नेकपा बैठकमा परराष्ट्रमन्त्रीको भनाइ : चीनसँग सीमा समस्या छैन, भारत वार्ता गर्न तयार भएन
काठमाडौं । सत्तारुदल नेकपाको स्थायी कमिटि बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ। गएको बुधबार शुरु भएको बैठकको दोस्रो दिन शुक्रबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नो धारणा रखे।
सो क्रममा उनले भारत र चीनसँगको सीमा सम्बन्धबारे जानकारी गराएका छन्। मन्त्री ज्ञवालीले बैठकमा चीनसँग कुनै पनि सीमा समस्या नरहेको प्रष्ट पारेका छन्। विभिन्न सञ्चारमाध्याममा आएको समाचारहरु नियोजित भएको उनले बताए।
उनले भने, ‘ कालापानी, लिपुलेक र लिम्पियाधुराको अतिक्रमित भूमि फिर्ता गर्न सरकारले पहल गरिरहेको, तर भारतले वार्ताको सकारात्मक तत्परता देखाइरहेको छैन। हामी कूटनीतिक पहलद्वारा नै समस्याको समाधान खोज्दै छौं। चीनद्वारा नेपाली भूमि अतिक्रमण भएको भन्ने झूठो, नियोजित र भ्रामक प्रचारमा कुनै सत्यता छैन् र चीनसँग सीमाको सम्बन्धमा कुनै समस्या नरहेको पनि स्पष्ट पार्न चाहान्छु।’
मन्त्री ज्ञवालीले भारतसँगको सीमा समस्या कुटनीतिक पहलबाट समाधान गरिने बताए । बैठकको सुरुवातिमा बोल्दै उनले सरकारले नेपालको राजनीतिक नक्सामा समावेस गरेको भारतद्वारा अतिक्रमित भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीको भूमि फर्त गराउँन सरकारले पहल गरिरहेको बताए।
भारतले वार्ताका लागि सकारात्मक तत्परता नदेखाएको जानकारी मन्त्री ज्ञवालीले गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
यसअघि, नेपाल सरकारले भारतद्वारा अतिक्रमित नेपालको भूमि नेपाली नक्सामा समावेस गर्दै नयाँ नक्सा समेत जारी गरी सकेको छ। नयाँ नक्सा जारी भएपछि नेपालको संविधानको अनुसूचि ३ मा रहेको निसान छाप समेत परिवर्तन भइसकेको छ।
शुक्रबारको स्थायी कमिटी वैठकमा १८ जना सदस्यले नेपालको सीमा समस्या र समाधानका बारेमा आ–आफ्नो धारणा राखेका थिए। अर्को बैठक शनिबार ११ बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
Facebook Comment