जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले औपचारिक रुपमा राजनीतिक दलको मान्यता पाएको छ । जसपा निर्वाचन आयोगमा दर्ता भएसँगै नयाँ दल बनेको हो ।
आयोगको बुधबार बसेको बैठकले जसपा दर्ता गर्ने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। जसपालाई दल दर्ताको प्रमाणपत्र लिन शुक्रबार बोलाइएको बताइएका छ। गत वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भई जसपा गठन गर्ने सहमति भएको थियो । एकीकरण घोषणा भएको जसपाले दल दर्ताका लागि जेठ २५ गते आयोगमा आवश्यक कागजात बुझाएको थियो ।
जसपाका नेता केशव झाले आयोगमा आधिकारिक रुपमा दल दर्ता भएपछि पार्टी एकीकरणका बाँकी काम अघि बढाइने बताए। आयोगमा अहिले १ सय ३२ राजनीतिक दल दर्ता भएका छन् । दुई पार्टी राजपा र समाजवादी पार्टी एकीकरण भएपछि अब आयोगमा दर्ता भएका १ सय ३१ दल हुनेछन् ।
जसपाको सहमतिअनुसार पार्टीको केन्द्रीय कार्यकारिणी समिति अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन्। पार्टीका वरिष्ठ नेतात्रयमा अशोककुमार राई, डा बाबुराम भट्टराई र राजेन्द्र महतो रहेका छन्। तत्कालका लागि ३० सदस्यीय कार्यकारिणी सदस्य घोषणा गरिएको छ।
Facebook Comment