राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
राष्ट्रपति भवन शितल निवासमा करिव ४५ मिनेट भएको भेटवार्तामा समसामयकि राजनीकि घटना क्रममा विषयमा छलफल भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। ‘यो नियमित भेट हो,’ अधिकारीले डिसी नेपालसँग भने, ‘समसामयिक राजनीतिक विषयमा उहाँहरुबीच करिव ४५ मिनेट छलफल भयो।’
प्रधानमन्त्री ओली साँढे दश बजे शितल निवास प्रवेश गरेका थिए भने सवा ११ मा राष्ट्रपति भवनबाट बाहिरिएका थिए। नेकपा स्थायी कमिटी बैठक बस्नु अगाडि राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको भेटलाई अर्थपूर्ण रुपले हेरिएको छ।
जारी स्थायी कमिटी बैठकमा सदस्यहरुले सरकारको कामको आलोचना गरिरहेका छन्। शनिबार प्रधानमन्त्री ओलीले एक सार्वजनिक कार्यक्रममा भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिरहेको दाबी गरेका थिए।
प्रधानमन्त्री ओली पक्षधर स्थायी कमिटीमा अल्पमतमा रहेको छ। अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालको समूह एक ठाउँ हुँदा ओली पक्षधर अल्पमतमा पर्दै आएको छ।
स्थायी कमिटी बैठकमा रक्षात्मक अवस्थामा रहेका बेला प्रधानमन्त्री ओलीले पार्टीभित्रको शक्ति सन्तुलनलगायतका विषयमा राष्ट्रपतिसँग छलफल गरेको बताइएको छ।
Facebook Comment