क्वारेन्टिनमा बसेका एक व्यक्तिले गरे पङ्खामा पासो लगाएर आत्महत्या

डिसी नेपाल
१० असार २०७७ ९:२२

दमौली । जिल्लाको घिरिङ गाउँपालिकाका एक व्यक्तिले मङ्गलबार राति आत्महत्या गरेका छन् ।

सोही गाउँपालिका निवासी ४९ वर्षीय व्यक्तिले पङ्खाको सिलिङमा सुरुवालको पासो लगाई आत्महत्या गरेका हुन्। भारत रोजगारीमा गएका उनी गत असार ४ गते घर आएका थिए।

शुरुमा उनलाई सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको भए पनि भाग्ने प्रयास गरेका थिए । गाउँपालिकाले त्यसपछि सुरक्षित स्थान चन्द्रज्योति माध्यमिक विद्यालयको क्वारेन्टिनमा राख्दै आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । । हाल उक्त क्वारेन्टिनमा चार जना बाँकी छन्।

“ती व्यक्तिमा मानसिक समस्या रहेको जानकारी पाएको छु”, उनले भने, “घटनाको जानकारी पाएलगत्तै यहाँबाट एक प्रहरी टोली पठाइएको छ । सुरक्षितरूपमा शव व्यवस्थापन गर्नका लागि स्वास्थ्यकर्मी टोलीसमेत घटनास्थल पुगेका छन् ।”

तनहुँमा मङ्गलबार मात्रै विभिन्न स्थानमा गरी अन्य तीन जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । तनहुँमा आत्महत्या गर्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ।

मानसिक तनाव, प्रेममा असफल, गरिबीका कारण समाजमा यस्ता घटना घट्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *