नेकपा बैठकमा प्रचण्डले बलिदानी मागेपछि…

डिसी नेपाल
१६ असार २०७७ २०:००

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गएको आइतबार आफ्नो सरकार ढाल्न भारत सक्रिय भएको बताएपछि मंगलबार बस्ने नेकपा स्थायी कमिटीको बैठकमा वातावरण तरंगित हुने अपेक्षा थियो, मंगलबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु हुँदा अपेक्षाअनुसारै तरंगित वातावरण बन्यो।

बैठकमा गएको शुक्रबारदेखि नियमित रुपमा सीमा समस्या एजेण्डामा छलफल चलिरहेको थियो। मंगलबार पनि यो एजेण्डामा छलफल हुनुपर्ने थियो तर, त्यस्तो भएन। बैठकको शुरुमै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले दिएको सरकार ढाल्ने अभिव्यक्तिबारे बोले। आफूले बोलेपछि प्रधानमन्त्री ओलीलाई त्यसको जवाफ दिन भने, अनि स्थायी कमिटी सदस्यहरुलाई यही विषयमा बोल्न फ्लोर ओपन गरे।

एक स्थायी कमिटी सदस्यका अनुसार मंगलबारको बैठकको शुरुमै बोल्दै प्रचण्डले प्रधानमन्त्री ओलीलाई बलिदान गर्न भनेका थिए। ती सदस्यले डिसी नेपालसँग भने, ‘अध्यक्ष प्रचण्डले शुरुमा बोल्नु भो। उहाँले प्रधानमन्त्रीले अस्ती बोलेको विषयमा बोल्दै प्रधानमन्त्रीकै सामुन्य ठिक नबोलेको भन्दै चर्को आलोचना गर्नु भयो।’ प्रचण्डले सरकार अब यसरी चल्न नसक्ने भन्दै प्रधानमन्त्री ओलीले बलिदान दिनुपर्ने बताएको ती स्थायी कमिटी सदस्यले जानकारी दिए।

प्रचण्डले बोलिसकेपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई भारतले सरकार ढाल्न लागेको भन्ने विषय के हो जवानकारी दिन भनेका थिए। स्रोतका अनुसार त्यसपछि प्रधानमन्त्री ओलीले आफूले तथ्यमै रहेर बोलेको जवाफ दिएका थिए। स्रोतले भन्यो, ‘भारतले केसम्म गर्छ भन्ने हामी सबैलाई थाहा छ, मैले त्यतिकै बोलेको होइन, तथ्यमै बोलेको हुँ।’ यो भन्दा ओली निकै मलिन देखिएको ती स्थायी कमिटी सदस्यले बताए।

प्रचण्डले बोल्ने क्रममा मंगलबारै निर्वाचन आयोगमा नेकपा एमाले नाममा दल दर्ताका लागि परेको निवेदनबारे पनि प्रधानमन्त्री ओलीसँग जिज्ञाशा राखेका थिए। उनले भनेका थिए, ‘आजै नेकपा एमालेको नाममा दल दर्ताका लागि निवेदन परेको सुनेको छु, यसमा के हो प्रधानमन्त्री जी भन्नुपर्छ। यसमा पनि कतै केही षडयन्त्र त लुकेको छैन?’

ओलीले प्रचण्डको यो प्रश्नको जवाफ दिँदै गोपाल किराँतीले पनि नेकपा माओवादी केन्द्र नाममा पार्टी दर्ता गरेको विषय स्मरण गराउँदै यो नेकपा एमाले नामको दल दर्ता गर्ने मानिसबारे आफूलाई केही जानकारी नभएको बताएका थिए। यो प्रसंगमा ओली निकै जोसका साथ प्रस्तुत भएका थिए।

ओलीले बलिदानी दिनेबारे भने केही नबोलेको ती स्थायी कमिटी सदस्यले डिसी नेपाल जानकारी दिए। उनका अनुसार ओली बोलेपछि झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले बोलेका थिए। मंगलबार बोल्ने सचिवालय सदस्यहरु सबै ओली विरोधी खेमाका हुन्। त्यसैले पनि सबैको आजाव एकै किसिमको सुनिएको ती स्थायी कमिटी सदस्यले बताए। उनका अनुसार मंगलबार बोल्ने सबै सचिवालय सदस्यहरुले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए।

त्यसपछि बोलेका स्थायी कमिटी सदस्यहरु भीम रावल, भीम आचार्य, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य र जनार्दन शर्माले केपी ओलीमा एक्लै चुनाव जितेको घमण्ड देखिएको भन्दै चुनाव सबै नेताको मेहनतले जितेको बताएका थिए। ती स्थायी कमिटी सदस्यले डिसी नेपालसँग भने, ‘स्थायी कमिटी सदस्य कमरेडहरुलाई चुनाव जितेको क्रेडिट प्रधानमन्त्री ओलीले एक्लै लिएको भन्ने परेको रैछ, यही विषयमा आफ्नो कुरा राख्नु भयो।’ बोल्ने सदस्यहरुले आकाश नै खसे जस्तो गरी सरकारको चर्को आलोचना गरेका थिए।

यति सदस्यहरुले बोलेपछि मंगलबारको बैठक सकिने समय भइसकेको थियो। त्यसपछि बैठकको अध्यक्षता गरिरहेका अध्यक्ष प्रचण्डले फेरि बोले। उनले प्रधानमन्त्री ओलीले बलिदानी दिने विषय फेरि पनि दोहोर्याएका थिए। साथै प्रधानमन्त्री ओलीले बोल्नेक्रममा गुटगत भेला गरेको गुनासो गरेको विषयमा पनि प्रचण्डले जवाफ दिएका थिए। स्रोतका अनुसार प्रचण्डले भनेका थिए, ‘म पनि कसैसँग कतै गएर भेट्छु, उहाँ (ओली) पनि कतै गएर कसैसँग भेट्नु हुन्छ। तर, जसले जहाँ जसलाई भेटे पनि हामी दुई अध्यक्ष उपस्थित भएर कुरा सुनाउने ठाउँ यही हो। पार्टीमै कुरा सुनाउँछौं।’

मंगलबारको बैठकको परिदृश्य हेर्दा प्रधानमन्त्री ओली रक्षात्मक बनेको देखिएको एक स्थायी कमिटी सदस्यले बताए। उनले बुधबार पनि प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा बाँकी रहेका सदस्यहरुले बोल्ने बताए। एक सदस्यलाई पाँच मिनेटको समय बोल्नका लागि तय गरिएको उनले जानकारी दिए। उनका अनुसार प्रचण्डले पार्टी सचिवालयले एक प्रस्ताव ल्याउने र त्यसै अनुसार स्थायी कमिटिले निर्णय गर्ने बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *