नेकपा : सडक प्रदर्शन रोकेर वार्तामा बस्न दोस्रो पुस्ताका नेताहरुको आग्रह
काठमाडौं। सत्तारुढ दल नेकपामा देखिएको विवाद समाधानका लागि पार्टीका दुई अध्यक्षबीच वार्ता हुनुपर्नेमा दोस्रो पुस्ताका नेताहरुले जोड दिएका छन्। बिहीबार कृषि विकास तथा पशुपंक्षी मन्त्री घनश्याम भुसालको अग्रसरतामा भएको दोस्रो पुस्ताका नेताहरुको छलफलमा विवाद समाधानका लागि दुई अध्यक्षबीच वार्ताका लागि वातावरण बनाउने निश्कर्ष निकालिएको छलफलमा सहभागी स्थायी कमिटी सदस्य मणि थापाले जानकारी दिए।
उनले डिसी नेपालसँग भने, ‘हामी ११ जना बसेर छलफल गरेका छौं। विवाद बढाउने गतिविधि रोक्न आग्रह गर्ने कुरा भयो। सडकमा प्रदर्शन भइरहेको छ, पार्टी कार्यालयमा धर्ना छ, यी सबै रोक्नुपर्छ भन्ने हाम्रो निश्कर्ष रह्यो।’
उनले छलफलमा आरोप प्रत्यारोप र प्रदर्शन रोक्नुपर्नेमा पनि छलफल भएको जानकारी दिए। उनले दुई अध्यक्षबीच वार्ता हुनुपर्ने र जसरी पनि पार्टी एकतालाई बलियो बनाउनुपर्नेमा सबै एकमत रहेको बताए।
उनले भने, ‘समय लिएर भए पनि दुई अध्यक्षले वार्ता गर्नु पर्छ। तर समयको सदुपयोग भने हुनुपर्छ। नत्र धेरै दिन यसलाई लम्ब्याउन सकिँदैन।’ छलफलमा मन्त्री भुसाल, पयर्टनमन्त्री योगेश भट्टराई, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहाकार विष्णु रिमाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी र मणि थापा सहभागी थिए।
यी नेताहरुले यसअघि पनि यस्तै छलफल गरेर पार्टीका दुई अध्यक्षहरुलाई विवाद समाधन गर्न सुझाएका थिए। नेकपाको जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिएपछि विवाद भइरहेको छ।
विवाद समाधानका लागि वार्ता गर्न भन्दै तीन पटक सारिएको स्थायी कमिटीको बैठक शुक्रबार बस्ने तय भएको छ। तर, बुधबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्षबीच भएको वार्ता सकरात्मक नभएपछि दुई अध्यक्षबीचको वार्ता नै अश्चित बनेको छ।
Facebook Comment