नेकपामा राष्ट्रवादको रडाको, ओलीभन्दा राष्ट्रवादी भएको प्रचण्डको दावी

डिसी नेपाल
२९ असार २०७७ १:३३

काठमाडौं। सत्तारुढ दल नेकपाभित्र राष्ट्रवादको रडाको बढ्दै गएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतवार आफ्नो निर्वाचन जिल्ला चितवन पुगेर पार्टीभित्रको सो रडाकोलाई सार्वजानिक गरिदिए । उनले पार्टीमा आफू नै राष्ट्रवादी भएको दावी पनि पार्टी कार्यकर्तासामु गर्न भ्याए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र त्यसका सहयोगीहरुले आफूलाई प्रधानमन्त्रीबाट हटाउन प्रयत्न गरिरहेको कुरा सार्वजानिक गरिदिएको भोलिपल्टैबाट अध्यक्ष प्रचण्ड र उनको गुटले प्रधानमन्त्री ओलीको राजीनामा मागे ।

यो प्रकरणले प्रचण्ड र उनको गुटलाई भारतीय एसेटका रुपमा प्रत्यक्ष अप्रत्यक्ष आरोप खेप्नु परिरहेको छ । त्यसमाथि भारतमा ओलीबिरुद्ध अभियान नै चल्नु, भारतको सत्तारुढ उच्चपदस्थहरु ओलीविरुद्ध परिचालित हुनु, भारतका मिडियाहरु ओलीका विरुद्ध असान्दर्भिक कुराहरुका साथ असभ्यरुपले प्रस्तुत हुनुले भारतको सत्ता जसरी पनि ओलीलाई हटाउन प्रयत्नशील छ र त्यसका लागि सबैखालका प्रयासहरु गरिरहेको छ भन्ने प्रमाणित पनि गरिरहेको छ ।

यसैसन्दर्भमा नेकपामा राष्ट्रवादी र भारतपरस्तहरुको कित्ता आफसेआफ जनस्तरमा छुट्टिन थालेका बेला त्यसबारेको धारणा प्रचण्डले चितवन पुगेर सार्वजानिक गरेका हुन् । उनले देशभरका सडकहरुमा ओलीका पक्षमा निस्किएका जुलुसहरुप्रति तीब्र असन्तुष्टि पनि व्यक्त गरे । देशको पक्षमा अडान लिएको भन्दै युवाहरुको जमातले ओलीलाई राष्ट्रवादी नेताका रुपमा नारा लगाएको छ र उनलाई हटाउन खोज्नेहरु भारतपरस्त बनाइएका छन् । यही कारण पार्टीमा गुटगत बहुमत हुंदाहुंदै पनि प्रचण्डको समुहले ओलीलाई हटाउने आंट गर्न सकेको छैन । र, आफूलाई ओलीभन्दा पनि राष्टवादी भएको र ओलीको हटाउन भारत होइन पार्टीको बहुमतपक्ष लागेको हो भन्ने बुझाउने प्रयासमा लागेको प्रचण्डको चितवन भाषणले देखाएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माको राजीनामा मागिएपछि उत्पन्न भएको विवाद किनारा नलाग्दै जारी स्थायी कमिटी बैठक आगामी साउन २ गतेसम्मका लागि स्थगित भएको छ । यो स्थगित भएको समयलाई नेताहरुले आ आफ्नो तर्क कार्यकर्तामाझ लैजान सदुपयोग गरिरहेका छन् । प्रधानमन्त्री ओलीको राजीनामा माग्ने समूहको नेतृत्व गरिरहेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार चितवन पुगेका थिए ।

शनिबार नै विभिन्न राजनीतिक भेटघाट गरेका प्रचण्डले आइतबार नेकपा चितवनले आयोजना गरेको कार्यक्रममा पार्टी भित्रको विवाद र सडकमा भइरहेको प्रदर्शनबारे आफ्नो दुःखेसेमात्र पोखेनन् पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीभन्दा आफू राष्ट्रवादी रहेको तर्क प्रस्तुत गरे । उनले सम्बोधनका क्रममा भने, ‘पार्टी भित्र कोही राष्ट्रवादी र कोही दलाल भन्ने हुँदैन । पार्टीको बैठकमा मैले नै सीमा समस्या र समाधनको एजेण्डा राखेको हुँ। त्यहाँ मैले र अरु नेता सबैले नयाँ नक्सा जारी गरेकोमा कमरेड केपी ओलीलाई प्रधानमन्त्रीको हैसियतामा धन्यवाद दिएका हौं ।’

यही असाढ १० गते शुरु भएको नेकपाको बैठकमा ओलीको राजीनामा मागिए पनि ओलीको जबरजस्त राष्ट्रवादी छविका कारण बहुमत हुँदाहुँदै पनि प्रचण्ड समूहले प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गराउन सकिरहेको छैन । उल्टै लगातार प्रचण्डले ओलीसँग वार्ता गरिरहेका छन् भने बैठक पनि स्थगित गरिएको छ । आइतबार प्रचण्डले आफू राष्ट्रवादी रहेको तर्क गर्दै आफूले गरेका कामहरु पनि स्मरण गराए । उनले भने, ‘‘केपी ओली प्रधानमन्त्री हुँदा चीनसँग ट्रेड एण्ड ट्रान्जिट सम्झौता भयो, म प्रधानमन्त्री हुँदा बीआरआई सम्झौता भयो । के यो लम्पसारवाद हो ? फास्ट ट्रयाक निर्माण के होला भन्ने थियो, मैले त्यसको जिम्मा नेपाली सेनालाई दिएँ, के यो लम्पसारवाद थियो ?’

यतिमात्र होइन प्रचण्डले नेपालको नयाँ नक्सा जारी भएको जस प्रधानमन्त्री ओलीले एकल रुपमा नपाउने बताए । उनले भने, ‘मलाई कार्यकारी भनिएको लगत्तैपछि पहिलो स्थायी समितिको बैठक मंसिरको अन्तिममा भयो । त्यसबेला भारतले नक्सा प्रकाशित ग¥यो र मैले स्थायी समितिको बैठकमा हामीले पनि तुरुन्तै नक्सा प्रकाशित गर्नैपर्छ, हाम्रो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा हामीले पनि तुरुन्तै प्रकाशित गर्नुपर्छ भनेर स्थायी कमिटीबाट सर्वसम्मत निर्णय गराएको छु । त्यो लम्पसारवाद हो ?’

चितवन पुगेर ओलीभन्दा आफू नै राष्टवादीमा आफू कमजोर होइन भन्ने कुरा प्रमाणित गर्न खोजेका प्रचण्डले भारतले सम्पूर्ण प्रयासबाट ओलीलाई हटाउन खाजेकै बेला पार्टीमा ओलीको राजीनामा माग गर्नुको आधार र कारणबारे पनि कुनै कुरा उल्लेख गरेनन् । बरु, राष्टियताका पक्षमा म पनि कम होइन भन्ने जिकिर भने प्रस्तुत गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *