प्रधानमन्त्रीको कार्यशैली नै भएन : पौडेल

डिसी नेपाल
१७ असार २०७७ १९:४४

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली नै नराम्रो भएको भन्दै मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले नेकपाले प्राप्त गरेको जनमत ऐतिहासिक भएको भन्दै सो जनमतअनुसार सरकारले काम गर्न नसकेको टिप्पणी गरेका हुन् । उनले भने, ‘नेकपाले प्राप्त गरेको यो जनमत सायद अरुले प्राप्त गरेको छ । प्रदेश सरकारको कुरा गर्दापनि ७ वटामध्ये ६ वटामा नेकपाको सरकार छ । जनताले यो भन्दा बढि समर्थन कसैलाई दिन सक्दैनन् । म प्रश्न गर्न चाहन्छु जनताले कतिसम्म समर्थन गर्यो भने यो सरकारले काम गर्ने हो ?’

बोल्दै पौडेलले वर्तमान प्रधानमन्त्री ओलीले नक्सा पारित गरेको पर्दाभित्र आफूले गरेका सबै कुकृत्य लुकाउन खोजिएको आरोप लगाएका छन् । वर्तमान सरकारले जनताको जनजीवन उकास्न केहीपनि काम नगरेको उनको भनाई छ । उनले भने, ‘कोभिड–१९ नियन्त्रणको लागि केहीप्नि नगर्ने, अनि सबै कुरा नक्सा जारमा देखाउन खोज्ने । यसकै पर्दाभित्र धेरै नराम्रा काम भए । यो सरकारले कोभिड–१९ नियन्त्रण गर्न सकेन । मैले पूर्वाग्रही भनेर भनेको होईन । कोभिडको जोखिमका बावजुद पनि सरकारको विरोधमा सडकमा विरोध तथा प्रदर्शन भैरहेका छन् । प्रतिपक्षको पनि सरकारले धेरै सहयोग प्राप्त गरेको स्थिति हो । यति धेरै सहयोग प्राप्त हुँदा पनि यो सरकारले केही गर्न सकेन् ।’

उनले प्रधानमन्त्री ओलीले भारतबाट नेपाल आउने नेपालीहरुलाई नआउ भनेर दिएको अभिव्यक्ति उल्लेख गर्दै भने, ‘बरु उहाँले के भन्नुपर्दथ्यो भने म तपाईहरुलाई बोलाउँछु । धैर्यतासहित अहिले त्यहीँ बस्नुहोस । म घर पुर्याउँछु भन्नुपर्दथ्यो । प्रधानमन्त्रीले यति भनिदिएको भए कोरोना नियन्त्रणमा सहयोग पुग्दथ्यो । तर, उहाँको अभिव्यक्तिका कारण आज कोरोना नियन्त्रण हुन सकेन् ।’

उनले सरकारले राम्रो व्यवस्थापन गर्न नसक्दा देशभरिका क्वारेन्टिन भेडाबाख्राको खोरजस्तै भएको पनि टिप्पणी गरे । उनले भने, ‘क्वारेन्टिमा भौतिक दूरी कायम गर्न सकिएको छैन । सरकारले स्थानीय सरकारहरुलाई साधन स्रोत उपलब्ध गराएन । कोभिड १९ कोषमा जम्मा भएको पैसा तल दिएको भए हुन्थ्यो नि । कोभिड नै नआएकोजसरी बजेट ल्याइयो । सरकारले रोजगारी सुनिश्चित गर्ने बजेट ल्याउन सकेन ।’

लाखौंको संख्यामा युवाहरु विदेशबाट नेपाल आउने उल्लेख गर्दै उनले यस्तो अवस्थामा रोजगारीको लागि कृषि वैकल्पिक क्षेत्र भएकोले सोहीअनुसार सरकारले योजना र कार्यक्रम ल्याउनुपर्ने थियो भन्ने धारणा राखे ।

सरकारले प्रकाशित गरेको निर्देशिकाअनुसार लक्षण नभएकालाई अब क्वारेन्टिनमा बसेकाहरुलाई कोरोना नै परीक्षण नगरी घर पठाउने भनिएको पनि उनले आक्रोश पोखे । उनले भने, ‘क्वारेन्टिनमा बसेकाहरु फेरि परीक्षण नगरी घर पठाउने कुरा छ, सरकारको उपस्थ्तिि कहाँ देखियो । राहत कसलाई दिने हो ? त्यो पनि छनौट गरेको देखिएन । सामान्य व्यवसायदेखि ठूला उद्योग तथा व्यवसायलाई पनि सहयोग गर्न सकेन् । नेपालजस्तो कडा लकडाउन संसारमा अरु कतै छैन् । कोरोना नियन्त्रण होईन, दिनदिनै बढिरहेको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *