स्वदेश फिर्ती : आज ११ सय ७९ नेपाली स्वदेश फर्किए, साउदीबाट ३ मृतक नेपालीको शव पनि ल्याइयो
काठमाडौँ । मंगलबार विभिन्न देशबाट ‘उद्धार’ उडानमार्फत १ हजार १ सय ७९ जना नेपाली स्वदेश फर्किएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार नेपाल एअरलाइन्सको उडानमार्फतल मलेसियाको क्वलालम्पुरबाट १४८, कुवेतबाट १४९ र साउदीको रियादबाट २५२ जना नेपाली स्वदेश फर्किएका छन् ।
त्यस्तै हिमालय एयरलाइन्सको उडानमार्फत साउदीको दमामबाट १५४ र यूएईको आवुधाबीबाट २ बच्चासहित १५७ जना स्वदेश फर्किएका छन् ।
आजै कुवेतमा आममाफी पाएका ३१९ नेपाली पनि स्वदेश फर्किएका छन् । उनीहरु जजिरा एयरका २ वटा जहाजमार्फत स्वदेश आएका हुन् ।
मंगलबार साउदीबाट आएका जहाजले वैदेशिक रोजगारीका क्रममा त्यहाँ ज्यान गुमाएका ३ नेपालीको शव पनि ल्याएको छ । नेपाल एयरलाइन्सको एयरलाइन्सले रियादबाछ १ र हिमाल एयरलाइन्सको जहाजले दमामबाट २ वटा शव ल्याएको हो।
सरकारले कोरोना संक्रमणका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेसँगै विभिन्न मुलुकमा रहेका नेपाली कामदार स्वदेश फर्किने क्रम जारी छ। भाेली पनि विभिन्न देशबाट अलपत्र नेपाली फर्कदैँछन् ।
Facebook Comment