लैजाने गुह्य अभिप्रायलाई हामीले सरकारको भरोसा, बिश्वास र सम्मान भनेर गलत अर्थ लगायौं।
यो छलले सेनाको व्यवसायिकता, पेशा, राष्ट्र रक्षा र सेना–नागरिक सम्बन्धलाई धुलिसात् त पार्छ नै, त्यसको अतिरिक्त राजनीति र भ्रष्टाचार हुलेर संगठनको गजुर उडाएर जग हल्लाउने र उखेल्ने षड्यन्त्रलाई मनन् र आत्मसात् गर्न सेकेण्ड बिलम्ब गर्नुहुँदैन।
राष्ट्रिय कुटनीति धरापमा पर्दा सैनिक कुटनीतिको कुशल प्रयोग र सदुपयोगले ठूलठूला दुर्घटनाबाट बचाएको सफल नजिरबाट पाठ सिकेर नेपाल आमालाई असफल हुनबाट बचाउने अभिभारा सैनिक संगठनको काँधमा आएको छ।
शान्तिकामी आम जनता र विश्व समुदायको यो आशा तथा अपेक्षालाई सम्मान गर्दै संगठन प्रमुखले सैनिक कुटनीतिक पहलद्वारा मातृभूमिलाई उद्धार रक्षा सेवागर्न तत्परता देखाउनुपर्दछ। कम बोल्ने र धेरै काम गरेर देखाउने बर्तमान संगठन प्रमुखको उदाहरणीय नेतृत्व, राष्ट्रभक्ति, संगठन लोकप्रियताबाट सरकारले पाठ सिक्न जरुरी छ र त्यो उचाई हासिल गरेका संगठन प्रमुखको कुटनीतिक पहल वर्तमान समस्या समाधानार्थ कामयावी र सफल हुने कुरामा पंक्तिकारलाई भरोसा छ।
यस्ता राजदूत भए पो?
भारत, चीन, युरोप, अमेरिका, खाडी क्षेत्र र एशियासंगको परराष्ट्र सम्बन्ध सुदृढ गरेर गौरवमय इतिहास र छवि भएको नेपाललाई गौरवान्वित राख्न यी देशहरुमा अराजनीतिक छवि भएको आदर्श एवं महान व्यक्तित्व प्रदर्शन गर्न सक्ने कुटनीतिक बिज्ञ छनौट गरी नयाँ राजदूत पठाउन बान्छनीय हुनेछ । त्यसैगरी अन्तर्राष्ट्रिय सम्पर्क र सम्बन्ध सुदृढ गरेर मातृभूमिको शान र गौरव नयाँ उचाइमा पु¥याउन काबिल विद्वान र विज्ञको परराष्ट्र नेतृत्व बर्तमान नेपालको जोडदार माग हो।
राष्ट्रिय गौरवको प्रारम्भ गर्न र सुधारको ढोका खोल्न सरकारले भ्रष्टाचार बिरुद्धको साहसिक कदम सैनिक संगठनबाट सिक्न लाज मान्नु हुँदैन। मातृभूमिको अन्तर्राष्ट्रिय साख र गौरव बढाउन भ्रष्टाचाररहित सुशासन पहिलो शर्त हो र त्यो ओजिलो सन्देश सगर्व फैलाउन सक्षम र सामथ्र्य कुटनीतिज्ञहरुको पारदर्शी नियुक्ति पुरक शर्त हो। अहिले पनि छिमेकी मुलुक र विश्व समुदायले नेपाल र नेपाली जनतालाई असीम मायाँ र बिश्वास गर्दछन्।
अविश्वास दल, दलको नेतृत्व र माटो एवं जनताको स्वामित्व ग्रहण नगर्ने सरकारसँग हो। सरकारले घरेलु र अन्तर्राष्ट्रिय यो मूल्यांकनको ढीलै भएपनि सम्मान गरेर क्रान्तिकारी सुधारको प्रारम्भ गरोस् र कमसेकम् मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाउन इमान्दार त्याग र योगदान गरोस्।
Facebook Comment