कोरोना उपचार गर्ने औषधि रेम्डेसिभिरको मूल्य लाखौं तोकियो, सस्तो भएको कम्पनीको दावी
काठमाडौं। कोरोनाभाइरसको उपचारमा प्रयोग भइरहेको औषधि रेम्डेसिभिरको मूल्य तोकिएको छ । यो औषधिको उत्पादक गम्पनी गिलिड साइन्सेजले एक जना बिरामीको उपचारको लागि प्रयोग हुने ५ दिनको पूरा डोजको मूल्य २ हजार ३४० डलर (२ लाख ८३ हजार ७ सय नेपाली रुपैयाँ) तोकेको छ । रोयटर्सका अनुसार कम्पनीले तोकेको यो मूल्य विकसित देशहरुको लागि हो र कम्पनी आफूले उत्पादन गरेका औषधीको अधिकांश हिस्सा अमेरिकामा पठाउन पनि सहमत भएको छ ।
कम्पनीले सोमबार एक वक्तव्य जारी गर्दै सबै विकसित देशहरुको लागि समान मूल्य तोक्ने नीतिअनुसार यो मूल्य तोकिएको जनाएको छ । गिलिडका मुख्य कार्यकारी अधिकारी डेनियल ओडेले एक अन्तरवार्तामा भने ‘हामी चाहन्छौं बिरामीसम्म यो औषधि पुग्ने क्रममा कुनै बाधा नआओस् । यो मूल्य निर्धारणपछि विश्वभरका सबै देशमा बिरामीसम्म औषधि पुग्ने सुनिश्चित हुन सक्नेछ ।’
२ हजार ३४० डलर अन्य विकसित देशका सरकार र अमेरिकामा सरकारी स्वास्थ्य सेवामा उपचार लिने बिरामीका लागि तोकिएको मूल्य हो । यो औषधिको मूल्य निजी क्षेत्रका संस्थान र निजी क्षेत्रको बीमा कम्पनीका भने लागि प्रतिभाइल ५२० डलर पर्नेछ । निजी क्षेत्रका बिरामीको लागि ५ दिनको पूरा डोजको मूल्य ३ हजार १२० डलर (३ लाख ७८ हजार नेपाली रुपैयाँ) पर्नेछ ।
कोभिड–१९ को उपचारको लागि रेम्डेसिभिरको प्रयोग सुरु भइसकेको छ । ठूलो संख्यामा ट्रायलपछि रेम्डेसिभिरबाट बिरामीको स्वास्थ्यमा द्रुत गतिमा सुधार भएको पाइएको छ । यही नतिजाका आधारमा अमेरिकाको औषधि नियामक निकाय युएस ड्रग रेगुलेटरले रेम्डेसिभिरको प्रयोगका लागि गत मे महिनामा अनुमति दिएको थियो ।
गिलिडले जून महिनाभरी आफूले औषधि निःशुल्क दान गर्ने बताएको थियो । जुलाइ महिना सुरु भएसँगै निःशुल्क दिन बन्द हुने भएकोले कम्पनीले यसको मूल्य कति निर्धारण गर्छ भन्नेमा चासो बढेको थियो । यो औषधिको मूल्यमा चासो यसकारण पनि बढेको थियो किनकि भविष्यमा आउने कोभिड–१९ विरुद्धका अन्य औषधिको मूल्य पनि यसकै आधारमा निर्धारण हुनेछन् ।
कम्पनीले अहिले यो औषधिको उच्च मागका कारण अधिक मूल्य निर्धारण गर्न सक्ने अवस्था हुँदाहुँदै पनि कम मूल्य तोकेको जनाएको छ ताकि सबै विकसित देशले यो औषधि किन्न सकुन् । केही अनुमानका अनुसार पूरा ट्रिटमेन्ट कोर्सका लागि यो औषधिको मूल्य करिब ४ हजार ५ सय डलरसम्म हुन सक्ने दावी गरिएको छ । अहिलेसम्म गिलिडले २.५ लाख ट्रिटमेन्ट कोर्स निःशुल्क दान गरिसकेको छ ।
Facebook Comment