ग्रामीण पशुस्वास्थ्य कार्यकर्ताको क्षमता मापन हुनुपर्ने

डिसी नेपाल
८ असार २०७७ १६:२०

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सोमबारको बैठकमा पशुपन्छी विज्ञहरुले ग्रामीण पशुस्वास्थ्य कार्यकर्ताको क्षमता मापन अनिवार्य हुनुपर्ने बताएका छन् । नेपालमा ग्रामीण पशुस्वास्थ्य कार्यकर्ताको सङ्ख्या झन्डै ५२ हजार छ ।

“पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५” ले ग्रामीण पशुस्वास्थ्य कार्यकर्ता हुन एसइई परीक्षा उत्तिर्ण र अनुमति प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ३५ दिनको भेटेनरीसम्बन्धी तालीम लिएको हुनुपर्ने व्यवस्था छ ।

विज्ञहरुले पशु चिकित्सा सेवा सम्वेदनशील विषय भएकाले ग्रामीण पशुस्वास्थ्य कार्यकर्ताको क्षमता अभिवृद्धिमा सरकारले थप सहयोग गर्नुपर्ने वा नेपाल सरकारको भेटेनरी विषय विशेषज्ञको अनुमतिले कामको जिम्मेवारी सुम्पिनुपर्ने बताएका छन् ।

समितिका सभापति पूर्णकुमारी सुवेदीको सभापतित्वमा आज आयोजित बैठकमा पशुपन्छी विज्ञ नाराणप्रसाद घिमिरेले कानूनले ग्रामीण पशुस्वास्थ्य कार्यकर्तालाई असीमित अधिकार दिए पनि उनीहरुको क्षमता विकास गर्न थप सहयोगको व्यवस्था हुनुपर्ने सुझाव दिए ।

‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ सम्बन्धमा सुझाव लिने अभिप्रायबाट आयोजित बैठकमा विज्ञ जनक रावलले अधिकारलाई कुण्ठित पार्न नहुने तर, ग्रामीण पशुस्वास्थ्य कार्यकर्तालाई ऐनको दायरामा ल्याउनुपर्ने र भेटेनरी चिकित्सकको सुपरिवेक्षणमा रहनुपर्ने व्यवस्था हुनुपर्ने सुझाव दिए।

बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुषालले विज्ञका रचनात्मक सुझावलाई सरकारले सकारात्मक रुपमा आत्मासाथ गर्दै अघि बढ्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *