फरार प्रतिवादी २२ वर्षपछि पक्राउ

डिसी नेपाल
१६ असार २०७७ २०:००

दमौली । सवारी ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई फरार एक प्रतिवादी २२ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बस्ने लक्ष्मण श्रेष्ठ छन् ।

श्रेष्ठलाई उनकै घरबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। एक वर्ष कैद भुक्तान गर्न बाँकी रहेकाले उनलाई जिल्ला अदालत तनहुँमा पेश गरिएकामा अदालतले जिल्ला कारागार कार्यालय पठाएको छ ।

निजलाई सवारी ज्यान मुद्दामा विसं २०५५ असार १४ गते चितवन जिल्ला अदालतले एक वर्ष कैदको सजाय तोकेको थियो ।

गाँजासहित पक्राउ

प्रहरीले तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपबाट गाँजासहित चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका–५ बस्ने २४ वर्षीय मुस्कान पङ्गेनी र २५ वर्षीय तेजबहादुर गुरुङ तथा पोखरा महानगरपालिका–३२ बस्ने २२ वर्षीय रुपेश गुरुङ र २३ वर्षीय आकाश गुरुङ रहेको प्रहरीले जनाएको छ ।

मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग १५ प ६६४० नं को मोटरसाइकल जाँच गर्ने क्रममा पङ्गेनी र तेजबहादुरलाई खानतलासी गर्दा प्रहरीले निजका साथबाट दुई किलो तीन सय ग्राम अवैध गाँजा बरामद गरेको छ । प्र्रहरीले उक्त लागुऔषध ओसारपसार एवं सञ्चयसमेतको कारोवार गर्ने रुपेश र आकाशलाई समेत पक्राउ गरी आज जिल्ला अदालतबाट म्याद थप लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *