‘म भाइरस हुँ भीसा चाहिँदैन’

डिसी नेपाल
९ असार २०७७ १७:१९

काठमाडौं । प्रधानमन्त्रीलाई आफ्नो स्कुटरमा राखेर काठमाडौं शहरमा घुम्नलाई चुनौति दिएपछि रंगमति शाहीको हातमा माइक पर्नासाथ संसदमा उपस्थित सबैको ध्यान उनी तिरै केन्द्रित हुन्छ।

शाहीले प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि सबैको ध्यान आकर्षण गर्ने गरी आफ्नो धारणा राखिन् । उनले भनिन्, ‘सभामुख महोदय, कोरोना भाइरसले पौष महिनामा खबर पठाएको थियो, म भाइरस हो भिषा चाहिँदैन। तयारी अवस्थामा बस्नु।’

कोरोना भाइरसको पहिचान भएर विश्वका धेरै देशहरुमा महामारीको रुप लिएपछि नेपालमा कोरोनाको संक्रमण देखिएको थियो। गत वर्षको डिसेम्बर अन्तिम सातामा चीनको वुहान प्रान्तमा देखिएको कोरोनाको नेपालमा भने चैतमा मात्र प्रवेश गरेको थियो।

व्यङ्ग्यात्मक शैलिले संसदमा बोल्ने शाहीले मंगलबारको वैठकमा कोरोनाको विरुद्धको लडाईँमा सरकारले लापरवाही गरेको तर्क गर्दै थिइन्।

उनले भनिन्, ‘तयारी गर्नका लागि सरकारसँग कुनै कुराको कमी थिएन । बहुमत, बजेट, कर्मचारी, सेना, प्रहरी, अरिंगाल। त्यतिमात्र होइन, प्रतिपक्ष पनि सँगै थियो । कमी थियो त एउटा ईच्छाशक्तिको कमी थियो।’

प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद शाहीले हुम्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरेकी छन्। संसदमा प्रतिपक्षीको तर्फबाट सरकारलाई व्यङ्ग्यात्मक शैलिमा बेला बेलामा शाहीले खबरदारी गर्दै आइरहेकी छन्। जनताको ज्यान जोगाउन भन्दा सत्ता टिकाउनलाई सरकारको ध्यान गएको शाहीको आरोप थियो ।

उनले भनिन्, ‘जनताको ज्यान जोगाउन छाडेर सांसदलाई चार करोड दिएर सत्ता टिकाउनप्रति सरकारको ध्यान छ । यत्रो महामारीले विश्व हल्लिइरहेका बेला हाम्रो सरकारलाई झाडापखालाको मात्र महसुस भएको छ।’

क्वारेन्टाइनमा महिला बलात्कार भएको प्रसंग उठाउँदै शाहीले भनिन्, ‘यतिबेला रातो कार्पेट फेर्न भन्दा क्वारेन्टिनको ढोकाको चुकुल फेरिदिएको भए महिलाहरु बलात्कृत हुने थिएनन्। समयमा सीमामा स्वास्थ्य परीक्षण गरेर व्यवस्थापन गरिदिएको भए संक्रमति बढ्ने थिएनन् ।

क्वारेन्टिनको व्यवस्थापन र स्वास्थ्य परीक्षण बढाइदिएको भए आज मृत्युवरण गर्नुपर्ने थिएन। प्रधानमन्त्रीले नेपालमा कोरोनाका संक्रमित बढ्दै जाने भन्नेबारे भनेको भनाईलाई उनले भनेकी छन्, ‘अब भदौसम्म ४० हजार संक्रमित बढ्छन् भनेर हाम्रा प्रधानमन्त्रीज्यू टाउको गनेर बस्नुभएको छ। टाउको गन्ने कि व्यवस्थापनमा लाग्ने ?’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *