एउटा कार किन्न खोज्दा झुक्किएर २८ वटा टेस्ला कार किनियो, खाताबाट सबैको पैसा काटियो

काठमाडौं। जर्मनीका एक व्यक्तिले अनलाइनबाट एउटा टेस्ला ब्राण्डको कार किन्न खोज्दा झुक्किएर २८ वटा कार किनेका छन् । ती व्यक्तिबाट एकैपटक २८ वटा कार अर्डर गरेपछि कम्पनी पनि छक्क परेको थियो । ती व्यक्तिले कूल १४ लाख ४ हजार यूरो (१९ करोड ८ लाख नेपाली रुपैयाँ) बराबरको कार अर्डर दिएका थिए ।
क्यानेडियन समाचार साइट ड्राइभिङ डट सीएका अनुसार ती व्यक्तिसँग फोर्ड कुगा कार थियो । उनले त्यो कार हटाएर नयाँ र अत्याधुनिक टेस्ला कार किन्न चाहेका थिए । उनले अनलाइनबाट कार किन्ने प्रक्रिया सुरु गरे । अनलाइनका सबै विवरण भरिसकेपछि उनले कन्फर्म बटनका क्लिक गरे । तर, बुकिङ कन्फर्म भएको कुनै सन्देश आएन ।
केही नभएपछि उनले फेरि कन्फर्ममा क्लिक गरे । दोस्रो पटक पनि केही आएन । उनले पटक पटक कन्फर्ममा क्लिक गर्दै गए । अन्ततः उनले कार बुकिङ कन्फर्म भएको सन्देश पाए । तर, त्यतिबेलासम्म २८ वटा कार बुकिङ भइसकेको थियो र सबैको मूल्य बराबरको पैसा उनको बैंक खाताबाट काटिइसकेको थियो ।
यो कार खरिद गर्दा १०० यूरो बराबरको रकम ‘नन रिफण्डेबल’ थियो । बुकिङ रद्द गरे पनि प्रत्येक कार बुकिङबाट १०० यूरोका दरले २८०० यूरो (३ लाख ८१ हजार नेपाली रुपैयाँ) रकम फिर्ता नपाइने थियो । टेस्ला कम्पनी आफ्नो कार बुकिङ भइसकेपछि रद्द गर्दा नन रिफण्डेबल रकम कहिल्यै फिर्ता नदिने कम्पनीको रुपमा चिनिन्छ । तर, यो घटनामा भने उसले स्थिति बुझेपछि नन रिफण्डेबल २८०० युरो पनि फिर्ता दिएको छ ।
Facebook Comment