चुनौतीकाबीच चीनका लागि नवनियुक्त नेपाली राजदूत पाण्डे बेइजिङ जाँदै

डिसी नेपाल
२४ असार २०७७ २३:४८

काठमाडौं। चीनका लागि नवनियुक्त राजदूत महेन्द्र पाण्डेले बिहीबार कार्यभार सम्हाल्न बेइजिङ जान लागेका छन्। बिहीबार चार्टर्ड उडानमाफर्त पाण्डे बेइजिङ जान लागेको परराष्ट्र सम्बद्ध स्रोतले जानकारी दिएको छ।

पाण्डेले कार्यभार सम्हाल्नै लाग्दा नेपालको आन्तरिक राजनीतिमा चिनियाँ चासो बढेको देखिन्छ। काठमाडौंसिस्थत चिनियाँ राजदूत होउ यान्छी पछिल्ला दिनहरुमा नेपालमा सक्रियता देखाएकी छन्।

सत्तारुढ दल नेकपामा विवाद भइरहेका बेला चिनियाँ राजदूतको सक्रियताले नेपालमा चीन पनि माइक्रोम्यानेजम्यान्टको तहमा सक्रिय भएको भन्दै विवाद भइरहेको छ। यस्तो अवस्थामा चीन जान लागेका राजदूत पाण्डेको दुई देशको सम्बन्धमा थप विश्वासिलो बनाउनुपर्ने जिम्मेवारी छ। नेपालको राजनीतिमा भारतीयहरुको चासो बढि देखिएपछि नेपालमा भारतविरुद्ध जनभावना नकरात्मक रुपमा बढेको छ। अहिले चीनको भूमिका पनि भारतको जस्तै भन्दै राजदूत होउको भूमिका विवादमा परेको छ।

राजदूत होउले नेकपामा विवाद भइरहेका बेला नेकपा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालसँग भेट गरेकी थिइन्। यसअघि गएको वैशाखमा पनि नेकपामा विवाद हुँदा होउले नेताहरुलाई भेटेकी थिइन्।

नेकपा स्थायी कमिटीमा प्रधानमन्त्री ओलीको राजीनामा मागिएपछि नेकपामा विवाद भएको छ।

यहीबीचमा काठमाडौं भारतीय खुफिया एजेन्सीका एजेण्टहरु पनि सक्रिय रहेको चर्चा छ। उता भारत र चीनबीच पनि सम्बन्धमा तिक्तता आएको छ। यस्तो अवस्थामा नवनियुक्त राजदूत पाण्डे बेइजिङ जान लागेका हुन्।

तत्कालीन राजदूत लीलामणि पौडेललाई सरकारले फिर्ता बोलाएपछि पाण्डे राजदूतमा नियुक्त भएका हुन्। पाण्डे करिअर डिप्लोम्याट नभई राजनीतिक व्यक्ति हुन्। पाण्डे यसअघि परराष्ट्रमन्त्रीसमेत भइसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *