आईजीपी नियुक्ति प्रधानमन्त्रीको ठाडो प्रस्तावमा, मन्त्री पुनले उठाए प्रश्न

डिसी नेपाल
२३ असार २०७७ २३:५२

काठमाडौं । नयां प्रहरी महानिरीक्षक पदको नियुक्तिका लागि गृहमन्त्रालयबाट प्रस्ताव नगई प्रधानमन्त्री स्वयंले मन्त्रिपरिषद्को बैठकमा ठाडो प्रस्ताव पेश गरेका छन् । प्रधानमन्त्रीको प्रस्तावअनुसार, बरिष्ठतम् एआईजीहरुमध्येबाट शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको महानिरीक्षक बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । तर, प्रधानमन्त्रीको ठाडो प्रश्नमा उर्जामन्त्री बर्षामान पुनले भने प्रश्न उठाएका थिए ।

मंगलबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकको औपचारिक कार्यसूचिमा गृहमन्त्रालयको तर्फबाट आईजीपी नियुक्तिसम्बन्धी प्रस्ताव उल्लेख छैन । अन्य विभिन्न मन्त्रालयका विभिन्न प्रस्तावहरु उपर छलफल भएपछि प्रधानमन्त्री ओलीको ठाडो प्रस्तावका रुपमा मुख्यसचिव लोकदर्शन रेग्मीले एआईजी शैलेश थापा क्षेत्रीलाई नेपाल प्रहरीको आईजीपी नियुक्ति गर्ने निर्णय भएको विवरण पढेर मन्त्रीहरुलाई सुनाएका थिए । उनले प्रस्तावसहितको निर्णय पनि सुनाएपछि उर्जामन्त्री बर्षामान पुनले त्यसबारे प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए ।

उनले कार्यसम्पादन मूल्यांकन के कस्तो हो र त्यसका आधारमा आईजीपी नियुक्त गर्नुपर्ने हो कि होइन भन्ने प्रश्न गरेका थिए । प्रचण्डपक्षधरहरु शैलेश थापा क्षेत्रीको कार्यसम्पादन अर्का एआईजी हरि पालको भन्दा कमजोर रहेको भन्दै प्रश्न उठाउंदै आएका थिए । र, यही आधारमा पाललाई आईजीपी बनाउनु पर्ने जिकिरमा थिए ।

समाचारअनुसार, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनको टिम अर्का एआईजी हरि पाललाई आईजीपी बनाउने तयारीमा थियो । स्रोतका अनुसार, प्रचण्ड र उनीपक्षीय नेताहरुले पाललाई आश्वासन पनि दिएका थिए । यसबारे गृहमन्त्री रामबहादुर थापा बादलसंग प्रचण्डले कुरा पनि गरेका थिए ।

गृहमन्त्री वादलले कोसिस गर्ने बताए पनि मन्त्रिपरिषद्को बैठकमा प्रचण्डको इच्छाविपरित शैलेश थापाको प्रस्ताव आउंदा गृहमन्त्री थापा मौन बसेका थिए । उनले बर्षामान पुनले जस्तो कुनै प्रश्न प्रधानमन्त्रीलाई गरेनन् । स्रोतका अनुसार, मन्त्रिपरिषद्को बैठक बस्नुअघि गृहमन्त्री थापा र प्रधानमन्त्री ओलीबीच नयां आईजीपी नियुक्तिबारे छलफल भएको र थापाको नाममा सहमती भएको थियो । तर, गृहमन्त्रालयबाट प्रस्ताव गर्दा प्रचण्ड गृहमन्त्री थापा बादलसंग झन् आक्रोशित हुने भएकाले दुबैको सल्लाहमा ठाडो प्रस्ताव पेश गरिएको हो ।

मन्त्रिपरिषद्को बैठकमा गृहमन्त्री थापा बादलले केही बोल्लान् कि भनेर प्रचण्ड निकटका मन्त्रीहरुले कुरेका थिए । तर, उनले केही नबोलेपछि बर्षामान पुनले प्रधानमन्त्रीको प्रस्ताव र निर्णयमा प्रश्न उठाएका थिए । तर, बर्षामानको प्रश्नलाई प्रधानमन्त्री ओलीले गम्भीरतापूर्वक लिएनन् । उनले कार्यसम्पादन मूल्यांकनको सबै कुरा हेरेर नयां आईजीपी नियुक्तिको प्रस्ताव ल्याएको हो भनेर पुनलाई जवाफ दिएका थिए ।

आईजीपी नियुक्तिसम्बन्धी प्रस्ताव मंगलबारको मन्त्रिपरिषद् बैठकको अन्तिम एजेण्डा थियो । यसबारे निर्णय भएको सुनाउंदै बैठक समाप्त भएको घोषणा गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *