त्यो बेला पनि भारतको इशाराको खुबै कुरा सुनिन्थ्यो

डिसी नेपाल
२७ असार २०७७ ८:५२

२००७ सालको जनक्रान्तिले राणा परिवारको एकतन्त्रीय जाहानियाँ शासनलाई समाप्त पारिदिएपछि लाग्छ १७ थुम लिम्बूवानमध्ये आठराई क्षेत्र सबैभन्दा बढी हौसिएको थियो होला। कारण, आठराईबासी क्षेत्री बाहुनहरुले क्रान्तिको समयमा निकै नै सास्ती भोगेका थिए। क्रान्तिका निहुँमा लिम्बूहरुद्वारा उनीहरुका बिरुद्धमा मच्चाइएको लुटपाट निकै पीडादायी थियो।

तर यथासमयमा सोचेभन्दा चाँडो दुबै समूहवीच समझदारी कायम भई मेलमिलाप हुन सकेको कारणले समग्र आठराईको बातावरण उल्लासमय बन्दै गयो। सर्वप्रथम शिक्षाको क्षेत्रमा पुरै आठराई एकोहोरो भएर लाग्यो। फलस्वरूप गाउँ गाउँमा धमाधम स्कुलहरु खुल्न लागे।

चुहाण्डाँडा , मुल्पनी,ईवा, पोखरी र हाङपाङ गाउँका प्रबुद्ध व्यक्तित्वहरुले शिक्षा नै समाज परिवर्तनको महत्वपूर्ण कडी हो भन्ने बुझेर केही बर्षमै चारवटा हाईस्कुल सन्चालनमा ल्याइसकेका थिए।

गाउँहरुमा प्राइमरी र मिडिल स्कुल स्थापना गर्ने भन्नेबाहेक अरु बिषयमा खासै केही चर्चा परिचर्चा हुँदैन थियो । स्कुल स्थापना गर्नु र सरकारबाट स्कुलको स्वीकृति गराउनु नै मुख्य उद्देश्य रहन्थ्यो। भनौँ एक प्रकारले आ आफ्नो गाउँमा प्राइमरी स्कुल स्थापना गर्न गाउँ गाउँका बीच होडबाजी नै चलेको थियो।

२००७ सालपछि आठराईको संक्रान्ति मुलपानीमा एउटा पुलिस चौकी र हुलाक अफिस खड़ा गरिएको थियो । अमाली प्रथा कायमै थियो। जसले पन्च खÞत (ज्यान सम्बन्धी, गाथगादि ,खेटाटक, गौवध र हाडनाता) बाहेकका अन्य मुद्धा मामालाका सम्बन्धमा न्याय निरुपणको काम गरेर समाजलाई ब्यवस्थित गथ्र्याे। अरु कुनै सरकारी कार्यालयहरु स्थापना भएका थिएनन्। हुलाकीले ल्याउने र लैजाने चिट्ठी मात्रै समाचार थाहा पाउने एकमात्र साधन थियो।

२०११ सालमा चुहाण्डाँडामा वेदनिधि सिटौलाले काठमाण्डूबाट ल्याएको रेडियो नै सायद आठराईमा ल्याइएको पहिलो रेडियो थियो होला। हामी केटाकेटीले हाम्रो दोकान(पसल) घरमा पहिलो पटक रेडियोबाट मानिसको आवाजÞ सुन्दाको क्षण ज्यादै उल्लासमय थियो।

पसल घरको तलामाथि हामी ५ घरका १५ जना जति विद्यार्थीहरु भेला भएर पढ्ने र त्यहीँ सुत्ने गर्थ्यौँ। त्यो बेला बेलुका ८ र ९ बजेको समयमा हामीहरु प्राय दैनिकजसो रेडियो सुन्न पाउँथ्यौं। रेडियोबाट समाचार र गीतहरु सुन्न पाउँदा हामी निकै गौरव महसुस गर्थ्यौं। श्री ५ त्रिभुवन स्वर्गवास भएपछि श्री ५ महेन्द्रले रेडियो नेपालबाट देशवासीका नाममा दिएको शोक सन्देश त्यही रेडियोबाट हामीले सुनेका थियौँ।

गाउँको समाजमा राजनीतिको खास कुनै चर्चों चलेको सुनिदैन थियो। कांग्रेस पार्टीको नाम सुनिन्थ्यो। नेताहरुमा विश्वेश्वरप्रसाद कोइराला ,मातृकाप्रसाद कोइराला, टंक प्रसाद आचार्य, डाक्टर के आइ सिँह को नाम सुनिन्थ्यो।

गाउँमा शिक्षाक्षेत्रमा बाहेक अन्य कुनै पनि क्षेत्रमा कुनै प्रकारको परिबर्तनको कुनै चहल पहल नै थिएन। समाज ०७ सालपूर्व जस्तो थियो प्राय त्यस्तै नै थियो। लत्ता कपडा, मर मसला, नुन, मट्टितेल किताब कापी कलम आदि शैक्षिक सामाग्री धरानबाट खरिद गरेर पाहाडमा ल्याई बेच्ने चलन भने बढ्दै जान थालेको थियो। यस अलावा स्कुल भवनहरुको निर्मार्णले गर्दा गाउँलेहरुमा थोरबहुत आय आर्जन पनि हुन थालेको थियो। भनौँ गाउँले समाज बिस्तारै बिस्तारै आर्थिकरुपमा चलायमान हुँदै गएको हो कि जस्तो लाग्थ्यो।

नेपालको आजको ‘नेपाल कम्युनिष्ट पार्टी’ को इतिहासको जरा खोतल्दै जाने हो भने मुल जरोको टुप्पो भेट्न आठराईमा नै पुग्नु पर्दछ । नेपाल कम्युनिष्ट पार्टीका जन्मकालका नेतालाई छुट्याएर हेर्ने हो भने बर्तमान नेकपाका लगायत नेकपा माले , नेकपा मार्क्सवादी र नेकपा एमालेका अधिकाँस नेताहरुको जन्मस्थान आठराई नै हो र आधुनिक नेपाली कम्युनिष्टहरुको उर्बर स्थल पनि आठराई नै हो। पछि समय क्रमसँगै धनकुटा, सँखुवासभा (चैनपुर) ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङमा बिकसित भएको पाइन्छ।

जनताले आफ्नो अधिकार के हो भन्ने बुझ्न थालेपछि बिस्तारै राजनीति प्रति चासो र चाख बढ्दै जाने हो। तर जबसम्म गाँस बास र कपडाको समस्याले सताइरहन्छ तबसम्म हकÞ अधिकार भन्नेतर्फ न चासो न इन्छा नै हुन्छ। कतिपय कामकुराहरु समय स्वयमले मानिसलाई दिँदै जाँदो रहेछ।

समयका कारण मानिसले चाहाना नै नराखेको चीज बस्तु पनि प्राप्त गर्दो रहेछ। यस्तै प्राप्ति थियो नेपालको २००७ सालको जनक्रान्ति। खासै भन्ने हो भने नेपाली समाज २००७ सालको जनक्रान्तिका लागि पूर्णरुपमा तयार थिएन। राजा दिल्लीको शरणमा जानु नै जनतालाई राणाका बिरोधमा उत्रनुपर्ने प्रमुख कारण साथै आधार बन्न गयो। साँच्चै भन्ने हो भने त्यति ठूलो सँघर्ष नगरीकनै राणा सरकारलाई जनताले समाप्त पारेका थिए।

राणा सरकारका बिरोधमा गोप्यरुपमा संचालन गरिएको प्रजापरिषदनामक सँगठनको पर्दाफÞास भएपछि राणा सरकारले सो संगठनलाई निर्ममतापुर्वक समाप्त पारिदियो। त्यसको जनशक्तिलाई बालखमै हत्या गरियो। प्रजापरिषदबाट पाठ सिकेर काँग्रेस पार्टी र कम्युनिस्ट पार्टी गठन गरिए। राजा र कांग्रेसको मिलिभगतको सुईँको राणासरकारले पाउन नसक्नु नै राणासरकारको पतनको आन्तरिक कारण बन्न पुग्यो।

बिस्तारै आठराईका मानिसहरुमा आफ्नो हकÞ अधिकारप्रति चासो बढ्दै जान थाल्यो । फलस्वरुप चुनावका कुराहरु चल्न सुरुभयो। हर्ताकर्ता काँग्रेस पार्टीकै चर्चो सुनिन्थ्यो। चुनावको चहलपहल शुरु भयो। पुरै आठराई काँड्ग्रेसमय थियो। नेपालमा त्यसबेला प्रशासनिकरुपमा ३६ जिल्लामात्र कायम थिए। आठराई छेत्रका जनताका कतिपय कामहरु तेह्रथुम म्याङलुङमा भएको सरकारी कार्यालय र कतिपय कामहरु ताप्लेजुङ्गको अमिनी अड्डाबाट गरिन्थ्यो।

पार्टीका नेताहरु र राजाका बीचमा निर्वाचन संविधान सभाका लागि गर्ने कि प्रतिनिधि सभाका लागि गर्ने सम्बन्धमा टुंगो लाग्न नसकिरहेको अबस्थामा श्री ५ त्रिभुवनको स्वर्गवास भएकोले चुनावको उद्देश्य अलमलमा पर्न गयो।

संविधान सभाका लागि निर्वाचन गराउनमा श्री ५ त्रिभुवनको सहमति थियो तर पछि श्री ५ महेन्द्रबाट त्यसलाई अस्वीकार गरिएको हुँदा अन्तत राजाले जारी गरेको संविधानबमोजिम प्रतिनिधि सभाका लागि निर्वाचन हुने भयो।

प्रतिनिधि सभामा १०९ जना जनप्रतिनिधिहरु रहने व्यवस्था गरी नेपाल अधिराज्यमा १०९ निर्वाचन क्षेत्र कायम गरिएको थियो। जसअनुसार आठराई, फेदाप र छथर इलाकÞालाई ७२ नं निर्वाचन क्षेत्र कायम गरिएको थियो।

नेपाली काँग्रेस पार्टीबाट फेदाप, तेह्रथुम म्याङलुङ निवासी तेजमान तुम्वाहाम्फे चुनाव चिन्ह रुखÞ , गोरखा परिषदबाट रणधीर सुब्वा चुनाव चिन्ह घर, स्वतन्त्र उम्मेद्वारको रुपमा आठराई ईवा निवासी काजीमान कन्दङ्गवा चुनाव चिन्ह माछा र स्वतन्त्र उम्मेद्वारकै रुपमा आठराई निघुरादिन निवासी गणेशबहादुर प्रसाईं चुनाव चिन्ह घोडा लिएर चुनावी मैदानमा खडा भएका थिए।

यो निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसकै पक्षका मतदाताको वर्चश्व थियो । तर गोरखा परिषद (जसलाई राणाहरुको पार्टी भनिन्थ्यो) का उम्मेद्वार रणधीर सुब्वा, नेकाँका उम्मेद्वारभन्दा धनी पनि साथै विद्वान पनि भएका हुनाले यदि आठराई क्षेत्रको भोट उनको पक्षमा एकोहोरियो भने उनले चुनाव जित्न सक्ने सम्भावना भएकोले आठराई क्षेत्रबाट लिम्बू र बाहुन समुदायबाट रणधीरको मत काट्ने उद्देश्बाट दुई जनालाई स्वतन्त्र उमेद्वार उठाइएको थियो।

यो दाउले गर्दा नेपाली काँग्रेसका उम्मेद्वारले चुनाव जितेका थिए। चुनाव प्रचारका समयमा गाइएका यी दुईवटा गितहरु निकै चल्तीमा थिए—
भोट माग्नु भोटर काँग्रेसको
रुखÞ चिन्ह नेपाली काँग्रेसको
माछालाई भोट दिए पानीमुनि लुक्छ
घोडालाई भोट दिए दौड़ी नेपाल पुग्छ।।

२०१५ साल फागुन ७ गतेका दिन सुरु गरिएको निर्वाचन कार्य २०१६ साल वैशाख १६ गते सकिएको थियो। चुनाव अति नै उल्लासमय बाताबरणमा सम्पन्न भएको थियो।

सो पहिलो आमनिर्वचनमा नेपाली काँगे्रस, गोरखा परिषद, सँयुक्त प्रजा पार्टी, नेपाल कम्युनिस्ट पार्टी, प्रजा परिषद (मिश्र), प्रजा परिषद (आचार्य), नेपाल प्रजातन्त्रिक माहासभा, तराइ काँग्रेस, नेपाल राष्ट्रिय काँग्रेस र स्वतन्त्र उमेद्वारहरु सहभागी थिए। देशभरमा जम्मा उम्मेद्वार सँख्या ७८६, पार्टी सँख्या ९, नेपालको जनसँख्या. ०,५५,०००, मतदाता सँख्या ४२,४६,४६ थियो ।

यसमध्ये मतदान सँख्या १७,९१,३८० मात्र थियो। यो चुनावमा नेपाली काँग्रेसले ७४ सिट, गोरखा परिषदले १२ सिट, नेपाल कम्युनिष्ट पार्टीले ४ सिट, सँयुक्त प्रजा पार्टीले ४ सिटमा र बाँकी सिटमा अन्य पार्टी र स्वतन्त्र उम्मेद्वारहरुले विजयी भएका थिए।

२०१५ सालको आमनिर्वाचनमा आठराईमा पार्टीको तर्फबाट उम्मेद्वारसम्म उठाउने हैसियत नभएको कम्युनिष्ट पार्टीले २०३० साल सम्मको १५ बर्षको अबधिमा कम्युनिष्ट राजनीतिमा मारेको छलाँग नेपालको बामपन्थी राजनीतिको इतिहासमा अपत्यारिलो, अनपेक्षित र बिश्वास गर्नै कठिन तर सत्य घटनाका रुपमा जीवन्त भएर रहेको छ।

कम्युनिष्ट राजनीतिमा सरोकार राख्ने सरोकारवाला महानुभावहरु, चिन्तकहरु, सर्वहारावादका विचारकहरु, वामपन्थी वुद्धिजिवीहरुले अवश्यै पनि अध्ययन चिन्तन मनन र खोजीनीति गर्नु भएकै होला भन्ठान्दछु।

आठराईमा आयातित भएको वामपन्थी राजनीति त्यति परिपक्क थिएन । बच्चैमा ल्याइएको हुँदा कच्चै त थियो नै साथै हुर्काउनलाई जिम्मा लिनेहरु पनि कच्चै थिए। तर जसरी भएपनि हुर्काउनु त थियो नै।

नेपाली काँग्रेसबाट आठराईमा शुरु भएको राजनीति लामो समयसम्म टिकिरहन सकेन। २०१७ पौष १ गतेको शाही कदमलाई आठराईका जनताले अस्वीकार गर्न सक्ने स्थिति नबनेको हुँदा बिरोध भएन। पुरै देशमा कहीँ कतै पनि राजाको सो कामको खुलेर बिरोध भएको सुन्नमा पनि आएन।जनस्तरबाट बिरोध हुन नसके पनि २०१८ सालमा कांग्रेसले सशस्त्र विरोध शुरु गरेको थियो।

यसै सिलसिलामा पुस महिनामा ताप्लेजुङ्ग जिल्लाको सदकरमुकाम फुङलिङमा नेपाली कांग्रेसका फौजले हमला गरी केहि सरकारी कार्यालय जलाई दिएको हल्ला आठराईमा फैलिएको साथै आठराईबाट ताप्लेजुङ्ग र पाँचथरतिर आवत जावत गर्ने तमोर नदीमा बनेका दुले दोभानको पुल ,खडकुलेको पुल, लिम्बूनी पुल , सिटौला पुललाई नष्ट गरेर शाहीसेनालाई तमोर नदी पश्चिमतिरै रोक्ने र अनुकुल समय पारी आठराई संक्रान्तिमा रहेको पुलिस ठानामा हमला गरी तेह्रथुम हान्ने दाउमा रहेको कांग्रेसी सेना( सरकारले उनीहरुलाई अराष्ट्रिय तत्व भन्ने गरेको थियो) ले आठराईबाट पारि पाँचथर को अम्मरपुर जाने तमोर नदीको लिम्बूनी झोलुंगे पुलमा आगो लगाई बिगारिदिए ।

२०१८ माघ १ गतेका दिन आठराई संक्रान्ति ठानामा हमला गरि ठानालाई नियन्त्रण लिई तेह्रथुम म्याङलुङ सर गर्ने दाउमा रहेको काँग्रेसी सेनाको दाउ पहिल्यै थाहा पाउन सफल ठानेदार कर्मकुमार राईले १ गतेका दिन लाग्ने बजार लाग्नै नदिएर उनीहरुको योजना बिफल बनाइ दिएका थिए।केही समयपछि नेपाली काँग्रेसले सशस्त्र क्रान्ति बन्द गरेको थियो।

यसरी नेपाली काँग्रेसले शुरु गरेको सशस्त्र बिद्रोहले पूर्वी पाहाडमा उचाइ लिँदै गरेको अबस्थामा अचानक बिद्रोह बन्द हुनुमा चीनसँग भारतको युद्ध शुरु हुनाले गर्दा हो भन्ने सुन्नमा आएको थियो। भारत सरकारको अप्रत्यक्ष सहयोगमा शुरु गरिएको विद्रोह भारतकै सल्लाहबमोजिम पछि उपयुक्त समयमा सहयोग गरिने भनी भारतले काँग्रेसलाई सशस्त्र क्रान्ति रोक्न लगाएको हो भनिन्थ्यो।

२०१९ सालमा नयाँ संविधान जारी गरी देशमा पन्चायत व्यवस्था लागु गरियो । आठराईलाई १५ वटा गाउँ पन्चायतमा बिभाजन गरी जनप्रतिनिधिद्वारा विकास निर्माणका काम गर्ने योजना बुन्न थालियो । १५ वटै गाउँ पन्चायतमा प्रधानपन्च, उपप्रधान पन्च, वार्ड अध्यक्ष र ४ जना सदस्य भएको गाउँ पन्चायत गठन गर्ने कार्य सम्पन्न गरियो । गाउँमा संविधानबमोजिम पन्चायती ब्यवस्था पूर्णरुपमा लागू भयो । नयाँ नयाँ स्कुलहरु खुल्दै गए।

सम्पूर्ण आठराईबासी प्राय काँग्रेस समर्थक नै भए पनि सबैले पन्चायतलाई स्विकारेकाले राजनैतिक तनाव सतहमा देखिएन। गाउँ घरका ठूलाबडा नै प्रधानपन्च र अन्यपदका निर्बिरोध पन्चहरु भए । राजनीति दलबिनाको राजनीतिमा सहजरुपमा समाज चल्दै गयो।

समाजको सतहको राजनीति सिधा नै देखिन्थ्यो र थियो पनि सिधै। तर समाजको भित्रि तहमा भने राजनीति बांगो टिंगो बाटोमा लागेको थियो। आठराईका हाईस्कुलबाट एसएलसी परीक्षा पास हुनेको सँख्या बर्षेनि बढ्दै थियो। केही बाहिर पढ्न जान्थे केही त्यहीं वीरेन्द्र इन्टर कलेजमा पढ्न शुरु गर्थे । केही गाउँकै स्कुलमा पढाउने काममा लाग्थे। केही भने आफ्नै घर व्यवहारमा अलमलिन्थे। एसएलसी फेल हुनेहरुको सँख्या पनि बर्षेनि बढ्दै थियो। गाउँमा सरकारले रोजगारका निमित्त कुनै योजना सन्चालन गर्न पनि सकेको अबस्था थिएन।

गाउँ गाउँमा अर्धशिक्षित युवाहरुको जमात हरेक बर्ष बढ्दै गएको थियो। एसएलसी फेल भएका, पास भएका, आईए फेल भएका, पासभएका युवाहरु अलपत्र पर्दै जान थाले। केही पढ़ेलेखेका छन्। खेती किसानी गर्न लाज लाग्छ। मन मान्दैन। यही धरातलबाट शुरुभएको पाइन्छ आठराईका युवाहरुमा वामपन्थी राजनीतिको यात्रा।

नेपालको आजको ‘नेपाल कम्युनिष्ट पार्टी’ को इतिहासको जरा खोतल्दै जाने हो भने मुल जरोको टुप्पो भेट्न आठराईमा नै पुग्नु पर्दछ । नेपाल कम्युनिष्ट पार्टीका जन्मकालका नेतालाई छुट्याएर हेर्ने हो भने बर्तमान नेकपाका लगायत नेकपा माले , नेकपा मार्क्सवादी र नेकपा एमालेका अधिकाँस नेताहरुको जन्मस्थान आठराई नै हो र आधुनिक नेपाली कम्युनिष्टहरुको उर्बर स्थल पनि आठराई नै हो। पछि समय क्रमसँगै धनकुटा, सँखुवासभा (चैनपुर) ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङमा बिकसित भएको पाइन्छ।

२०२८ सालमा बामपन्थीहरु द्वारा झापामा चलाइएको वर्गशत्रु सफाइ अभियानका नाममा भारतको पश्चिम बंगालको नक्सालबाढीमा उग्रवादी कम्युनिष्ट नेता चारु मजूमदारको नेतृत्वमा सन्चालित नक्सलाइट मुभमेन्टबाट प्रभावित भएर आठराईबाट झापा बसाइ सरेका केही शिक्षित र अर्धशिक्षित युवाहरुद्वारा आठराई कालिपा घर भई झापा निवासी विष्णुप्रसाद विमली र आठराई नेस्सुम निवासी ईश्वरीप्रसाद चुडाल साथै झापा निवासी धर्मप्रसाद ढकाल र कलेज पढ्दै गरेका उनका १८–१९ बर्षका छोरा ज्ञानु ढकाल र झापा निवासी बुटन चौधरीको निर्ममतापूर्वक हत्या गरियो।

तर, त्यो घटनामा सम्लग्न पाँच जना युवाहरुले यस कार्यका बदलामा ज्यानै गुमाउनु परेको थियो भने अन्य धेरैले लामै समय जेल नेलमा र भूमिगत भएर जीवन बिताउनु परेको हुँदा यस उग्र कम्युनिष्ट गतिविधिले निरन्तरता पाउन सकेन।

नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासको पानामा झापा काण्ड अपरिपक्व एवँ अदूरदर्सी कार्यका रुपमा दर्ज भएर रहेको छ। यो घटना घटाउनु गलत थियो भनी सम्बन्धित व्यक्तिहरले आत्माआलोचना पनि गरेका छन्। झापाकाण्ड आठराईको वामपन्थी गतिबिधिसँग प्रत्यक्ष सरोकार राख्ने घटना हो भनेर मान्नेहरु पनि छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *