दुबै अध्यक्षले जाँगर नचलाएको सत्तारुढ नेकपाको बैठक
काठमाडौं। बुधबार शुरु भएको सत्तारुढ दल नेकपाको स्थायी कमिटि बैठकमा पहिलो दिन दुई अध्यक्षले आ आफ्नो धारणा राखे भने केही सदस्यहरुले एक मिनेटमा आफ्नो कुरा राखे। बुधबार दुई अध्यक्षको सम्बोधन र सदस्यहरुको एक मिनेटको धारणापछि शुक्रबार बस्ने गरी बुधबारको बैठक सकियो।
बैठक बस्नुअगि गरामगर मोहल थियो, तर बैठकमा दुबै अध्यक्ष कुल मुडमा देखिएको एक स्थायी कमिटि सदस्यले डिसी नेपाललाई बताए। उनले भने,’दुबै अध्यक्षको बडी ल्यांग्योज कुल नै देखियो। कुलमात्र के भन्नु जाँगर नै नभए जस्तो।’
प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले बालुवाटारमा भएको बैठकमा सम्बोधन गर्दै पार्टी एकता गर्दाको वृतान्त सुनाए। त्यसपछि उनले सरकारले गरेको कामको सूची सुनाएको ती स्थायी कमिटि सदस्यले सुनाए। प्रधानमन्त्री ओली संसदमा र बाहिर आक्रामकरुपमा देखिए पनि बुधबार कुल देखिएको उनले बताए।
उनले भने, ‘सरकारले कोरोना नियन्त्रणमा सफलता पाएको देखि पार्टीको इतिहास सुनाउनु भयो, उत्साह आउने केही कुरा गर्नु भएन।’
उता अर्का अध्यक्ष पुष्पकमल दाहालमा भने बैठकमा जाँगर नै नभए जस्तो देखिएको ती स्थायी कमिटि सदस्यले बताए। प्रधानमन्त्री ओलीभन्दा केही पार्टीको भावी जीवनबारे मन्तव्य राखे पनि दाहालमा पनि खासै जाँगर चले जस्तो नदेखिएको उनले बताए।
ती सदस्यले डिसी नेपालसँग भने, ‘पहिला पहिला बैठकमा दस्तावेज आउँथे। लिखित दस्तावेज आएपछि घनिभुत छलफल हुन्थ्यो। यो पटक दस्तावेज पनि आएन। दुबै अध्यक्षहरुमा जाँगर पनि देखिएन।’
प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र अध्यक्ष पुष्पकमल दाहालबीच सहमति नभएपछि बैठकमा पेश गर्ने प्रतिवेदनसमेत बन्न सकेको थिएन। बुधबार बिहानमात्र बैठकका एजेण्डा निश्चित गरिएको थियो।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले पार्टी एकताको प्रसंग निकालेर सबै एकजुट भएर सरकार र नेकपालाई सफल बनाउनु पर्नेमा जोड दिएका थिए। तर, पार्टीमा बहुमतको खेल भएको र सरकारलाई सहयोग नगरेको भनेर गुनासो गरेका थिए। उनले आगामी महाधिवेशनसम्म पार्टी एकजुट भएर लाग्नुपर्ने बताएका थिए। उनले केही कमीकमजोरी भए सबैले स्वीकार गर्नुपर्ने र आफूले पनि स्वीकार गर्नुपर्ने बताएका थिए।
उता दाहालले भने पार्टी एकता गर्दाको सहमती कार्यान्वयन नभएको भन्दै गुनासो पोखेका थिए। उनले पार्टी र सरकारबबीच समन्वय हुन नसकेकोसमेत बताएका थिए।
Facebook Comment