भानु जयन्तीका अवसरमा आज सार्वजनिक बिदा !
दमौली । तनहुँको भानु नगरपालिकाले भानुजयन्तीका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नेपाली भाषाका धरोहर भानुभक्त आचार्यको सम्मानस्वरुप नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
नगरपालिकाले गत वर्षदेखि भानुजयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । उक्त निर्णयलाई यस वर्ष पनि निरन्तरता दिइएको नगरपालिकाका वरिष्ठ अधिकृत एवं सूचना अधिकारी सुनिल पाण्डेले बताए । भानुजयन्तीका अवसरमा नगरपालिकास्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, वडा कार्यालय बन्द रहनेछन्।
भानुभक्तको सम्मानस्वरुप नगरपालिकाभित्र सार्वजनिक बिदा दिने प्रचलन शुरु गरिएको नगरपालिकाले जनाएको छ। विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ शिखरकटेरीमा जन्मिएका भानुभक्त आचार्यको विसं १९२५ असोज ६ गते निधन भएको थियो ।
नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपीलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यिमा चिनिएका थिए ।
भानुजयन्तीमा विविध कार्यक्रम
दुईसय सातौँ भानुजयन्तीका अवसरमा नगरपालिकाले सोमबार भानुजन्मस्थल विकास समितिमा रामायणवाचन कार्यक्रम आयोजना गर्ने भएको छ । भानुजयन्तीका अवसरमा घर आँगन, टोल सरसफाइ, दिपावली र प्रभातफेरीलगायतका कार्यक्रम हुनेछन् । रासस
Facebook Comment