नेकपा स्थायी कमिटी बैठक : एजेण्डा टुंगो नलाग्दा सदस्यहरु अन्योलमा
काठमाडौं। सरकारको कामको समीक्षा तथा अमेरिकी सहयोग परियोजना एमसीसीलगायतका विषयमा छलफल गर्न सत्तारुढ दल नेपकाको स्थायी कमिटी बैठक बुधबार आज बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा विहान ११ बजे बस्ने बैठकको सूचना सबै सदस्यलाई पठाइसकिएको छ र बैठकको एजेण्डा भने केही खुलाइएको छ।
विधान अनुसार प्रत्येक तीन तीन महिलामा बस्नुपर्ने स्थाथी कमिटी बैठक यसअघि पटक पटक स्थगित हुँदै आएको छ। ६ महिनापछि बस्न लागेको बैठकको एजेण्डा तय नभएपछि सरकारको समीक्षा र एमसीसीलगायतका विषयमा छलफल हुने स्थायी कमिटी सदस्यहरुले अनुमान गरेका छन्।
स्थायी कमिटी सदस्य गणेश शाहले बैठक बस्ने तय भएपनि हालसम्म एजेण्डाका विषयमा कुनै जानकारी नगराइएको जानकारी दिए। नेतृत्वले एजेण्डा तय नगरेपछि सदस्यहरु सरकारको कामको समीक्षा, कोरोना नियन्त्रण तथा एमसीसीका विषयमा आफ्ना धारणा राख्ने तयारी गरेका छन्।
विशेष गरी एमसीसीका विषयमा बैठकले निर्णय लिनसक्ने बताइएको छ। यही असार १५ गतेभित्र संसदबाट पारित गर्ने तयारी भएपनि सभामुख अग्नि सापकोटाले असार १७ गतेसम्म संसद बैठक स्थगित गरेपछि तत्काल एमसीसी पारित नहुने भएको छ। स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच मंगलबार भएको छलफलपछि सहमति मै संसद बैठक असार १७ गतेसम्म स्थगित गर्ने सहमति भएको थियो।
विशेष गरी प्रचण्ड–माधव नेपाल पक्षधरले प्रधानमन्त्री ओली पक्षधरमामाथि दबाव बनाउने रणनीति लिएको छ। एक व्यक्त एक जिम्मेवारीलगायतका विषयमा कुरा उठाउने तयारी भएको स्थायी कमिटी सदस्य शाहले बताए।
‘प्रत्येक तीन महिनामा बस्ने बैठक ६ महिनामा बोलाइएको छ,’ शाहले डिसी नेपालसँग भने, ‘यसअघि नै २० जना सदस्यले बैठक बोलाउन माग गर्दै हस्ताक्षर नै बुझाउँदासमेत बैठक बोलाइएको थिएन। अहिले पनि बैठक कति दिन चल्ने एजेण्ड केके हुन भन्ने कुनै जानकारी छैन। त्यसैले यो बैठकलाई गम्भीरता पूर्वक लिनुपर्ने अवस्था देखिँदैन।’
Facebook Comment