जेठ ३१ को भाषणपछि फेरिएका राजेन्द्र महतो

डिसी नेपाल
७ असार २०७७ १४:११

काठमडौं। जेठ ३१ गते प्रतिनिधिसभामा गरेको भाषणले जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको हाइट बढयो। महतोको आलोचकसमेतले प्रशंशा गरे। राष्ट्रियताका पक्षमा महतोको अभिव्यक्तिले उनलाई क्षेत्रीयबाट राष्ट्रिय बनायो।

सरकारसँग आफूहरुको अनेक असन्तुष्टि भएपनि सिमानाका विषयमा एक हुने उनको अभिव्यक्तिपछि महतोलाई हेर्ने दृष्टिकोणमा नै फरक आएको छ। त्यसयता महतोको अभिव्यक्ति पनि सन्तुलित हुन थालेको छ। कसरी एकाएक महतोमा परिवर्तन आयो?

भन्छन् ‘मैले राजनीतिक करियरको सुरुवात मधेसबाट गरेँ। लामो समयसम्म मधेसकै एजेण्डा बोकेर राजनीति गरेँ। त्यसैले मधेसी जनताको हक, अधिकारका विषयमा बढी कुरा गरेँ। तर अहिले हामी राष्ट्रिय दल बनेका छौं। त्यसैले अब मधेसको मात्र मुद्दा उठाउने कुरा भएन।’

केही समय अगाडि राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकीकरण भएर जनता समाजवादी पार्टी (सजपा) गठन भएको छ। नयाँ पार्टी गठन भएसँगै अब आफूहरु राष्ट्रिय पार्टी भएको र अब आफूले मधेसका मात्र मुद्दा नउठाउने उनको भनाइ छ। ‘अब हिमाल, पहाड र तराई मधेसका जनताको हकहितमा बोल्नुपर्छ,’ उनले भने, ‘हिजो हामी क्षेत्रीय दल थियौं अब अहिले परिस्थिति फरक छ।’

संसदमा महतोले राष्ट्रघाट गर्ने राष्ट्रघातीको पहिचान गरेर कारवाही गर्नु पर्ने बताएका थिए। ‘अहिले पनि यो मुलुकमा राष्ट्रघात गर्ने धेरै छन्,’ महतोले डिसी नेपालसँग भने, ‘राष्ट्रघातीको पहिचान गरेर कारवाही गर्ने हो भने आगामी दिनमा राष्ट्रघाट हुँदैन।’

मधेसीको अनुहार भारतीयसँग मिल्यो भनेर मधेसलाई औंडा ठड्याउने कामले राष्ट्रियता बलियो नहुने बरु हिमाल, पहाड र तराई मधेसका जनतालाई सामाजिक न्यायको आधारमा व्यावहार गर्ने नेपालको सीमाभित्र बस्ने सबै नेपाली हुन् भन्ने भावनाले काम गर्दा मात्रै नेपालको राष्ट्रिय बलियो हुने बताए।

‘मुलुकको सिमानासँग सम्बन्धित विषयमा कसैसँग पनि सम्झौता हुँदैन,’ उनले भने, ‘अहिले नक्सामा समावेश गरिएको भूभाग ५८ वर्ष पहिला नेपालकै नक्सामा थियो। नक्साबाट आफ्नो भूमि गायव भएको समेत थाहा नपाउने हाम्रो कस्तो सरकार हो?’ उनले भारतले नेपाली भूमिभित्र सडक बनाउँदासमेत थाहा नपाउने, सरकारले के हेरेर बस्यो?’

सत्तारुढ दल नेकपाले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई विवाह गरेको सात वर्षपछि मात्रै नागरिकता दिने गरी गरेको निर्णयप्रति महतोले आक्रोश पोखे। वैधानिक अंगीकृत नागरिकताका विषयमा सबै मुलुकले आफ्नो अवस्था हेरेर निर्णय गर्ने भन्दै त नेपालको हकमा भने विवाह गरेको सात वर्षपछि नागरिकता दिने विषय उचित नभएको बताए।

भारतीय महिलासँग धेरै नेपाली पुरुषले विवाह गरेको र धेरै नेपाली महिला पनि भारतीय पुरुषसँग विवाह गरेको अवस्थामा विवाह गरेको सात वर्षपछि मात्र नागरिकता दिँदा परिवारभित्रै राष्ट्रियता विभाजन हुन सक्ने जनाए। नेपाल र भारतबीच प्राकृतिक र जनस्तरको सम्बन्ध रहेको उल्लेख गर्दै नेकपाको निर्णयले त्यसलाई नकारात्मक असर पार्ने जनाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *