पासो (कथा)
त्यसदिन पनि बोको खोज्न भनी भगतेलाई साथमा लिएर एकाबिहानै घरदेखि निस्केको थियो बमबहादुर ।
बोकाको मोल दिनदिनै बढ्दै गएको थियो तर बोकाको मोल जति नै बढे तापनि बमबहादुरलाई वास्ता थिएन, कारण, बोकाको मोल जति नै तिर्नुपरे तापनि तिर्नको लागि विजयबहादुर छँदै थियो ।
बोकाको बढ्दो मोल सँगसँगै आफ्नै आम्दानी पनि बढ्दै गइरहेको हुनाले निश्चिन्त थियो बमबहादुर । विजयबहादुर पनि बडो गजबको मानिस थियो । वर्षभरिमा चारपाँच पटक आयो ऊ त्यस गाउँमा, तर ऊ जहिलेसुकै आउँदा पनि बोको काटेर बमबहादुरका इष्टमित्रलाई खुवाउने गर्दछ ।
बोको काटेको दिनमा बमबहादुरको घरमा रातभरि, रक्सी र जुवा चल्दथ्यो । खूब खुवाउँथ्यो विजयबहादुर रक्सी र मासु बमबहादुरका इष्टमित्रहरूलाई । ‘बमबहादुरको भतिजो विजयबहादुर जस्तो मनकारी मान्छे त खोजेर पाइन्न बा … पैसा पनि कति कमाएको रहेछ ! भनुँ जति नै खर्च गरे पनि नसकिने ।’ गाउँलेहरू विजयबहादुरको विषयमा कुरा गर्दथे ।
हुन पनि विजयबहादुरसँग बमहादुरको भेट नहुँदासम्म बमबहादुरको घरेलु अवस्था साह्रै नराम्रो थियो । घरको छानो धरी छाउन सकेको थिएन उसले । उसलाई र उसको परिवारलाई बिहान बेलुकाको छाक टार्न पनि धौ धौ पर्दथ्यो ।
बमबहादुरकी स्वास्थी हिममायाको नाककानको गहनासमेत जुवामा हारिसकेको थियो बमबहादुरले । प्रायः अठार उन्नाइस वर्षसम्म विदेशी सेनामा जागिर खाएपछि आप्mनो गाउँमा फर्केको बमबहादुरले आफ्नो शरीरमा भएको बल र बैँस जति उतै विदेशमा सिध्याएर आएको थियो ।
रक्सी र जुवा भनेपछि आँखा चिम्लेर अघि सर्दथ्यो बमबहादुर । त्यसै कारण घरमा भएका अलिकता भाँडाकुँडा पनि बेचेर सिध्याइसकेको थियो उसले ।
बमबहादुरकी पत्नी हिममाया र उसका तीन ओटा छोराछोरीहरूको दुर्गति थियो । तै हिममाया जाँगरिली भएकी हुनाले जसोतसो घर चलेको थियो ।
वर्षमा एकपटक पेन्सन बुझ्नको निम्ति गोरखपुर जाने गरेको थियो बमबहादुर तर पेन्सन थापेर घर फर्कंदा बमबहादुरको खल्ती रितिइसकेको हुन्थ्यो ।
बमबहादुरको दाइ हुमबहादुर उहिल्यै तन्नेरी छँदै आफ्नै गाउँमा बस्ने सन्तवीरकी स्वास्नीलाई भगाएर विदेश पसेको र वर्षौं बितिसक्दा पनि ऊ गाउँ नफर्केको कुरा गाउँलेहरू सबैलाई थाहा थियो । सन्तवीरको स्वास्नीले भएभरका गरगहना र नगदी पैसा सबै कुम्लो पारेर हुमबहादुरसँग पोइल गएकी थिई रे ।
युवकको चालढाल, बोलीचाली निकै राम्रो लागेको थियो बमबहादुरलाई । त्यस युवकले आफ्नो नाम विजयबहादुर बताएको थियो । विजयबहादुरसँग केहीबेर कुराकानी गरेपछि आफू बिखर्ची भएर घर फर्कन नसकेको कुरो भनेको थियो बमबहादुरले उसँग ।
‘मैले भेटेँ भनी ती दुवैको घाँटी नछिनाई छोड्दिनँ’ भन्दै निकै वर्षसम्म कम्मरमा खुकुरी भिरेर हिँड्थ्यो रे सन्तवीर, तर पोइल गएकी स्वास्नी र जारको घाँटी छिनाउने प्रतीक्षा गर्दागर्दै केही वर्षपछि आफू नै कालको गाँस हुन पुगेको थियो रे सन्तवीर ।
बमबहादुरले दाजुको भागमा परेको खेत पनि जुवामा सकिसकेको थियो ।
‘रक्सी र जुवाले आजसम्म कसैलाई उँभो लगाएको छैन, यो कुलत छोडिदिनुहोस्’ आँखाबाट बरबरती आँसु खसाल्दै भन्ने गर्दथी हिममाया आफ्नो पतिलाई तर बमबहादुरले भने स्वास्नीले भनेको कुरालाई टेरपुच्छर लाउँदैनथ्यो ।
एक वर्ष अघिको कुरो हो । बमबहादुर पेन्सन बुझ्न गएका अरु दुई तीन जना गाउँलेहरू आआफ्नो पेन्सन बुझिवरी माघ महिना सकिँदा नसकिँदै घर फर्किसकेका थिए तर बमबहादुरको अत्तोपत्तो थिएन ।
बमबहादुर सँगै गोरखपुर गएका ती गाउँलेहरू फर्केर गाउँमा आएपछि हिममायाले आफ्नो लोग्नेको विषयमा सोध्दा ‘खै पेन्सन बुझेपछि उनी कतातिर लागे, हामीले भेट्दै भेटेनौँ’ भन्ने जबाफ पाएकी थिई ।
केही दिनपछिको कुरा हो, हिममाया मनमा अनेक थरिका कुरा खेलाउँदै बारीमा काम गर्दै थिई, एक्कासी ‘ए आमै आमै ! बा आए । बासँग एउटा कुन्नि को हो मान्छे पनि आएको छ, भरिया पनि आएको छ भन्दै बमबहादुरकी एघार वर्षीय छोरी कमली दगुर्दै आमाको छेउमा पुगेकी थिई । ‘ए ! हो र … ’ भन्दै हिममाया छोरीको पछि पछि घर पुगेकी थिई ।
‘ल हेर, भतिजो केटोलाई लिएर आएको छु । बरा … मेरो कोही पनि छैनन् भनेर टुहुरो जस्तो भएर परदेशमा बसेको रहेछ’ स्वास्नीलाई भेट्नासाथ बमबहादुरले भनेको थियो । ‘यो तेरी कान्छी आमा हो’ आफूले भतिजो भनेर चिनाएको केटोतिर हेरेर हिममायातिर इंगित गर्दै भनेको थियो बमबहादुरले ।
‘अनि यी तेरा भाइ बहिनीहरू हुन्’ बाबुको साथमा आएको अपरिचित मानिसलाई टुलुटुलु हेरिरहेका आफ्ना तीनैओटा छोराछोरीलाई देखाउँदै फेरि भनेको थियो बमबहादुरले । ‘मेरो दाइ हुमबहादुरको छोरो विजयबहादुर हो यो’ बमबहादुरले फेरि भन्यो । विजयबहादुरले हिममायाको गोडामा ढोगेको थियो ।
त्यसपछि बाकस खोलेर स्वास्नी छोराछोरीलाई भनेर ल्याएका कपडा लत्ताहरू हिममायाको हातमा राखिदिएको थियो बमबहादुरले । ‘यो सबै यो भतिजोले किनिदिएको हो, पर्दैन भो भन्दा नि मान्ने हो र … …’ बमबहादुरले स्वास्नीसँग भनेको थियो ।
बमबहादुरको दाइ हुमबहादुरको छोरो आएको छ अरे भन्ने सुन्नासाथ गाउँका छरछिमेकीहरू सबै थुप्रिन लागेका थिए बमबहादुरको घरको आँगनमा । ‘के गर्ने, दाइले यहाँबाट गएपछि धनसम्पत्ति त प्रशस्तै कमाएका रहेछन् ।
पछिसम्म पनि घर फर्किन्छु भन्दै थिए अरे तर भाग्यको अगाडि मानिसको के लाग्छ र । दाइ भाउजू दुवै वर्ष दिनको फरक पारेर बितेछन् । यो एउटा छोरो बाबुआमा बितेपछि त्यत्रो श्रीसम्पत्ति हुँदाहुँदै पनि एक्लो परेछ । भन्न त दाइले आफ्नो बाबुबाजेको नाम, गाउँघरको नाम सबै भनेका थिए अरे ।
यसले त एउटा कागजमा सबैको नाम ठेगाना लेखेर पनि राखेको रहेछ तर कहिल्यै पहाडघर नआएको मान्छे, कता हो कता भनेर त्यसै निच मारेर बसेको रहेछ । धन्य योसँग भेट हुनु लेखेको रहेछ र मात्रै …’ चुरोट बाँड्दै भनेको थियो बमबहादुरले गाउँलेहरूसँग । ‘हैन, कसरी भेट भो त काका भतिजाको ? कहाँ भेट्नु भो बाबुलाई ?’
बमबहादुरले दिएको चुरोटको सर्को तान्दै सोधेको थियो चन्द्रवीरले । ‘पेन्सन थापेपछि यसो केटाकेटीको लागि कपडा एक दुई जोर किन्नुपर्यो भनेर बजारमा घुम्दै थिएँ म, साह्रै गर्मी लागेको हुनाले एउटा होटेलमा पसेर दही एक गिलास किनेर खाँदै थिएँ, त्यहीँ यो केटो पनि दही खाँदै रहेछ ।
योसँग आँखा जुध्नासाथ मलाई ता किन किन आफ्नो दाइ हुमबहादुरको झझल्को लागिहाल्यो । रोक्नै सकिनँ आफूलाई र सरासर यसको अघि गएँ र बाबुको नाम, थर सोधेँ ।’ ‘मेरो बाबुको नाम हुमबहादुर हो । म फलानाको नाति हुँ ।
मेरो बाबुको पहाडघरको नाम यो हो’ भनेर सबै खरखरती भन्यो यसले, अनि त मैले पनि ‘तेरो बाबुको भाइ बमबहादुर मै हुँ’ भनेर भनिहालेँ बडो गर्वसाथ भनेको थियो बमबहादुरले ।
विजयबहादुर खुबै हृष्टपुष्ट जिउडाल भएको प्रायः पच्चीस छब्बीस वर्षको खाइलाग्दो युवक थियो । गाउँमा आएको दुई चार दिनमा नै सबै गाउँलेहरूसँग मेलजोल बढाइसकेको थियो उसले । ‘आहा ! बमबहादुरको भतिजा त खुबै फरसाइलो रहेछ, त्यतिका रुपियाँ पैसा कमाएर पनि ठुलो हुनु नपर्ने ।
मानिस भएर त त्यस्तो पो हुनुपर्छ’ विजयबहादुरको मिजासिलो व्यवहार देखेर गाउँलेहरूले आपसमा कुरा गरेका थिए । ‘भोलि मेरो भतिजाले माथि देवस्थानमा बोको चढाउने भएको छ । हजुरहरू सबैजना आइदिनुहोला, बमबहादुरले चन्द्रवीर, भगते, लालबहादुर र रिठ्ठेलाई निम्त्याएको थियो ।
‘हैन, हजुरको भतिजाको त अहिलेसम्म पनि बिहेवारी भएको छैन भन्ने सुन्छु, के साँच्चै नै बिहे भएको छैन कि क्या हो ?’ बमबहादुरले निम्त्याएको दिन बोकाको मासु मजासँग चपाएर निलेपछि सोधेको थियो चन्द्रवीरले ।
‘के गर्ने, छोराको बिहे गराउने बाबुआमा नै बितेपछि अरु कल्ले खोजिदेओस् उसको लागि केटी ? अब यहाँ आएको छ यतैतिर एउटी घर खाने खालकी केटी हेरेर बिहे गरिदिउँला भनी विचार गर्दैछु । हजुरहरूले पनि यसो विचार गरिदिनुपर्ला’ चन्द्रवीरले उत्तिनैखेर रित्याएर राखेको गिलासमा रक्सी थपिदिँदै भनेको थियो बमबहादुरले । ‘होइन, हजुरको भतिजाले यस्तो गाउँमा जन्मेर हुर्केका केटी बिहे गर्न मान्नुहोला र ?’ चन्द्रवीरले रक्सीको गिलास हातमा लिएर भनेको थियो ।
खै, हजुरलाई म के भनूँ ! अस्ति पँधेरोमा नुहाउन भनेर गएको थियो मेरो भतिजा । त्यहीँ नै हजुरकी छोरी जमुनीलाई देखेछ । त्यो दिनदेखि ‘ल, काका ! म त्यै केटीसँग बिहे गर्छु’ भनेर मेरो पछि लागेको छ । केटो हजुरले पनि देखिहाल्नु भएको छ । मेरो भतिजा भएको हुनाले उसको घर पनि यही नै हो ।
हजुरले पनि एक न एक दिन छोरीलाई बिहे गरिदिएर पठाउनै पर्छ भने मेरै भतिजा केटोसँग बिहे गरिदिए त भै गो नि’ बमबहादुरले भुटुवा राखेको दुनो चन्द्रवीरको अघि राखिदिँदै भनेको थियो । ‘कुरो ता ठीकै भन्नुभयो हजुरले, तर पोहोर मात्रै ठुली छोरीको बिहे गरिदिएको हुँ ।
अहिले मसँग फुटेको पैसा छैन छोरीको बिहेमा खर्च गर्नको लागि । खै, कसरी आँटुँ …. ’ भुटुवा राखेकोतिर हात बढाउँदै भनेको थियो चन्द्रवीरले । ‘होइन, त्यसको लागि हजुरले धन्दा मान्नैपर्दैन, हामी छँदै छौँ । दोहोरो खर्च लाएर बिहे गरिदिन्छु म मेरो भतिजाको । हजुरले ‘हुन्छ’ मात्र भन्नुहोस् न’ हाँस्दै चन्द्रवीरसँग भनेको थियो बमबहादुरले ।
त्यसको हप्तादिनपछि जमुनी र विजयबहादुरको बिहे भएको थियो । ‘जमुनी त हुनसम्मकी भाग्यमानी रहिछे । त्यस्तो लायकको धनी दुलहा पाई ।’ विजयबहादुरले जमुनीलाई बिहे गरेर गाउँदेखि लगेपछि जमुनीका दौँतरी साथीहरूले आपसमा कुरा गरेका थिए ।
चन्द्रवीर र उसकी स्वास्नी पनि विजयबहादुर जस्तो युवकलाई ज्वाइँ बनाउन पाएकोमा हर्षले गद्गद् भएका थिए । विजयबहादुरले जमुनीलाई बिहे गरेर दुई महिना पनि बित्न पाएको थिएन एक्कासि छोरीको अकाल मृत्यु भएको समाचार बज्र बनेर खसेको थियो चन्द्रवीर र उसकी स्वास्नीको छातीमा । कठैबरा ! जमुनी त बितिछे । हप्तादिनसम्म अन्धाधुन्ध ज्वरो आएको थियो अरे । ए … बरा … त्यस्तो लाऊँ लाऊँ खाऊँ खाऊँ भन्ने उमेरमा कालले पनि कसरी लग्यो होला’ गाउँमा प्रायःजसो सबैको मुखमा त्यही एउटै कुरा मात्र थियो ।
जमुनीको मृत्यु भएको महिना दिनपछि विजयबहादुर गाउँमा आएको थियो । ‘के गर्ने ससुरा ! मेरो भाग्य नै खोटो रहेछ । पानी जति नै पैसा खर्च गरेर पनि हजुरकी छोरीलाई बचाउन सकिनँ ।’ विजयबहादुरले दुःखपूर्ण स्वरमा भनेको थियो चन्द्रवीरसँग ।
‘अब के गर्ने त जुवाइँ, उसले त्यति नै दिन आफ्नो कर्ममा लेखाएर ल्याएकी रहिछे । अब हामी जति नै रोए कराए पनि ऊ फर्कने होइन’ आफ्नो आँखाको आँसु हत्केलाले पुछ्दै विजयबहादुरलाई सान्त्वना दिएको थियो चन्द्रवीरले ।
‘के गर्नु ! भतिजाको अनुहार देख्दा यो मन त्यसै त्यसै फाटेर आउँछ । सुत्न, खान सबै बिर्सिसके जस्तो छ उसले । यस्तै चाला हो भने त बौलाहा हुन पनि बेर छैन । ‘मर्नु र बाँच्नु भनेको भगवान्को हातमा हुन्छ । यसरी रातदिन पीर गरेर आफ्नो शरीरलाई हेँला नगर’ भनेर कति सम्झाएँ तर मेरो कुरो सुने पो । अब हजुरहरूले नै सल्लाह दिनुप¥यो, के गरे ठीक होला’ एक दिन बेलुकापख भगते र लालबहादुरको अघि रक्सी र कुखुराको मासु राखिदिँदै भनेको थियो बमबहादुुरले ।
‘मेरो विचारमा त बाबुको अर्को बिहे गरिदिए ठीक हुन्छ किनभने अर्को बिहे गरिदिएपछि मात्र पहिलेकी स्वास्नीको सम्झना विस्तारै विस्तारै धमिलिँदै जानेछ । होइन त लालबहादुर दाइ ?’ भगतेले रक्सी दुई घुट्को घाँटीबाट छिराएपछि भनेको थियो ।
‘हुन त मैले पनि यही कुरा सोचेको थिएँ तर यति चाँडै केटी कल्ले देला र ? स्वास्नी मरेको दुई महिना पनि नबित्दै दोस्रो बिहे ग¥यो भनेर कुरा काट्लान् नि गाउँलेहरूले’ बमबहादुरले लालबहादुरको भागमा मासु थपिदिँदै भनेको थियो ।
‘ए … मान्छेले भन्न पाएपछि के के भन्छन् भन्छन् । त्यस्तो कुरामा पनि लाग्नु हुन्छ ? आफ्नो सुर पो गर्नुपर्छ भगतेले ठीकै भन्यो, गरिदिए हुन्छ भतिजाको दोस्रो बिहे’ लालबहादुरले निकै गम्भीर भएर भनेको थियो । ‘उसो भए केटी खोज्न अन्त किन जाऊँ हजुरकी ठुली छोरी लक्ष्मीलाई मेरो भतिजोसँग बिहे गरिदिनुप-यो’
बमबहादुरले लालबहादुरले रक्सी पिउँदै गरेको गिलासमा अझ रक्सी थपिदिँदै भनेको थियो । ‘भर्खर भर्खर स्वास्नी मरेकी हुनाले धुमधामसँग बिहे गर्न त के मान्ला र मेरो भतिजाले, तै पनि एउटा खसी त ढाल्नै पर्ला …’ बमबहादुरले कुरा थपेको थियो । ‘होइन, अहिले यो सब गर्नु हुँदैन । मेरी छोरीलाई बिहे नै गर्ने हो भने साटसुट बिहे गर्नुपर्छ’ लालबहादुरले बमबहादुरसँग भनेको थियो ।
‘मेरो भतिजाले दोस्रो बिहे गर्न मान्दै मानेको थिएन ता तैँले दोस्रो बिहे नगर्ने भए मसँग सम्बन्ध नै नराख’ भनेपछि बल्ल मान्यो । विजयबहादुरले लक्ष्मीलाई साटसुट बिहे गरेर लगेपछि चन्द्रवीर र अन्य दुई–चारजना गाउँलेहरूको अघि बमबहादुरले भनेको थियो ।
‘छोरीलाई पनि आफूसँगै लिएर आउनुभएको भए त हुन्थ्यो नि जुवाईँ’ विजयबहादुरले लक्ष्मीलाई बिहे गरेर लगेको प्रायः तीन महिनापछि ऊ गाउँमा आाएर सासू ससुराको निम्ति आफूले ल्याइदिएको कोशेली बोकेर उनीहरूलाई भेट्न जाँदा लालबहादुरले विजयबहादुरसँग भनेको थियो । ‘मैले त हजुरकी छोरीलाई पनि साथै लिएर आउन खोजेको थिएँ तर डाक्टरले जिउ भारी भएको बेला धेरै उकालो–ओरालो ठीक हुँदै भनेको हुनाले ल्याइनँ, अब उसको जिउ हलुङ्गो भएपछि लिएर आउँला’ विजयबहादुरले ससुरासँग भनेको थियो ।
‘फेरि कहिले फर्कनुहुन्छ त जुवाईं ! उतातिर ?’ लक्ष्मीकी आमाले विजयबहादुरसँग सोधेकी थिई । ‘म त भाकल पूरा गर्न मात्रै आएको हुँ । भोलि माथि देवस्थानमा बोको चढाउँछु र पर्सि हिँडिहाल्छु । अँ ! हजुरकी छोरीले बहिनीले आउन मन गरी भने साथै लिएर आउनुहोला भनी पठाएकी छ । पठाउनुहुन्छ भने पछि दिदीचाहिँ आउँदा सँगै आउलिन् …’ विजयबहादुरले लक्ष्मीकी बहिनी सरस्वतीतिर हेर्दै भनेको थियो ।
त्यसपछि सरस्वती र उसकी फुपूकी छोरी मैना पनि भिनाजुसँगै लक्ष्मी भए ठाउँ गएका थिए ।
एक दिनको कुरा हो । झमक्क साँझ परेपछि विजयबहादुर बमबहादुरको घरमा आएको थियो । ‘अहो यसबाजि त पन्ध्र दिन पनि नबित्दै आयौ त ?’ बमबहादुरले विजयबहादुरसँग अचम्म मान्दै भनेको थियो । ‘नआइ नहुने भयो काका ! भोलि बिहानै गएर एउटा गतिलो बोको खोजेर ल्याउनुहोला’ भन्दै आफ्नो खल्तीबाट सय सयको केही नोटहरू निकालेर बमबहादुरको हातमा राखिदिएको थियो विजयबहादुरले । ‘साह्रै हतार परे जस्तो छ नि’ हाँस्दै भनेको थियो बमबहादुरले ।
त्यसको भोलिपल्ट बिहान भगतेलाई साथमा लिएर पल्लो गाउँमा बोको खोज्न भनी हिँडेको थियो बमबहादुर । ‘हजुरको भतिजोलाई भनेर मलाई पनि उतैतिर एउटा सानोतिनो जस्तो भए पनि जागीर पाइन्छ कि भनिदिनुप-यो । यहाँ बसेर साह्रै दुःख पाइयो ।
तीनतीन ओटा छोराछोरी छन् जहान छे, त्यति जाबो खेतको भरमा के गरी बाँच्न सकिएला र खै … ‘दिनभरि बोको खोजेर बल्लतल्ल भनेजस्तो बोको पाएपछि भगतेलाई बोको डो-याउन लाएर घर फर्कंदै गरेको बमबहादुरसँग भनेको थियो भगतेले । ‘मैले त अस्ति नै सोचिसकेको छु, तिमीहरूलाई उतै पठाउनु पर्ला भनेर ।
उता गयौ भने बुहारीले पनि एउटा पसल राखेर धेरथोर जेजति भए पनि कमाउन सक्छिन् । छोराछोरीले लेखपढ गर्न पाउनेछन् । तिम्रो पनि जागीर हुनेछ । भनेजस्तो कमाई भएपछि घर फर्के त भैगो नि । यताको घरजग्गा कसैलाई जिम्मा लगाएर गए भयो’ बमबहादुरले मनमनै केही गुन्दै भनेको थियो । ‘उसो भए म आजै मेरो भतिजासँग कुरा गर्छु र कुरा मिलेछ भने यसबाट नै जहान केटाकेटी सबै लिएर गए भयो’ बमबहादुरले केही क्षण विचार गरेपछि भगतेसँग भनेको थियो ।
बमबहादुरले केही क्षण विचार गरेपछि भगतेसँग भनेको थियो । ‘त्यस्तो भै दिए त म नमरुञ्जेलसम्म हजुरको जय ! जय ! गाउने थिएँ’ मनमनै खुसी हुँदै भनेको थियो भगतेले ।
‘कस्तो मूर्ख बनाएको छु मैले यी गाउँलेहरूलाई ! को हो ! चिन्नु न जान्नुको मानिसलाई मेरो भतिजो भनेर चिनाएको छु । मोरो विजयबहादुर पनि साँच्चै नै मेरो भतिजो नै हो कि जस्तो भइ टोपल्छ । विजयबहादुर नाम पनि हो कि होइन त्यसको । देश खाएर शेष पल्टेको छ मोरो । कहिलेकाहीँ म आतिन्छु कसैले थाहा पाउँछन् कि भनेर तर त्यो भने आत्तिनै जान्दैन । जे काम पनि विस्तारै विस्तारै बुद्धि चालेर गर्छ ।
‘तातै खाउँ छिट्टै मरुँ भनेर हुँदैन दिमाग खियाएर काम गर्नुपर्छ’ भन्छ मोरो । हुन पनि हो, उसले दिमाग नखियाएको भए यत्रो पैसा कहाँबाट आउँथ्यो त । ऊ आउन थालेदेखि त मेरो दिनै फर्केको छ । पैसा त रहेछ नि यो संसारमा सबैभन्दा ठूलो कुरो । पैसा हातमा भए के गर्न सकिन्न र … … ! अँ … … अब यो भगतेका जहान र दुईओटी छोरीहरूलाई पनि पठाउन पाए भने त …’ बमबहादुरले मनमनै धेरै कुरा सोचेको थियो ।
बाटामा हिँड्दाहिँड्दै बमबहादुरले आफूले विजयबहादुरलाई पहिलो दिन भेटेको दिन सम्झन थालेको हुन्छ ।
वर्षदिन अघिको कुुरा हो । गोरखपुरमा पेन्सन बुझेपछि घर फर्कंदा बुटवलको एउटा होटेलमा तीन दिनसम्म बसेर भएभरको पैसा सिध्याएको थियो बमबहादुरले । चौथो दिन रित्तो खल्ती लिएर बिखर्ची भएर बुटवलको ठूलो पुलनेर झोक्रिएर बसिरहेको थियो ऊ । त्यसैबेला एउटा पच्चीस छब्बिस वर्षको युवक आएर उसँग कुरा गर्न लागेको थियो ।
युवकको चालढाल, बोलीचाली निकै राम्रो लागेको थियो बमबहादुरलाई । त्यस युवकले आफ्नो नाम विजयबहादुर बताएको थियो । विजयबहादुरसँग केहीबेर कुराकानी गरेपछि आफू बिखर्ची भएर घर फर्कन नसकेको कुरो भनेको थियो बमबहादुरले उसँग ।
‘हिँड्नुहोस् कुनै चिया पसलमा जाऊँ र त्यहीँ बसेर कुरा गरौँ’ विजयबहादुरले बमबहादुरलाई एउटा भट्टीमा लगेर खुबसँग मासु र रक्सी खुवाएको थियो । ‘मैले भनेको कुरा मान्नु भयो भने पैसाको खेती गर्न सकिन्छ बुझ्नुभयो ।’ निकैबेरसम्म बमबहादुरसँग कुरा गरेपछि अन्त्यमा भनेको थियो विजयबहादुरले ।
त्यसको पाँच दिनपछि बमबहादुरको भतिजा बनेर बमबहादुरको गाउँमा पुगेको थियो विजयबहादुर ।
‘भतिजो बाबु बस्नुहोला नि दुई–चार दिन त यतै होइन र ?’ त्यतिका बेरसम्म बोको डो-याएर चुपचापै हिँडिरहेको भगतेले एक्कासि प्रश्न गरेको थियो बमबहादुरसँग । ‘हँ … के भन्यौ ?’ बमबहादुरको गहिरो सोचाईमा बाधा परेको हुनाले झस्कँदै सोधेका थियो बमबहादुरले । ‘होइन, भतिजा बाबु दुई–चार दिन त अझै यता बस्नुहोला नि ?’ भगतेले फेरि आफ्नो प्रश्न दोहराएको थियो । ‘तिमीहरू पनि ऊसँगै जाने भए त बस्नै प¥यो नि’ बमबहादुरले उत्तर दिएको थियो ।
बमबहादुर र भगते बमबहादुरको घर पुग्दा झमक्क साँझ पर्न लागेको थियो ।
‘बा आउनुभयो ! बा आउनुभयो, बोको ल्याउनु भयो …’ आफ्नो बाबुलाई आँगनमा देख्नासाथ रमाउँदै चिच्याएको थियो बमबहादुरको सात वर्षीय कान्छो छोरा ‘बा … ! म भोलि धेरै पोलेको मासु खान्छु है ! है बा … ?’ छोरी चाहिँले बमबहादुरको नगीचै गएर बोकोतिर लोभिलो दृष्टिले हेर्दै भनेको थिई । ‘ल यसलाई लैजाऊ र कटेरामा थुनिराखेर आऊ’ बमबहादुरले भगतेलाई अह्राएको थियो, ‘जा त तीनओटा बटुको मागेर ल्या तेरी आमासँग । अचार पनि छ कि … सोध’ ।
पिँढीमा गुन्द्री ओछ्याउँदै भनेको थियो बमबहादुरले छोरोसँग । ‘ल, बस यतै तिमी पनि’ आफूसँगै लिएर आएको चार बोतल रक्सी राखेको झोला आफ्नो अघिल्तिर राखेर त्यसबाट रक्सीको बोतल निकाल्दै खोरमा बोको थुनिओरी आएको भगतेतिर हेर्दै भनेको थियो बमबहादुरले ।
‘खै, भतिजा केटो के गर्दैछ, त्यसलाई नि पठा यतैतिर’ हिममायाले रिकाबीमा मुलाको अचार राखेर लोग्नेको अघिल्तिर राखिदिएपछि भनेको थियो बमबहादुरले । ‘बिहान भात खाएपछि त गै गए नि उनीहरू’ हिममायाले सहज स्वरमा भनेकी थिई । ‘बिहानै गए … ! हैन कसको कुरो गर्छे यसले ?’ हिममायाको कुरा सुनेर अलमल्ल परेको थियो बमबहादुर ।
‘काका र मेरो हिजै कुरो भइसकेको छ । म बहिनीलाई दश पन्ध्र दिन डुलाएर पछि सरस्वतीसँगै पु¥याउन आउँला, भनेर कमलीलाई लिएर … ‘ए राँड ! के भनेर पठाइस् त्यो चिन्नु न जान्नुको मानिससँग मेरी छोरीलाई ?’ स्वास्नीको कुरा पूरा नहुँदै एक्कासि ठूलो स्वरले चिच्च्याएर हिममायाको शरीरमा लात्ताले हानेको थियो बमबहादुरले ।
‘कस्तो चिन्नु न जान्नु भन्नुहुन्छ ? हजुरकै भतिजा त हो नि । बिनसित्तिमा किन रिस पोखेको होला ममाथि’ लोग्नेको व्यवहारबाट दुःखी हुँदै भनेकी थिई हिममायाले । ‘होइन, त्यो मेरो भतिजो होइन । फटाहा हो त्यो । केटी बेचेर खाने फटाहा … … ! भगवान् ! अब मेरी छोरीलाई कहाँ लगेर बेच्ने होला त्यसले ।
खै ल्या, ल्या मेरो खुकुरी कहाँ छ ? म अहिल्यै त्यसको पछि पछि जान्छु र त्यसलाई भेटेँ भने त्यसको घाँटी छिनाउँछु …’ भन्दै दगुर्दै टाँडमा शिरानमनि राखेको खुकुरी दापबाट थुत्त थुतेर नाङ्गो खुकुरी हातमा लिएर बाहिर अन्धकारतिर दगुरेको थियो बमबहादुर ।
अहिले प्रायः सात वर्ष हुन लाग्यो, बमबहादुर बौलाहा भएको । ऊ प्रायःजसो एकोहोरिएर एउटै ठाउँमा बसिरहन्छ । कहिलेकाहीँ गाउँमा कुनै नौलो मानिस आयो भने बमबहादुर दगुर्दै जान्छ र त्यस मानिसको कठालो समातेर भन्छ, ‘बोको छ ? मोटो बोको, पासो थाप्नु परेको छ मलाई … पासो … ।’
Facebook Comment