नेपाली स्टार्टअप कम्पनीहरु फस्टाउँदै, भारत–चीनका लगानीकर्ताको नजर परेन
काठमाडौं। पछिल्लो ५ वर्षको अवधिमा नेपालमा स्टार्टअप कम्पनीहरु राम्रोसँग फस्टाइरहेको एक रिपोर्टमा खुलासा भएको छ । चीनको अखबार साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित रिपोर्टअनुसार पछिल्लो ५ वर्षको अवधिमा नेपालमा साढे ३ सय भन्दा धेरै स्टार्टअप कम्पनीहरुले राम्रो सुरुवात गरिसकेका छन् । चीन र भारतका लगानीकर्ताहरुले स्टार्टअप कम्पनीमा लगानी गर्ने गरेको भए पनि नेपालमा फस्टाइरहेका स्टार्टअपमा भने ती लगानीकर्ताको नजर नपरेको रिपोर्टमा जनाइएको छ ।
पछिल्लो समय नेपाली युवाहरु विदेशमा अध्ययनपछि उतै करिअर बनाउनुभन्दा नेपालमै फर्किएर यहीँ स्टार्टअप कम्पनी सुरु गर्नेतिर आकर्षित भएको उल्लेख गर्दै फेशन डिजाइनर मिना गुरुङको उदाहरण दिइएको छ । गुरुङले ४ वर्षअघि आयरल्याण्डमा फेशन डिजाइनिङमा ग्रयाजुएशन गरेपछि तत्कालै नेपाल फर्किएर वातावरणमैत्री कपडाको ब्राण्ड बोरा स्टुडियो सुरु गरेकी छिन् । बोरा स्टुडियो नेपालमा फस्टाउँदै गरेका ३५० स्टार्टअपमध्ये एक हो जो २०१५ मा नेपालमा ९ हजार जनाको ज्यान लिने भूकम्पपछि सुरु भएका थिए ।
भूकम्पलगत्तै भारतले नेपालमाथि अघोषित नाकाबन्द लगायो जसले नेपालको अर्थतन्त्र झनै ओरालो लाग्यो । नेपालको कूल गार्हस्थ उत्पादन २०१४–१५ मा ३.३२ प्रतिशत रहेकोमा अर्को वर्ष घटेर ०.५९ प्रतिशतमा झर्यो । देशका ५.६ मिलियन नागरिक अर्थात कूल जनसंख्या मध्ये ५ जनामा १ जनाले आफ्नो रोजगारी गुमाए । देश कठिन अवस्थामा पुगेका बेला देशका धेरै उद्यमीले देशको आयातमा निर्भरता घटाउन योगदान दिन सुरु गरे ।
नेपालका ८० प्रतिशत उपभोग्य सामानहरु आयात गरिन्छन् । आयात गरिने सामानहरुमा तेल, सुन, फलाम, स्टिल, औषधि र मेडिकल उत्पादन, सिमेन्ट, विद्युतीय सामानहरु प्रमुख हुन् । नेपालका स्टार्टअप कम्पनीहरुले पहिरनदेखि विद्युतीय सामान, खाद्य चेनदेखि सवारी सुविधासम्म उपलब्ध गराउन थालेका छन् । स्टार्टअपमा उद्यमीहरु अधिकांश २२ देखि ३५ वर्षका युवाहरु छन् र उनहिरु विदेशका प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन गरेर फर्किएका हुन् ।
केही स्टार्टअपहरुले त सुरुमा १ वा २ जना र मात्रै ७० हजार रुपैयाँ बराबर पूँजीबाट कम्पनी सुरु गरेका छन् । पछिल्लो समय फस्टाउँदै गएका स्टार्टअपहरुमध्ये कफी चेन रेड मड कफी, इकमर्स प्लेटफर्म फुडमाण्डुदेखि राइड शेयरिङ एप टुटल प्रमुख हुन् । अधिकांश उत्पादनहरु घरेलु बजारलाई लक्षित गरिएका छन् तर टेक्सटाइल, कपडा, चिया, कफी लगायतका उत्पादनहरु भने निर्यात पनि हुन्छन् । नेपालबाट निर्यात हुने ५ प्रमुख उत्पादन पाम तेल, कफी, चिया, मसला र टेक्सटाइल हुन् ।
नेपालमा स्टार्टअपको अवधारणा नयाँ हो । यहाँका अधिकांश उद्योगहरु पारिवारिक आधिपत्य भएका छन् जहाँ १७ लाख ५० हजारले रोजगारी पाएका छन् र यिनीहरुले कूल गार्हस्थ उत्पादनमा २२ प्रतिशत योगदान दिन्छन् । काठमाडौंका अर्थशास्त्री चन्दन सापकोटाका अनुसार भूकम्प र नाकाबन्दीका बेला धेरै युवा उद्यमीहरु आए जसले देशलाई चुनौतीसँग जुध्न सघाए । डोल्मा इम्प्याक्ट फण्डका लगानी निर्देशक शब्द ज्ञवालीले पनि २०१५ पनि ठूलो संख्यामा इकमर्स प्लेटफर्महरु फस्टाउँदै गएको देखिरहेको बताएका छन् ।
विज्ञहरुले राजनैतिक स्थिरता, डिजिटल प्रविधिको उदय, क्यापिटल फण्डिङ तथा नेपाली युवाको विश्वव्यापी एक्सपोजरले नेपालको अर्थतन्त्र अगाडि बढेको मान्छन् । लगानी निर्देशक ज्ञवालीका अनुसार भूकम्पको एक वर्षपछि नै नेपालको जीडीपीमा उछाल आएको थियो । ज्ञवालीका अनुसार २०१७ मा जीडीपी वृद्धिदर ७.७ प्रतिशत थियो । यो केन्द्रीय बैंकले अपेक्षा गरेभन्दा बढी हो । ज्ञवालीका अनुसार यो वृद्धि पछिल्लो २० वर्षकै धेरै हो ।
भारत र चीनको बीचमा रहेर पनि नेपालका कुनै पनि स्टार्टअपमा चिनियाँ र भारतीय लगानीकर्ताको नजर परेको छैन । ज्ञवालीका अनुसार नेपालमा चिनियाँ र भारतीय लगानी परम्परागत हाइड्रोपावर, सिमेन्ट र अन्य उत्पादन क्षेत्रमा सीमित छ । होटल, रेष्टुरेण्ट, शिक्षासम्बन्धी सेवा, स्वास्थ्यमा पनि लगानी छ तर युवाले सुरु गरेका साना स्टार्टअपमा विदेशी लगानीकर्ताले चासो दिएका छैनन् । देशको लगानी नीति र विदेशी लगानीमा न्यूनतम ५ लाख डलरको थ्रेसहोल्डले पनि विदेशी लगानीलाई निरुत्साहित गरेको विज्ञको बुझाइ छ ।
करको उच्च दर, स्टार्टअप मैत्री नीति नहुनु, नियामक अवरोधहरु तथा इजाजत पाउन कठिनाइ जस्ता कारण नेपालमा लगानीकर्ताहरुको वृद्धि हुन नसकिरहेको विश्वास गरिएको छ । ग्लोबल इनोभेसन इन्डेक्समा नेपाल १२६ देशहरुमध्ये १०९ औं स्थानमा छ । नेपाली युवा उद्यमी मञ्चका पूर्व अध्यक्ष अजय श्रेष्ठका अनुसार नेपालमा लगानी जुटाउनु सबैभन्दा ठूलो चुनौती हो किनकि बैंकहरुले बिना धितो ऋण दिन मान्दैनन् ।
Facebook Comment