रहर कि बाध्यता ? नागढुंगा नाकाबाट यसरी भित्रिन्छन् यात्रु [भिडियाे]

डिसी नेपाल
११ असार २०७७ १३:४९

काठमाडौं। कोरोना भाइरसबाट हुने सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यसहित सरकारले गरेको लकडाउन अहिले खुकुलो गरिएको छ। कडा लकडाउनको झण्डै ३ महिनापछि अहिले सरकारले उद्योग तथा व्यापार व्यवसाय संचालनमा ल्याउन अनुमति दिएको छ ।

आर्थिक गतिविधि सुचारु नगरी झनै भयावह स्थिति आउने भन्दै औद्योगिक, व्यवसायिक र आर्थिक क्षेत्र संचालन गर्न दिइएको भए पनि पछिल्लो समय सरकारको नियतमाथि नै प्रश्न गर्ने ठाउँ देखिएको छ ।

सरकारले सबै किसिमका व्यवसाय एकैपटक किन संचालन गर्न अनुमति दियो । व्यवसाय संचालन गर्नको लागि किन न्यूनतम मापदण्डसमेत तोकिएन ? भन्ने विषय अहिले शंकाको घेरामा छ ।

सरकारले व्यापार तथा व्यवसाय कर उठाउनको लागि मात्रै संचालनमा आउन दिएको हो कि भन्ने शंका उब्जिन थालेको व्यवसायीहरुले नै बताएका छन् । उद्योग, व्यवसाय संचालन गर्न अनुमति दिइएको छ ।

संचालनको लागि न्यूनतम जनशक्तिको मापदण्ड तोकिएको छैन तर उद्योग व्यवसाय पूर्ण क्षमतामा संचालन हुन सक्ने गरी जनशक्ति उपलब्ध हुने वातावरण पनि बन्न दिइएको छैन ।

सरकारले उद्योग चलाउ भनेको छ तर उद्योगका कामदार, जो लकडाउनको सुरुवाती चरणमै उपत्यका छाडेर गएका थिए, उनीहरुलाई उपत्यका आउन दिइएको छैन । जनशक्तिको अभावमा उद्योगहरु पूर्ण क्षमतामा संचालन हुन सकिरहेका छैनन् । यद्यपि सरकारले उद्योगीहरुलाई कुनै किसिमको रोक नलगाएको बताउने गरेको छ ।

यता जनशक्तिको अभावमा व्यवसायहरु सहज तरिकाले संचालन हुन सकिरहेका छैनन्, उता तिनै उद्योगहरुमा काम गर्ने मजदूरको घरमा चुलो बल्न छाडेको छ । मजदूरी गर्नेहरुको कमाइको ठूलो हिस्सा दैनिक जीवनयापनमै खर्च हुन्छ ।

उनीहरुले मुस्किलले जम्मा गरेको केही बचत रकम लकडाउनको तीन महिनामा सकिएको छ । अब बचत बाँकी छैन र काम पनि छैन । मजदूरी गर्ने अधिकांश श्रमिकको पर्याप्त जमिन पनि छैन जहाँ उनीहरुले खेती गरेर जीवन चलाउन सकुन् । यो परिस्थितिमा उनीहरुलाई जसरी हुन्छ काम चाहिएको छ, दुई–चार पैसा आम्दानी हुने बाटो चाहिएको छ ।

ठूलो संख्यामा मजदूरहरुको रोजगारी काठमाडौंमा छ । उनीहरुले काम गरिआएको ठाउँमा कामदार चाहिएको छ, मजदूरलाई काम चाहिएको छ । यस्तो अवस्थामा उनीहरु जसरी पनि काठमाडौं फर्किनैपर्ने अवस्थामा पुगेका छन् ।

सरकारले उनीहरुलाई काठमाडौं ल्याउन व्यवस्थापन गर्ने छाँट नदेखिएपछि अधिकांश मजदूरहरु जसरी भएपनि काठमाडौं आउने मनसायमा छन् । अहिले उनीहरु सरकारलाई छलेर उपत्यका छिर्न थालेका छन् । कोही गाडीको सिटमुनि लुकेर आउँदैछन् त कोही मध्यरातमा भित्री बाटो हुँदै काठमाडौं प्रवेश गर्दैछन् ।

हामीले एउटा यस्तै दर्दनाक दृश्य फेला पारेका छौं । यो दृश्य २ दिन पहिलेको हो । विदेशबाट उद्धार गरी ल्याइएका मानिसहरुलाई उनीहरुको गन्तब्यसम्म छोड्न काठमाडौंबाट गएको बसले पासको दुरुपयोग गर्दै पोखराबाट फर्किँदा चर्को भाडादर लिएर ८ जना यात्रुहरुलाई बोकेर ल्याएको रहेछ ।

काठमाडौं प्रवेश गर्न उनीहरु सकीनसकी बसको सिटमुनि सुतेको अवस्थामा प्रहरीले फेला पार्यो । उनीहरु काठमाडौंका विभिन्न ठाउँमा बस्दै आएका श्रमिकहरु थिए । प्रहरीले यात्रुहरुलाई सम्बन्धित स्थानतर्फ फर्काएर उक्त बसलाई कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय पठाएको छ ।

यो घटनालाई सर्सर्ति हेर्दा पनि पीडामा मजदुर नै छन् भन्ने बुझ्न गाह्रो छैन । एक त उनीहरुले चुलो समेत बाल्न सकिरहेका छैनन् । त्यै माथि चर्को भाडा तिरेर कर्मथलो काठमाडौं आउन उनीहरु बाध्य छन् । घरमा चुलो बाल्ने आशमा काठमाडौं हिँडेका यस्तै कतिपय श्रमिकको सपना तुहिएको छ ।

सरकारले उद्योगहरु खोल्न दिने तर मजदुर आउन नदिने हो भने उद्योग खोल्नुको कुनै तुक छैन । त्यसैले व्यवस्थित गरेर मजदुरहरुलाई काठमाडौं ल्याउन जरुरी छ । ताकि उनीहरु रोगबाट बच्न खोज्दा भोकले नमरुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *