कोरोना संक्रमणबाट निको भएका बिरामीलाई जीवनभर हुन सक्छ यस्ता स्वास्थ्य समस्या
काठमाडौं। कोरोनाभाइरस संक्रमणबाट ठिक भएका हरेक ३ मध्ये एक जना बिरामीलाई जीवनभर स्वास्थ्य समस्या हुन सक्ने एक अध्ययनमा खुलासा भएको छ । अध्ययनमा उनीहरुको फोक्सोलाई नोक्सानी पुग्ने खुलासा भएको हो । बेलायतको अखबार टेलिग्राफले त्यहाँको प्रमुख स्वास्थ्य एजेन्सी नेशनल हेल्थ सर्भिसको गाइडेन्सको हवाला दिँदै यस्तो रिपोर्ट प्रकाशित गरेको छ ।
बेलायतको नेशनल हेल्थ सर्भिसको गाइडेन्समा कोरोनाभाइरसको संक्रमणबाट ठिक भएका ३० प्रतिशत बिरामीको फोक्सोमा क्षति पुग्न सक्ने उल्लेख छ । उनीहरुलाई लगातार थकानको समस्या र मानसिक समस्या पनि हुन सक्छ । अर्कोतर्फ आइसीयूमा भर्ना भएर ठिक भएका बिरामीहरुमध्ये आधा बिरामीहरुलाई लामो समयसम्म समस्या आउन सक्छ ।
विशेहषज्ञहरुका अनुसार कोरोनाभाइरसबाट शरीरमा स्थायी किसिमका समस्या समेत हुन सक्ने प्रमाणहरु भेटिएका छन् । विशेषज्ञहरुका अनुसार कोरोना संक्रमणबाट ठिक भएका बिरामीको मतिष्कमा पनि समस्या हुन सक्छ र अल्जाइमरको खतरा पनि उत्पन्न हुन सक्छ । एनएचएसमा कोभिड रिकभरी सेन्टरका प्रमुख हिलारी फ्लोएडले आफूहरुसँग कोरोनाभाइरसले लामो समयसम्म पार्ने असरबारे निकै कम जानकारी भएकोप्रति चिन्ता व्यक्त गरे ।
फ्लोएडका अनुसार कैयौं बिरामीहरुलाई कोरोना नेगेटिभ भइसकेपछि पनि उपचारको आवश्यकता पर्छ । आफूले उपचार गरेका ४० देखि ५० वर्ष उमेरका कैयौं बिरामीले ठिक भइसकेपछि पनि विभिन्न प्रकारका समस्याको सामना गरिरहेको फ्लोएडले बताए । पहिले जिम, स्विमिङ लगायतका कामहरु आफैं गर्ने यी बिरामीहरु कोरोना नेगेटिभ भएपछि पनि यी काम गर्न असक्षम भएको उनले बताए ।
Facebook Comment