सभामुख सापकोटाको टोली लिएर बाह्रबिसे उडेको हेलिकोप्टर आकाशबाटै फर्कियो

काठमाडौँ । प्रतिकुल मौसमका कारण बाह्रबिसेका लागि सभामुख अग्नि प्रसाद सापकोटा सहितको टोली लिएर उडेको हेलिकोप्टर आकाशबाटै फर्किएको छ ।
बिहान ९ बजे बाह्रबिसेतर्फ उडेको हेलिकोप्टर लामो समयको प्रयास गर्दा पनि अवतरण गर्न नसक्ने अवस्था आएपछि फर्किन बाध्य भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।
उनले डिसी नेपालसँग भने, “समामुख सापकोटा ज्यू सहित हामी काठमाडौँबाट ९ बजे बाह्रबिसेतर्फ हिँडेका थियौँ । धेरै समय कुर्दापनि वातावरण अनुकुलता नभएपछि फर्किन बाध्य भयौँ । अहिले त्रिभुवन विमानस्थलमा आएर मौसमको प्रतिक्षामा छौँ ।”
सिन्धुपाल्चोकको बाह्रबिसेमा राति १२ बजेदेखि आएको बाढीले ठुलो क्षति पुर्याएको छ । उक्त बाढीमा परी बेपत्ता भएका दुई जनाको शव फेला परेको छ। सभामुख सापकोटा गृह जिल्ला समेत रहेको सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्र बाह्रबिसेमा सहयोग र छफललका लागि निस्किएका थिए ।
यसअघि उक्त बाढी क्षेत्रमा उद्धारका लागि कैलाश एयरको हेलिकोप्टर गएको भएपनि मौसमकै कारण अवतरण हुन सकेका थिएन । उक्त बाढीमा परी अझै १८ जना स्थानीय बेपत्ता भएका छन् भने बाढीले बाह्रबिसे जम्बुका १५ घर बगाएको छ।
Facebook Comment