भारतीयसँग अनुहार मिलेकै कारण सात वर्षपछि अंगीकृत नागरिकता दिने प्रावधान ल्याइयाे : राजेन्द्र महतो (भिडियो)

डिसी नेपाल
८ असार २०७७ ७:३४

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र अर्को प्रतिपक्ष दल जनता समाजवादी पार्टीको असहमतिकाबीच आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिबाट नेपालको नागरिकता ऐन (पहिलो संशोधन) विधेयक २०७५ बहुमतका आधारमा पारित भएको छ।

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले विवाह गरेको सात वर्षपछि मात्रै अंगीकृत नागरिकता पाउने प्रावधानसहितको विधेयक पारित भएपछि त्यसमा मिश्रित प्रतिक्रिया प्राप्त भएका छन्। तर उक्त व्यवस्थाको तराई मधेसमा भने विरोध भएको छ।

नेपाली पुरुषसँग विवाह गरेको सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान मधेसलाई हेरेर ल्याएको जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आरोप लगाएका छन्। भारतीयसँग अनुहार मिलेकै आधारमा यस्तो प्रावधान राखिएको उनको टिप्पणी छ।

‘अनुहार भारतीयसँग मिल्दैनमा त्यसलाई शंका गरिहाल्ने?,’ डिसी नेपालसँगको कुराकानीमा नेता महताले भने, ‘कसैको अनुहार कोहीसँग मिल्छ, कसैको अनुहार कोहीसँग मिल्छ, अनुहार मिलेकै आधारमा शंका गर्न मिल्छ? सात वर्षमा के चाहिँ परिवर्तन भइहाल्छ? सात वर्ष कुराएर मिल्ने के हो?’

सात वर्षसम्म कुराएर नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाको मनमा विभिन्न कुण्ठा उत्पन्न हुनु बाहेक नेपाललाई केही पनि प्राप्त नहुने नेता महतोले बताए।

‘कुनै देशको महिलालाई आफ्नो घरको सदस्य बनाउने तर सात वर्षसम्म उसको राष्ट्रियतामाथि प्रश्न खडा गरिराख्ने, महिलाले आत्मसम्मान र आत्म गौरव गर्न नसक्ने वातावरण बनाइराख्दा महिलामाथि कै अपमान हुन्छ,’ उनले भने, ‘नेपालमा हालसम्म विवाह गर्ने वित्तिकै तत्काल नागरिकता पाउने प्रावधान थियो। राम र सिताको सम्बन्ध, जनकपुर र अयोध्याको सम्बन्ध यति पुरानो जनता जनताबीचको सम्बन्धलाई खलल् पुर्याउने गरी अहिले ल्याइएको कानुनले समस्या सृजना गर्छ।’

नेता महतोसँग गरिएको कुराकानी भिडियोमा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *