कोरोनाभाइरसविरुद्धको भ्याक्सिन लिने पहिलो महिलाको १६ हप्तापछिको अनुभव कस्तो छ ?

डिसी नेपाल
२८ असार २०७७ ९:०२

काठमाडौं। अमेरिकामा कोरोनाभाइरसविरुद्धको भ्याक्सिन लगाउने पहिलो महिलाले आफ्नो अनुभव साझा गरेकी छिन् । भ्याक्सिनमाथि अनुसन्धान र परीक्षणको पहिलो चरणमा गएको मार्च महिनामा ४३ वर्षकी जेनिफर हलरलाई भ्याक्सिनको पहिलो डोज दिइएको थियो । १६ हप्तापछि अहिलेसम्म उनको शरीरमा कुनै पनि किसिमको नकारात्मक असर देखिएको छैन ।

अमेरिकी मिडिया कोमोन्यूजका अनुसार अमेरिकाको सिएटलकी जेनिफरले आफूले निकै राम्रो महसुस गरिरहेको बताएकी छिन् । जेनिफरलाई कोरोनाभाइरसविरुद्ध लड्नको लागि तयार गरिएको एमआरएनए–१२७३ नामको भ्याक्सिन दिइएको थियो । अमेरिकाको केपी वाशिंगटन रिसर्च इन्स्टिच्युटमा यो भ्याक्सिनका विषयमा अध्ययन भइरहेको छ ।

एक प्रविधि कम्पनीमा अपरेशन्स म्यानेजरको रुपमा कार्यरत जेनिफरको शरीरमा अहिलेसम्म कुनै पनि किसिमको नकारात्मक असर देखिएको छैन । एमआरएनए–१२७३ लाई अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थ र मोडर्ना कम्पनीले तयार गरेका हुन् । कम्पनीले यो भ्याक्सिन लगाएपछि कुनै व्यक्तिमा कोरोना संक्रमण हुन नसक्ने दावी गरेको छ ।

गएको मे १८ मा मोडर्नाले फेज १ परीक्षणको नतिजा सकारात्मक आएको घोषणा गरेको थियो । मोडर्नाले आफ्नो भ्याक्सिनको विषयमा जानकारी दिँदै जुलाइमा यसको फेज ३ परीक्षण सुरु हुने बताएको थियो । अहिले जुलाइ महिनाको दोस्रो हप्ता चलिरहेको छ । तेस्रो चरणको परीक्षणमा ३० हजार जना स्वयंसेवकलाई भ्याक्सिनको डोज दिने योजना छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *