थप २ जनाको कोरोनाका कारण मृत्यु, मृतकको संख्या २६ पुग्यो

डिसी नेपाल
११ असार २०७७ १९:२३

काठमाडौं । कोरोना सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा एक र ललितपुरस्थित पाटन अस्पतालमा एक गरी दुई जना कोरोना सङ्क्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

पाटन अस्पतालमा चितवन स्थायी ठेगाना भई ललितपुरको महालक्ष्मीस्थान–५ मा बसोबास गर्ने पुरुषको निधन भएको हो । उनको पाँच महिना अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण गरिएका उनको स्वास्थ्यमा समस्या आएपछि शुरुमा भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा लगिएको थियो । त्यसपछि उनलाई भेन्टिलेटरको सहायता चाहिने भएपछि नर्भिक अस्पताल ल्याएको थियो । नर्भिक अस्पतालले आइसोलेशनमा राखी कोरोना जाँच गर्दा पोजेटिभ देखिएपछि पाटन अस्पतालमा रेफर गरिएको थियो । उपचारका क्रममा उनको आज बिहान ५ बजे पाटन अस्पतालमा मृत्यु भएको प्रवक्ता प्रवक्ता डा गौतमले जानकारी दिए।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सघन उपचार कक्ष (आईसीयु) मा भर्ना हुनुभएका स्याङजा जिल्ला आँधीखोला–१ का पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । उपचारका क्रममा गएराति ११ः३५ बजे उनको मृत्यु भएको थियो । मधुमेह र श्वास फेर्न समस्या भएपछि उनलाई यही असार ८ गते अस्पताल भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *