गण्डकी प्रदेशमा १६ सङ्क्रमित थपिए, ५०४ पुगे, ४९ निको भए

डिसी नेपाल
७ असार २०७७ ९:०८

पाेखरा। गण्डकी प्रदेशमा आज १६ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान जारी गरेको विज्ञप्तिमा बाग्लुङमा नौ, म्याग्दीमा चार, तनहुँमा एक र पर्वतमा दुई जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ।

गण्डकी प्रदेशका ११ वटै जिल्लामा सङ्क्रमण पुष्टि भइसकेको छ । शनिबार साँझ हिमालपारिको जिल्ला मुस्ताङमा समेत सङ्क्रमण देखिएको थियो । प्रदेशमा हालसम्म सङ्क्रमितको सङ्ख्या ५०४ पुगेको छ । पछिल्लो अद्यावधिक विवरणअनुसार सङ्क्रमित बागलुङको गल्कोट नगरपालिकाका २२, २६, २२ र २१ वर्षका पुरुष, ढोरपाटन नगरपालिकाका ४८ वर्षीय पुरुष, काठेखोला गाउँपालिकाका ३२, ४० र २९ तथा बागलुङ नगरपालिकाका २१ वर्षका पुरुष छन् ।

म्याग्दीको रघुगङ्गा गाउँपालिकाका ३० र नौ वर्षीया महिला तथा ३३ वर्षीय पुरुष, मङ्गला गाउँपालिकाका २० वर्षीय पुरुष छन् । तनहुँको ऋषिङ गाउँपालिकाका २९ वर्षीय पुरुष र पवर्तको कुश्मा नगरपालिका २७ र ३२ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिइन्।

सङ्क्रमितहरु सबै जनालाई अहिले जिल्लास्थित आइसोलेसनकक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिइन्। हालसम्म स्याङ्जामा ७६, नवलपरासीमा १३३, बागलुङमा ११२, पर्वतमा ४५, गोरखामा ४१, तनहुँमा ७१, कास्कीमा १५, म्याग्दीमा आठ तथा लमजुङ, मुस्ताङ र मनाङमा एक/एक जना सङ्क्रमित छन् । हालसम्म ४९ जना विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् भने एक जना सङ्क्रमितको मृत्यु भएको छ।

प्रदेशमा अहिलेसम्म पिसीआर विधिबाट कोभिड–१९ परीक्षणका लागि आठ हजार ७५१ जनाको नमूना सङ्कलन गरिएकामा छ हजार ९१९ जनाको नतिजा नेगेटिभ आएको छ। जसमा एक हजार ३२८ जनाको नतिजा आउन बाँकी रहेको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए। प्रयोगशालामा नमूना ‘पेन्डिङ’ हुन थालेपछि पछिल्लोपटक प्रयोगशालामा मेसिन र जनशक्ति बढाइएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशाला र प्रदेश क्षयरोग केन्द्रबाट नमूना परीक्षण गर्ने गरिएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *