अमेरिका, बेलायत र अस्ट्रेलियाका केही क्षेत्रमा फेरि लकडाउन घोषणा

डिसी नेपाल
१७ असार २०७७ ७:५४

काठमाडौं। लगातार कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अमेरिका, बेलायत र अस्ट्रेलियाका केही स्थानमा पुन लकडाउन गर्न थालिएको छ। अमेरिकाको एरिजोनामा सरकारले बार, जिमखाना, सिनेमा थिएटर र वाटर पार्कमा ३० दिनका लागि पुन लकडाउन घोषणा गरेका छ। यहाँ सार्वजनिक कार्यक्रममा ५० जना भन्दा धेरै जम्मा हुन नपाउने नियम लागू गरिएको छ।

एरिजोनामा अहिलेसम्म ७६ हजार ९ सय ८७ जना संक्रमित भेटिएका छन्। तीमध्ये १ हजार ५८८ जनाको मृत्यु भएको छ। फ्लोरिडाले पनि दक्षिणी समुद्र तटमा जान ४ जुलाई सम्म रोक लगाएको छ। टेनेसीमा २९ अगस्टसम्म संकटकाल बढाइएको छ।

बेलायतको लिसेस्टर सहरमा फेरि लकडाउन घोषणा गरिएको छ। यहाँका अत्यावश्यक बाहेकका सबै सेवा र स्कुल बन्द गरिएको छ।
लिसेस्टरमा एक हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने २ सय ७१ जनाको मृत्यु भएको छ। अस्ट्रेलियको मेलबर्न सहरमा ३२ उपनगरमा फेरि एक महिला लामो लकडाउन घोषणा गरिएको छ। अन्तर्राष्ट्रिय उडानलाई मेलबर्न आउनलाई रोकिएको छ।

यसैबीच विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ५ लाख १ हजार ९५६ पुगेको छ। तीमध्ये ५७ लाख ३४ हजार ३७ जना उपचारपछि निको भएका छन् भने ५ लाख ११ हजार २३१ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा १ लाख १९ हजार ५० जना नयाँ संक्रमित थपिएका छन्। तीमध्ये सबैभन्दा धेरै अमेरिकामा २७ हजार चार, भारतमा १८ हजार २५६, ब्राजीलमा १३ हजार १९० र दक्षिण अफ्रिकामा ६ हजार ९४५ जना संक्रमित भएका छन्।

ती मध्ये सबैभन्दा धेरै मृत्यु ब्राजीलमा भएको छ। ब्राजीलमा एक दिनमा ५ सय ४२ जनाले ज्यान गुमाएका छन्। भारतमा ५ सय ६ जनाको मृत्यु भएको छ भने अमेरिकामा ५०३ जनाले पछिल्लो २४ घण्टामा ज्यान गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *