सांसदहरूको गुनासो : ‘बजेट सक्न असारे विकास हुन छाडेन’

डिसी नेपाल
८ असार २०७७ १७:२१

काठमाडौं । पछिल्लो समय चिल्ला बनेका काठमाडौँ उपत्यकाका सडक विस्तारै धुलाम्मे हुन थालेका छन् । विभिन्न संरचना निर्माण गर्न सडक भत्काउन थालेपछि सडक धुलाम्मे र वर्षाले हिलाम्मे समेत भएका छन् । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको सोमबार बसेको बैठकमा सांसद्हरुले पहिले सडक बनाउने र यसपछि ढल, पैदलयात्रु मार्गलगायतका संरचना निर्माण भइरहेकोमा चिन्ता व्यक्त गरे।

उनीहरुले पहिले संरचना निर्माण गरेर मात्रै सडक निर्माण गर्दा दोहोरो खर्च नहुने सरकारलाई सुझाव दिए । बैठकमा समितिका सदस्य सञ्जयकुमार गौतमले आवको शुरुदेखि बनेका सडक अहिले खन्ने काम भइरहेको, केही समय पहिले जतासुकै कालोपत्र देखिएका ठाउँहरुमै अहिले धमाधम खन्ने काम भइरहेका र राष्ट्रिय गौरबको आयोजनाको प्रगतिका बिषयमा जानकारी दिन सरकारसित माग गरे । उनले भने, “कुनकुन आयोजना कहिले सम्पन्न हुन्छ र त्यसको अहिलेसम्मको प्रगति कति छ जनतालाई जानकारी दिनुपर्छ ।”

समितिका सदस्य गौरीशंकर चौधरीले पहिले पैदलयात्रु मार्ग र ढल बनाएर पछि सडक बनाउनुपर्नेमा त्यसको ठीक विपरित भइरहेको तर्फ सरकारको ध्यान जानुपर्ने बताए । उनले भने, “समन्वयको अभावमा पहिले सडक चिल्लो बनाउने पछि भत्काउने भइरहेको देखिएको छ।”

अर्का सदस्य आशाकुमारी बिकले दुर्गम जिल्लामा योजना वर्षेनी दोहोरिने तर निर्माण कहिल्यै सम्पन्न नहुने समस्या रहेको गुनासो गरिन। उनले भनिन्, “वर्षेनी किताबमा बजेट आउने तर योजना नसकिने हुँदा समस्या कहाँ छ भनी खोजी गर्न जरुरी छ ।”

समिति सदस्य केदार सिग्देलले मेलम्चीको पानी असारसम्ममा काठमाडौँमा झारिसक्ने प्रतिबद्धता भएपनि त्यसअनुसार काम भएको वा नभएको भनी समितिलाई जानकारी नभएको टिप्पणी गरे । उनले भने, “आबश्यक भएमा निर्देशन पनि दिनुपर्छ ।”

समिति सदस्य लीलानाथ श्रेष्ठले समितिले दिएका धेरै निर्देशनको पालना नभएको, र समितिले बिगतमा हुलाकी राजमार्गमा एउटै मापदण्डको सडक निर्माण गर्न मन्त्रालयलाई दिएको निर्देशनलाई वेवास्ता नगर्न आग्रह गरे ।

समितिका सदस्य गणेशकुमार पहाडीले मेलम्ची खानेपानी आयोजनाको प्रगतिका बारेमा सम्बन्धित समिति विकास समिति नै बेखवर रहेको औल्याए । अहिले मेलम्चीको पानी काठमाडौँ ल्याउनु मात्रैभन्दा त्यो पानीको व्यवस्थापन चुनौतीपूर्ण रहेको उनको भनाई छ ।

समितिकी सभापति कल्याणीकुमारी खड्काले विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि असारे बजेट सक्ने गरी काम भइरहेकोमा चिन्ता व्यक्त गरिन । राष्ट्रिय गौरबका आयोजनामा रहेका समस्या हटाएर समयमै सम्पन्न गर्नुपर्नेमा उनको जोड छ । उनले भनिन्, “तयारी राम्रो नभए मेलम्चीको पानीले काठमाडौँमा बाढीको समस्या आउन सक्नेछ ।”

समितिलाई आज नै सवारी दुर्घटना न्युनिकरण अध्ययन उपसमितिले प्रतिबेदन बुझाएको छ । सार्वजनिक यातायात व्यवस्थित, सर्वसुलभ, सुरक्षित र भरपर्दो नुहनु, जीर्ण तथा पुराना हुनु, व्यवसायिक तथा तालिमप्राप्त सवारी चालक नहुनु, तीनको श्रम, समयसीमा नियमन गर्ने मापदण्ड नहुनु, संस्थागत क्षमता तथा प्रविधिमैत्री कार्यप्रणाली नहुनु र सवारीसाधनको नियमित र व्यवस्थित परीक्षण नहुनु सवारी दुर्घटना नहुनु दुर्घटना न्युनिकरणका प्रमुख समस्या रहेको प्रतिवेदनमा उल्लेख छ ।

समितिका सदस्य पहाडीको संयोजकत्वमा बनेको उपसमितिमा समितिका गौरीशंकर चौधरी, दुर्गा पौडेल, यज्ञराज सुनुवार र रङ्गमती शाही रहेका छन्। समितिको गत पुस ४ मा बसेको बैठकले उपसमिति गठनको निर्णय गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *