मुलुक उद्धारको प्रस्तावित नयाँ रोडम्याप
यो लेखमा हामीले बिराएको बाटोको समीक्षा गर्दै मातृभूमिको रक्षा,कल्याण सेवा गर्न बाँकी बिकल्पको खाका पहिचान र सिफारिस गर्ने जमर्को गरेको छु।
लकडाउन अबधि कुर्सी झगडामा केन्द्रित रह्यो। अहिले थाहा भयो सरकार प्रमुखको सरकारमा बस्ने आयु कम छ, तसर्थ झर्ला र खाउँला भनेर एउटा जमात धारे हात लगाएर ढुकेर बसेको रहेछ।
सरकारलाई सहयोग गरौं र सफल बनाउँ भन्ने सद्भाव लिनुको सट्टा सरकारले राम्रो काम नगरोस बिफल होस् र खुट्टा तानुम् भन्ने दुरासय राखेर गल लगाउने टीम र टीमवर्कको परिणाम रहेछ दुई तिहाइको सरकार बामे सर्न नसकेको।
प्रधानमन्त्रीको स्वास्थ्यलाभ र दीर्घायुको डाडे टीमले कोरोना महामारीलाई सरकार ढाल्ने महाअस्त्र बनायो। भोक निन्द्रा नभनी मानबोद्धार, राष्ट्रिय हित, राष्ट्रिय स्वास्थ्य सुरक्षा एवं कल्याणकारी राज्यका लागि समर्पण र त्याग गर्ने महत्वपूर्ण समयमा सरकार दलभित्रका सत्ताभोगीहरुको विवादको भासमा फस्यो।
विश्व एकजुट् भएर कोरोनाबिरुद्ध लड्दा सत्तारुढ पार्टीको कुर्सी झगडा यति बल्झियो कि त्यो झण्डै फुटको संघारमा पुगेको छ। दभित्र र बाहिर पीडित मतदाताहरुले सरकार, सरकार भनेर गुहार्दा सरकार हल न चलको अवस्थामा पुगेको र कुर्सी नै बचाउनु पर्ने नियतिमा व्यस्त थियो। जनताको कुरा सुनौं आफूभित्रैका स्वार्थीले कुर्सी तान्छन्, कुर्सी बचाउन खोजूँ जनताको बेहाल बन्छ।
असंवेदनशीलताको यो पराकाष्ठाबाट मुलुक गुज्रेको छ। त्यसमाथि सरकारभित्रका केहीले मौकाको फाइदाका रुपमा नैतिक र मानवीय धर्म चटक्क बिर्सेर राष्ट्रिय ढुकुटीमाथि लुटपात गरेको दृष्य कल्पना बाहिरको राष्ट्रिय अपमान र लज्जाबोधको नीच् नमूना हो, देश र जनताबिरुद्धको नांगो नाच हो ।
लेण्डुपेहरुको भीड
महाभूकम्पको पीडामाथि भारतले ज्यादै अमानवीय र असंबेदनशील भएर नाकाबन्दीको कैंची कस्यो। नेपालका लेण्डुपेहरुले भारतको त्यो कदमलाई आगोमा ध्यू थपेर नेपाल आमाको शरीर खरानी हुने गरी पोले।
पूर्वप्रधानमन्त्री मरिचमानको पद मार्गमा हिडेर तत्कालीन प्रधानमन्त्रीले नाकाबन्दीको सामना गरे। जनताको धैर्यता र अन्तर्राष्ट्रिय समुदायको तिरस्कारले भारत सच्चिन बाध्य भयो। लेण्डुपेहरुले पराजित महसुस गरे।
दुई तिहाइको स्थायी सरकार गन्तव्यमा पुग्नुपर्दछ। स्थायी सरकारको स्थिर शासन जनताको तीब्र चाहना हो। नेपालका हितैषी मित्रराष्ट्रहरुको पनि अपेक्षा हो। राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षाको जग हो स्थिर राजनीति र स्थायी सरकार। फुटको संघारमा पुगेको पार्टी एकतालाई जोगाउनु र गन्तव्यमा पुर्याउनु सत्तारुढ पार्टीका सरकार र सरकार इतरका मान्छेहरुको धर्म र कर्म हो।
त्यो अमानवीय पीडादायी संकटले उत्तरतर्फको आर्थिक, व्यापारिक, बाणिज्य ढोका खोलेर भारत निर्भर राज्यलाई पखेटा हाल्ने काम भयो। नेपाल चीन संयुक्त सैनिक अभ्यासको प्रारम्भ भयो।
एकतर्फी परनिर्भरताको बिकल्प खोजियो, जुन अनिवार्य थियो। सरकारले राष्ट्रिय तारिफ र ताली पायो। तर तालीको आवाज मत्थर हुन नपाउँदै लेण्डुपेहरुले सरकार चिनिया कित्तामा गएको अपव्याख्या गरेर भारतलाई उचाले। नेपाल आमाको अस्मिता गिराउन उद्यत रहे।
गणतन्त्रको आगमनसँगै ४० लाख नागरिकता बाँडेर अर्का लेण्डुपेहरुले मुलुकलाई फिजिकरण मोडलमा राखिसकेका थिए। तत्कालीन ४० लाख जनशक्तिको अधिकांश हिस्सा अहिले ३० बर्षका बालिग नागरिक छन्।
राजनीतिक खेलाडीको कोर्स पूरा गरेर बिधायक बनिसकेका र बन्ने पाइपलाइनको उम्दा त्यो जनशक्ति नया नेपालको सरिता गिरीजस्ता नीति निर्माता र भविश्य निर्धारक हुन्। सबैलाई बिवाहित र २ नानीका माता पिता मान्दा १ करोड ६० लाख जनसंख्या हुन्छ ।
शाहबंशका राजाहरुले व्यापक दवाबका बावजुद धानेको सक्कली गोर्खा राज्यको धरोहर सन्की लेण्डुपेहरुले छिनभरमा ढालिदिए। मुलुक फिजिकरणको बाटोमा तीब्र बेगका साथ अगाडि बढिरहेकैछ। यसलाई ब्रेक लगाउन अहिलेको सरकारले प्रस्ताव गरेको नागरिकता विधेयकलाई असफल बनाउन सम्पूर्ण अस्त्रको प्रयोग भइरहेको छ।
असंलग्नताको नीति र पञ्चशीलको सिद्धान्तलाई धुलिसात् पारिएको छ । किनभने नेपाली नेताका नाममा अरुकै लागि काम गर्ने कतिपयहरु उत्तर झुकाउ, दक्षिण झुकाउ, दुबैतर्फ झुकाउ, पश्चिमा झुकाउ र अमेरिका झुकाउको तँछाड् मछाड् दौडमा बिभक्त छन्। परदेशको दलाली हाम्रो चरित्र र व्यबहार बनिसकेको छ।
नयाँ नागरिकता बिधेयकको बिरोध शुरु गरेका छन् अर्काथरी लेण्डुपेहरुले। राष्ट्रिय हित र राष्ट्रिय सुरक्षाको पक्षमा तयार भएको यो बिधेयकको बिरोध गरेर बिदेशी मालिक रिझाउनु र मुलुकलाई फिजिकरण मोडलमा तीब्र रुपान्तरण गर्नु यी लेण्डुपेहरुको गुह्य योजना अब घाम जस्तै छर्लङ्ग भइसकेको छ। स्वाभिमान र पवित्र मातृभूमिमा यति धेरै देश बेच्ने धमिराहरुको ओइरोपहिरो कसरी ? अनुसन्धान र अभिलेख राख्न जरुरी छ।
खोई राज्य ?
अहिले चाहिएको हो कल्याणकारी राज्य। राज्यले यस्तो कल्याणकारी कामको अवसर बिरलै प्राप्त गर्दछ। तर कल्याणकारी राज्यको कुरा परै जावस् एउटा संबेदनशील, जिम्मेवार र त्यूनतम् जवाफदेही सरकारको नाम निशाना फेला पारेनन् महामारीका पीडकहरुले संकटको घडीमा।
पीडितहरुमाथि राज्यले देखादेखी दोहन र शोषण गरिरह्यो। महामारीमा समेत चरम भ्रष्टाचार मौलाउनु कति निकृष्ट र असंबेदनशील कुरा हो? प्रशासनको सेटिंगमा रु. १५ हजारमा हजारौंहजार मान्छे काठमाडौं प्रबेश गरिरहेका छन्। सोही रकमको मोलतोलमा मानिसहरु निर्वाध इच्छाएको ठाउँमा आवतजावत् गरिरहेका छन्। क्वारेन्टाइनको अवस्था हेरिनसक्नुको छ कतिपय ठाउँहरुमा।
आफ्ना नागरिक घर फिर्ताको काम बिलम्ब त भयो नै, अहिले ती श्रमिकहरुमाथि उच्च भाडादर लगाएर लुटपाट मच्चाइएकोछ । अर्थतन्त्र, कृषि, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, आपूर्ति, रक्षा, बन, पर्यटन, परराष्ट्र मन्त्रालयहरुको यति धेरै निश्क्रियता, निरिहता र अप्रभावकारिता ईतिहासमा पहिलोपटक देखिएको हो। जुन् बिडम्बनापूर्ण छ।
भविष्यको संकेत
महामारी र युद्धलाई बरदान मानेर कमाउधन्दामा तल्लीन सबै शासकहरुको खराब चरित्रले नेपाललाई कहाँ पुर्याउला एकीन गर्न कठिन छ। तर जुनसुकै दल बिशेषका सबै शासकहरुले राष्ट्रिय ढुकुटी रित्याउने, मतदाताहरुलाई गिज्याउने तथा भकुण्डो खेल्ने र अन्तमा असफल अथवा असामथ्र्य साबित गरी मुलुकलाई परदेशी मालिकसामु बुझाउने लेण्डुपेहरुको रोडम्याप् बुझ्न बिलम्ब गर्नुहुँदैन।
लेण्डुपेहरु सच्चिने र सुध्रिने सम्भावना १ रत्ति पनि देखिँदैन। आर्थिक परनिर्भरता, फिजिकरण, राजनीतिक र सैनिक हस्तक्षेप, सीमा अतिक्रमण, मिलिजुली भागवण्डा भावी नेपालका मार्गचित्रहरु हुन् लेण्डुपेहरुले कोरेका।
राजनीतिक, आर्थिक सामरिक र रणनीतिक दृष्टिकोणले नेपाललाई अपरिहार्य र अति आवश्यक एमसीसी बिफल बनाउने र टाढा दूरीमा रहेको ऐतिहासिक स्ट्राटेजिक पार्टनर अमेरिकासँगको सम्बन्ध बिच्छेद गरेर मुलुकलाई अरु अँधेरो आइसोलेसनमा लैजाने देशद्रोहीहरु राष्टवादको खोल ओडेर सम्मानित भइरहेका छन्।
उनीहरुको खतरा फाष्टट्रयाक रोडम्याप बुझेर मुलुकलाई उद्धार गर्न मतदाताहरुले उपयुक्त बिकल्पको पहिचान र अनुकरण गर्न बिलम्ब गर्नु हुँदैन।बिदेशी भूमिमा जन्मे हुर्केका र बिदेशी नुन खाएर बिदेशी मालिकका सेवामा त्वम शरणम् गर्ने दलाल पार्टी र तिनका नेताहरुबाट जनहित, राष्ट्रिय हित र राष्ट्रिय सुरक्षाको आशा राखेर अमूल्य समय गुजार्ने र मुलुकलाई अस्तित्वहीन हुन्ज्यालसम्म रमिते भई हेर्ने हामी मतदाता नागरिक सबैभन्दा धेरै दोषी छौं। ढिलो भएपनि अब आँखा खोल्ने हो कि?
बिकल्पहरु
इतिहासको लामो कालखण्डमा पटक पटक प्रयोग र बिफल भइसकेको आयातित नाम र बिल्ला बोकेका दल र ती दलका नेताहरु सच्चिने र सुध्रिने गुञ्जायस नभएको हुनाले उनीहरुले पश्चाताप र क्षमायाचना सहित विश्राम लिनु र कृषि क्रान्तिमा लाग्नु मनासिव हुनेछ।
राजनीतिक अफापको क्षतिपूर्ति कृषि अथवा माटोको सेवाबाट हुन्छ भन्ने सकारात्मक मान्यता राखून हालका राजनीतिक दलहरुले। राजनीतिक शुद्धिकरणको प्रयास जारी राख्ने स्वतन्त्रता छँदैछ।
पूर्वराजाले प्राप्त अवसरमा जनअपेक्षाअनुसार काम गर्न नसकेर विदा भएको इतिहास धेरै पुरानो छैन। संविधानको अक्षरश पालना गर्दै आएको नेपाली जनताको सच्चा सेवक नेपाली सेनासँग सत्ता संचालनको न अनुभव छ नत क्षमता र महत्वाकांक्षा। जनताको पूँजी त्यो अन्तिम शक्तिलाई दुरुपयोग नगरेर बचाइराख्नु हामी सबैको साझा दायित्व हुन्छ।
प्रजातन्त्रको बिश्वव्यापी अभ्यासभित्र जनताद्वारा, जनताको लागि मातृभूमिलाई शिरमा राखेर राज्य संचालन गर्ने नयाँ राष्ट्रिय चरित्र, सिद्धान्त र व्यबहारले ओतप्रोत नेतृत्व मुलुकको अवको बिकल्प हो। सरल, सालिन, परिश्रमी, इमान्दार र त्यागी श्रमिक र किसानहरुको देश नेपालमा किसान र श्रमिकहरु मिलेर बिलकुल नयाँ देश, काल, परिस्थिति र माटो सुहाउँदो मौलिक चरित्र बोकेको नेतृत्वको छनौट गर्नु आवश्यक छ।
स्वदेश फर्कनका लागि विदेशमा रहेका नेपालीहरुलाई कोभिड–१९ महामारीले अपूर्व अवसर दिएको छ। उनीहरुले पटक पटक फेल भइसकेका दलहरुको पुनः झण्डा बोक्ने गल्ती दोहोर्याउनु भन्दा नयाँ मातृभूमिको खरो हित र रक्षागर्ने तथा जनहितको संकल्प पूरा गरेर सम्बृद्धि दिने गरी संगठित हुनु आवश्यक छ।
राष्ट्रिय राजनीतिसंग बितृष्णा जागेर हैरान भएको ठूलो स्वतन्त्र र तटस्थ समूह उत्साहित भएर जोडिने छ त्यो नयाँ बिकल्पमा। पूर्वराष्ट्रभक्त राष्ट्रसेवकहरु, निजामति कर्मचारी, सैनिक, लगायत सबै सुरक्षा निकायका पूर्वसुरक्षाकर्मीहरु समेत राष्ट्रिय योगदानको लागि कहीँ कतै समाहित हुन र त्याग गर्न अग्रसर हुन जरुरी छ। त्यो मातृभूमि र पीडित जनताको अपेक्षा र माग हो।
भ्रष्टाचारको ऐंजेरु जरादेखि काट्न र सुशासनको प्रत्याभूति दिन लाखौंको संख्यामा रहेका पूर्व कर्मचारीहरु तथा पूर्व गोर्खाजहरुको इमान्दार योगदान र त्यागले राज्यको चौतर्फी बिकास हुनसक्दछ। विश्वका धेरै देशहरुको काँचुली फेर्न सफल यो इमान्दार, अनुभवी र सशक्त शक्ति नेपालमा किन कुना कन्दरामा बिलिन छ? बुझिनसक्नु छ।
घोडा चढ्ने मान्छे लड्छ। लडेर पनि चेत् नखुलेका संकीर्ण र आत्मकेन्द्रित पूर्वराजादेखि प्रजातन्त्र र गणतन्त्रका खम्बा दावी गर्ने सबै दलहरुले आफ्नो बिकृत चरित्र र असफलतालाई आत्मसात् गर्दै नयाँ बिकल्प र निकासलाई स–सम्मान स्वागत र सहयोग गर्नुपर्दछ। पटक पटक पाएको अवसर र सहृदयी मतदाताहरुप्रति अनुग्रहित हुनुपर्दछ।
निचोड
दुई तिहाइको स्थायी सरकार गन्तव्यमा पुग्नुपर्दछ। स्थायी सरकारको स्थिर शासन जनताको तीब्र चाहना हो। नेपालका हितैषी मित्रराष्ट्रहरुको पनि अपेक्षा हो। राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षाको जग हो स्थिर राजनीति र स्थायी सरकार। फुटको संघारमा पुगेको पार्टी एकतालाई जोगाउनु र गन्तव्यमा पुर्याउनु सत्तारुढ पार्टीका सरकार र सरकार इतरका मान्छेहरुको धर्म र कर्म हो।
सीमा बिवादमा जुटेको राष्ट्रिय एकता र प्रदर्शित राष्ट्रबादको रक्षा गर्न समेत त्यो न्यूनतम आवश्यकता हो। लेण्डुपेहरुलाई निस्तेज पार्ने र किनारा लगाउने यो एक मात्र उपाय पनि हो। राष्ट्रिय सुरक्षाको जग बलियो बनाउने सूत्र पनि हो।
सुशासन प्रारम्भको प्रार्थना गरौं, तर भर नपरौं। र, संभावित बिकल्पको ढोका खोल्न सबैजनाले पहलकदमी र साहस लिऔं। नयाँ बिकल्पले नयाँ नेतृत्व खोज्नुपर्दछ। नेपाल र नेपाली जनता दुबै गर्वयोग्य, तेजस्वी लक्षणयुक्त र पराक्रमी छन्। गहिरो खाँचो केवल, खाँटी सक्कली राजनेताको मात्र हो।
नयाँ शासन अभ्यासले परनिर्भरताको अन्त्य गर्नुपर्दछ। बैदेशिक हस्तक्षेप शून्यमा झार्नुपर्दछ । आत्मनिर्भरता र स्वाबलम्बी बाटो पक्रिनुपर्दछ । कुशल कुटनीतिलाई मजबुत् गरेर सबैको सहयोग सदभाव र शुभेच्छा लिँदै छिटो सम्बृद्धिको गन्तव्यमा पुग्नुपर्दछ ।
आत्मनिर्भरताउन्मुख सम्बृद्धिमा उभिएको राष्ट्रबादमात्र दिगो र सक्कली राष्ट्रबाद हो। आन्तरिक राष्ट्रिय एकता मजबुत् गर्ने कडी हो। नेपालको वास्तविक रक्षा सेवा कल्याण गर्ने नयाँ बिकल्पको नविन प्रयोग अपरिहार्य छ।
Facebook Comment