ओली हटाउन नेपालमा रस्साकस्सी हुँदा भारतमा खुसीयाली

डिसी नेपाल
२० असार २०७७ १०:३३

काठमाडौं। नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउन राजनैतिक रस्साकस्सी चलिरहँदा यसले भारतमा भने खुसीयालीको माहोल देखिएको छ । भारतीय मिडियाहरुमा यसको खुसीयाली प्रस्ट देख्न सकिन्छ ।

भारतीय मिडियाले नेपालको यो विषयलाई बढाइचढाइ प्रस्तुत गरेका छन् । उनीहरुले प्रधानमन्त्री ओलीले कुर्सी बचाउन संसद अधिवेशन अन्त्य गरेको भए पनि उनको कुर्सी खतरामै रहेको उल्लेख गरेका छन् । उनीहरूले ओलीले भारतको विरोध गरेर सत्ता बचाउन खोजेको तर असफल भएको टिप्पणी गरेका छन् ।

अहिलेको राजनैतिक परिस्थिति र नेपालको संवैधानिक व्यवस्थालाई हेर्दा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव नै ल्याएर एक चौथाइ सांसदहरुले संसद अधिवेशन सुरु गर्न राष्ट्रपतिसमक्ष आग्रह गरेको अवस्थामा मात्र प्रधानमन्त्रीको पद खतरामा पर्न सक्छ अन्यथा कम्तिमा मंसिरम्म प्रधानमन्त्रीको पदलाई कुनै खतरा छैन । र, नेकपा विभाजित नै हुने अवस्था नआउँदासम्म प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आउने सम्भावना न्यून छ ।

केही दिनअघि प्रधानमन्त्रीले एक सम्बोधनको क्रममा आफूलाई पदबाट हटाउन भारत र काठमाडौंमा भारत पक्षका शक्ति केन्द्रबाट प्रयास भइरहेको आरोप लगाएका थिए । यसै पनि भारत प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन चाहन्छ ।

ओलीले भारतले अतिक्रमण गरेका भूभाग समेटेर नेपालको परिमार्जित नक्सा पास गरेदेखि नै भारत उनीसँग रुष्ट छ । त्यसयता ओलीले नेपालमा भारतविरोधी राष्ट्रवादको भावना विकसित गर्न उल्लेख्य भूमिका खेलेका छन् जुन भारतलाई पचेको छैन ।

प्रधानमन्त्री ओलीका यी कार्यहरु भारतलाई चित्त बुझिरहेको छैन । नेपालको संसदीय राजनीतिको तीन दशकको अवधिमा यसअघि भारतले नेपालमा आफू अनुकूल सरकार नभए सरकार परिवर्तन गराउने गरेको दावी गरिन्छ ।

केपी ओलीकै अघिल्लो सरकारमा सहभागी तत्कालीन माओवादीलाई सरकारबाट फिर्ता बोलाएर ओलीलाई राजीनामा गर्न बाध्य पार्ने काममा भारतकै भूमिका रहेको दावी गरिन्छ । त्यतिबेला पनि ओलीले नाकाबन्दीका क्रममा नेपालमा भारतविरोधी राष्ट्रवादको भावना जगाएका थिए ।

अहिले ओली सरकार दुई तिहाइ बहुमतको जगमा उभिएकोले यो सरकार ढलाउन भारतलाई सजिलो छैन । त्यसैले उसले मिडियाबाजी गरेर ओलीलाई कमजोर पार्ने प्रयास गरिरहेको बुझ्न सकिन्छ । सामान्यतया भारतीय मूलधारका मिडियाहरु सरकारविरुद्ध बोल्दैनन् ।

भारतका मिडियालाई प्रधानमन्त्री नरेन्द्र मोदीले नै आफ्नो पक्षमा मात्र बोल्ने गरी ‘दानापानी’ दिने गरेको टिप्पणी पनि गरिन्छ । यो पृष्ठभूमिमा अहिले पनि भारतीय मिडियाहरु मोदी सरकारकै इशारामा बोलिरहेको हुन सक्ने दावीलाई नकार्न मिल्दैन ।

भारतीय मिडियाले नेकपा अध्यक्ष पुष्पकमल दाहालको भनाइलाई पनि अतिरंजित गरेर प्रस्तुत गरेका छन् । दाहालले ओलीलाई उनीसँग भारतले नभइ पार्टीले राजीनामा मागेको भनेका थिए ।

भारतीय मिडियाले यो भनाइलाई अतिरंजित गर्दै दाहालले ओलीलाई भारतविरुद्ध लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएको र नसके राजीनामा दिन भनेको लेखेका छन् । उनीहरुले प्रचण्ड ओलीको राजीनामा बाहेकका विकल्पमा जान तयार नभएको पनि लेखेका छन् ।

ओलीले कुर्सी बचाउन भएजतिका सबै रणनीति अपनाइरहेको भन्दै भारतीय मिडियाले बिना समर्थन उनले प्रधानमन्त्रीको कुर्सी धेरै दिन बचाउन नसक्ने दावी गरेका छन् ।

उनीहरुले ओलीले हालै कैयौं भारतविरोधी निर्णय गरेको र चीनसँग निकटता बढाएका कारण देशभित्रै उनको विरोध भइरहेको दावी पनि गरेका छन् । भारतसँगको सीमामा सेना परिचालन गरेको कामलाई भारतीय मिडियाले भारतविरोधी कदम भनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *