सांसद छन्त्यालको निधनमा शोक प्रस्ताव पारित
काठमाडाैं। प्रतिनिधिसभाको बुधबारको बैठकले सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो। बैठकले उनको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।
नेपाली काँग्रेसबाट २०७४ सालको प्रतिधिनिसभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसद छन्त्यालको ६३ वर्षको उमेरमा बुधबार बिहान निधन भएको थियो। सांसद छन्त्याल २०७० सालको संविधानसभा निर्वाचनमा बागलुङ क्षेत्र नं ३ बाट निर्वाचित भएकी थिइन्।
सामाजिक एवं ग्रामीण विकासमा सक्रिय, प्रजातन्त्रिक र लोकतान्त्रिक आन्दोलनका योद्धा छन्त्यालको बाँसबारीस्थित शहिद गङ्गालाल हृदयरोग केन्द्रमा उपचारका क्रममा निधन भएको थियो। प्रतिनिधिसभाको अर्को बैठक यही असार २२ गते सोमबार अपराह्न १ बजे बस्नेछ।
Facebook Comment