क्वारेन्टिनमा मृत्यु भएका भान्सेको रिपोर्ट नआउँदै दाहसंस्कार
बैतडी । क्वारेन्टिनका खाना पकाउने मृत्तक भान्सेको रिपोर्ट नआउँदै आज दाहसंस्कार गरिएको छ । शनिबार मृत्यु भएका भान्सेको आज घरपरिवारले नै दाहसंस्कार गरेका हुन् ।
दशरथचन्द नगरपालिका– ६ का ५३ वर्षीय मृतक ती व्यक्ति वडा नं ४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टिनमा दुई महिनादेखि भान्सेका रुपमा रहेका थिए । शनिबार घरमै एक्कासी बिरामी भएर अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएका ती व्यक्तिको आज दाहसंस्कार गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारी जानकारी दिए ।
जिल्ला अस्पतालमा शव परीक्षण गरी आफन्तलाई दासंस्कारका लागि दिइएको हो । आवश्यक सुरक्षा सतर्कता अपनाएर सुरक्षितरुपमा परिवारका निश्चित मान्छे सहभागी भएर दाहसंस्कार गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।
उनले भने, “रिपोर्ट आउन समय लाग्ने र पछि शव बिग्रने र घरपरिवारका मान्छेलाई पनि चिन्ता हुने भएकाले दाहसंस्कार गर्न लगायौैँ ।” शव परीक्षणका क्रममा यही कारण मृत्यु भएको भन्ने खासै केही पनि नदेखिएको जिल्ला अस्पतालका डाक्टर वसन्तराज जोशीले बताए ।
मृतकको कोरोना तथा पिसिआर परीक्षणको स्वाब सङ्कलन गरी धनगढी पठाइएको छ । सो नगरपालिकामा हाल ३० जना कोरोना सङ्क्रमित रहेका छन् । भने जिल्लाभरि २३३ जनामा कोरोना पुष्टि भएको छ ।
Facebook Comment