नेकपा स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित, विवाद झन चर्कियो
काठमाडौं। सत्तारुढ दल नेकपा भित्रको विवाद झन चर्केको छ। बिहीबार सरकारले संसदको अधिवेशन अन्त्य निर्णय गरेपछि नेकपाको विवाद झन चर्केको हो।
नेकपाको जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा मागिएको छ। स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा मागिएपछि सतहमा आएको नेकपाको विवाद बिहीबार संसदको अधिवेशन अन्त्य भएपछि झन चर्केको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारै संसद अधिवेशन अन्त्यको सूचना जारी गरिसकेकी छन्। संसद अधिवेशन अन्त्य भएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार राष्ट्रपतिसँग भेट्न शितल निवास पुगेका थिए।
शितल निवासमा करिब ४० मिनेट बिताएका प्रचण्ड बालुवाटार पुगेर बिहीबार बिहान स्थगित भएको बैठक फेरि बसेको थियो। छोटो समय बसेको बैठकमा राष्ट्रपतिसँगको भेटबारे प्रचण्डले कमिटीमा ब्रिफिङ गरेको स्थायी कमिटी सदस्य वेदुराम भुसालले जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘राष्ट्रपतिसँग भएको भेटबारे जानकारी गराउनु भयो, त्यसपछि शनिबारसम्मका लागि बैठक स्थगित गरियो।’
प्रचण्डले राष्ट्रपतिलाई भेट्नुभन्दा पहिला प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई भेटेका थिए। बिहीबार नै बिहान ओली र प्रचण्डबीच छोटो वार्तासमेत भएको थियो। तर, सो वार्ता तिक्ततापूर्ण रहेको बालुवाटार स्रोतले जानकारी दिएको थियो। ओलीसँग तिक्ततापूर्ण वार्तालापपछि प्रचण्ड शितल निवास पुगेका थिए।
यसअघि बुधबार प्रचण्ड–माधव समूहको भेला झम्सिखेलको अगेनो रेस्टुरेण्टमा भएको थियो। सो भेलाले प्रधानमन्त्री ओलीविरुद्ध रणनीति तयार पारेको थियो। प्रचण्ड–माधव समूह बलियो भएर आफूविरुद्ध लागेपछि प्रधानमन्त्री ओलीले संसदको बैठक अन्त्य गरेर आगामी कदम अध्यादेशमाफर्त चाल्न सकिने बाटो खुला गरेका छन्।
Facebook Comment