प्रधानमन्त्री ओली रक्षात्मक अवस्थामा
काठमाडौं। पार्टीभित्रको विवाद चर्किँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक अवस्थामा पुगेका छन्। जारी स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले राजीनामा मागेपछि प्रधानमन्त्री ओली रक्षात्मक अवस्थामा पुगेका हुन्।
पार्टीका सबै कमिटीमा आफू अल्पमतमा परेपछि प्रधानमन्त्री ओलीले इतर समूहका नेतालाई आफ्नो पक्षमा ल्याउन थालेको प्रयास सफल भएको छैन। बुधबार आफू निकट र आफूप्रति नरम देखिएका पूर्व माओवादी, माधव नेपाल समूहका केही मन्त्री र स्थायी कमिटी सदस्यसँग प्रधानमन्त्री ओलीले छलफल गरेका थिए।
उक्त छलफल पछि बसेको स्थायी कमिटी बैठकमा बोल्ने पाँच जनामध्ये चार जनाले प्रधानमन्त्रीको राजीनामा मागेका थिए। प्रधानमन्त्रीले आफूँ निकटसँग छलफल गरेपछि बुधबार राति नै दाहाल–नेपाल समूहले ललितपुरको झम्सिखेलको एक होटलमा छुट्टै बैठक बसेको थियो।
४५ सदस्यीय स्थायी कमिटी सदस्य मध्ये बुधबार झम्सिखेल भेलामा ३० जना उपस्थित भएका थिए। उनीहरु सबै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने मागमा सहमति भएको एक बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले डिसी नेपाललाई जानकारी दिए। यसअघि ओली पक्षमा देखिँदै आएका गृहमन्त्री रामबहादुर थापासमेत उक्त भेलामा सहभागी भएको र उनले भेलाको निर्णय आफूलाई मान्य हुने बताएको स्रोतले जनाएको छ।
यसअघि गृहमन्त्री थापा र उद्योग मन्त्री लेखराज भट्ट प्रधानमन्त्रीको खेमामा देखिएका थिए। उनीहरु दुवै बुधबार विहान प्रधानमन्त्रीले बोलाएको छलफलमा पनि सहभागी भएका थिए। तर साँझ दाहाल–नेपाल समूहको बैठकमा सहभागी आफूहरुले कित्ता परिवर्तन नगरेको बताएका थिए।
उक्त बैठकमा ओलीका विकल्पका विषयमा छलफल भएको थियो। बैठकले अब कुनै पनि हालतमा प्रधानमन्त्रीबाट राजीनामा दिनुको विकल्प नभएको निष्कर्ष निकालेको एक नेताले जनाए।
नेकपाको स्थायी कमिटी बैठकमा प्रचण्ड–माधव समूहले ओलीलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा गर्न माग गरेको छ। प्रचण्ड–माधव समूह एकजुट हुँदा ओली पार्टीको सचिवालय र स्थायी कमिटीमासमेत अल्पमतमा परेका छन्। ४४ सदस्यी स्थायी कमिटीमा माधव ओली समूहमा १४ जनामात्र रहेको प्रचण्ड–माधव समूहको दावी छ।
नेकपाको हालको विधानमा बुहमतका आधारमा निर्णय गरेर पार्टी अध्यक्षलाई हटाउन सकिने कल्पना भने गरिएको छैन। तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता भएर बनेको नेकपामा महाधिवेशनसम्म दुई अध्यक्षले पार्टी चलाउने व्यवस्था छ।
यता प्रधानमन्त्री पक्षधरले भने अहिले प्रधानमन्त्री ओलीको विकल्प नरहेको बताएको छ। यो अवस्थामा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खोजिए व्यवस्थामा नै आँच आउने ओली पक्षधर नेताहरुले चेतावनी दिएका छन्।
Facebook Comment