ओली-देउवा ‘गोप्य भेट’

डिसी नेपाल
२१ असार २०७७ ८:०८

काठमाडौँ। सत्तारूढ नेकपाभित्रको शक्ति संघर्ष सतहमा आइरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच तीन दिनअघि बालुवाटारमा भएको भेटघाटलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ । देउवा र ओलीबीच असार १७ गते राति बालुवाटारमा करिब डेढ घण्टा गोप्य छलफल भएको थियो ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिका अनुसार त्यस दिनको भेटघाट संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिको विषयलाई लिएर मात्र भएको थियो । ‘प्रधानमन्त्रीले बोलाइसकेपछि प्रमुख विपक्षी दलको नेता नजाने स्थिति हुन्न । भेटघाटमा नेकपाभित्रको विवाद र घटनाक्रमबारे केही कुरा भयो कि भनेर हामीले पनि सभापतिजीसँग चासो राखेका थियौं तर उहाँले त्यसबारे कुरै नभएको र आयोगका पदाधिकारी नियुक्तिका विषयमा छलफल भएको बताउनुभयो,’ निधिले कान्तिपुरसँग भने, ‘सभापतिले त्यति भनिसकेपछि आशंका गर्ने कुरै भएन ।’

ओली र देउवाबीचको भेटघाटले नेकपामा ओलीइतर खेमालाई त आशंकित बनाएकै छ, कांग्रेसभित्र पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सशंकित छ । देउवाप्रति लक्ष्य गर्दै पौडेलले शनिबार एक सार्वजनिक कार्यक्रममै अंकगणितको जोड, घटाउमा कांग्रेस लाग्न नहुने बताए । ‘कांग्रेसले कम्युनिस्ट विभाजन भएर सत्ताप्राप्ति होला भनेर लाग्नुहुन्न । जोड, घटाउ गरेर सत्ताप्राप्तिका लागि होइन, सिद्धान्त र आदर्शको राजनीति अवलम्बन गर्नुपर्छ,’ सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले राजधानीमा आयोजना गरेको कार्यक्रममा पौडेलको भनाइ थियो, ‘अरूको घर भत्केला र आफ्नो घर बन्ला भन्ने सोच्नु दुर्भाग्यपूर्ण हुुन्छ ।’

ओली र देउवाबीचको सम्बन्ध

कांग्रेस केन्द्रीय कार्यसमितिको वैशाख १७ गतेको निर्णयले कांग्रेस र प्रधानमन्त्री ओलीबीचको सम्बन्धलाई कति तिक्ततापूर्ण छ भन्ने प्रस्ट्याउँछ । राजनीतिक दल र संवैधानिक परिषद्को बैठकसम्बन्धी कार्यविधि संशोधन गर्न जारी भएका दुई अध्यादेशको पृष्ठभूमिमा बसेको कांग्रेस बैठकले ओलीको राजीनामा मागिसकेको छ । विभिन्न घटनाक्रम जोड्दै कांग्रेसको उक्त बैठकले ओलीको नेतृत्वको सरकारले शासन गर्ने राजनीतिक एवं नैतिक आधार गुमाएको ठहर गरेको छ ।

याे समाचार कान्तिपुर दैनिकमा कुलचन्द्र न्याैपानेले लेखेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *