कोरोना संक्रमणपछि चम्किएला नेपालको पर्यटन क्षेत्र ?
प्राकृतिक सौन्दर्यले धनी देश हो, नेपाल। नेपालको मानचित्र अनुसार उत्तर देखि दक्षिणसम्मको छोटो दूरीमा पनि मनोरम हिमश्रृङ्खला, तालतलैया, हरिया वनजंगल, खोलानाला, तराईको समथर फाट आदि विविध भौगोलिकताको अवस्थिति नै विश्व सामु नेपालको पहिचान बनेको छ। मिश्रित जीवनचर्या अनि प्राकृतिक छटाले भरिपूर्ण सुन्दरता,नेपालको सन्दर्भमा अतुलनीय वरदानको रुपमा पनि लिन सकिन्छ।
अतिथि देवो भवःको भावना आम नेपालीमन र पनमा पाइन्छ। मानवता र सद्भावले ओतप्रोत नेपाल र नेपालीको भावनाप्रतिपर्यटकहरु झनै आकर्षित रहेको पाइन्छ। विभिन्न समयमा स्वयं पर्यटकले ब्यक्त गरेका भावनाले पनि यसलाई पुष्टि गरेको अनुभुत गर्न सकिन्छ।
नेपालमा बिक्रम सम्बत् २०३० सालमा स्थापना भएकोे चितवन राष्ट्रिय निकुञ्ज पहिलो निकुञ्ज पनि हो। बाग्मती प्रदेशमा अवस्थित यो निकुञ्जलाई युनेश्कोले विश्व सम्पदा सूचीमा समेत सूचीकृत गरेको छ । यो निकुञ्ज नेपालको तेस्रो र बाग्मती प्रदेशको दोस्रो महत्वपूर्ण पर्यटकीय गन्तब्य पनि मानिन्छ। चितवन राष्ट्रिय निकुञ्जको स्थापना हुनु भन्दा पहिल्यै अर्थात बिक्रम सम्बत् २०२२ सालमा मेघौलीमा बेलायती नागरिक जीम इडवर्डले टाइगर टप्स होटलको स्थापना गरेका थिए।
त्यहिबाट नै नेपालमा जंगल सफारीमा आधारीत पर्यटनको शुरुवात भएको मानिन्छ। बिक्रम सम्बत् २०१७ सालमा मेघौली विमानस्थलको निर्माण गरिएको थियो। टाइगर टप्स सञ्चालनमा आएपछि विमानस्थलको पनि स्तरोन्नति गरियो र सोहि होटलको कारण विमानस्थल पनि ब्यस्त हुन पुग्यो। मेघौलीमा अन्र्तराष्ट्रिय हात्तीपोलो प्रतियोगिताको पनि आयोजना गर्ने गरिन्थ्यो। तर अहिले विमानस्थल गौचरणमा बदलिएको छ,मेघौलीे बिरक्तिएको छ, सुनसान छ, पर्यटकको लागि विकट क्षेत्र जस्तै बनेको छ ।
भरतपुर चौविस कोठीबाट २५ किलोमिटर पश्चिम तर्फ पर्ने मेघौली पर्या–पर्यटन, वन्यजन्तुमा आधारीत पर्यटन विकासको सम्भावना बोकेको महत्वपूर्ण गन्तव्य हो। चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रसँग जोडिएका आठवटा मध्यवर्ती सामुदायिक वन र यहाँ रहेका वन्यजन्तु र चराचुरुङ्गीहरू पनि मेघौलीका विशेष आर्कषण हुन्।
समुद्री सतहबाट २२५ मिटर उचाईमा रहेको मेघौली क्षेत्रमा घासे मैदानदेखि साल, सिसौ, खयर, जस्ता ठूला रुख जातीका वनस्पतीहरु पाइन्छ। त्यसै गरी त्यस क्षेत्रमाएक सिंगे गैडा लगायतका दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गी सहजै अवलोकन गर्न पाइन्छ । पर्यटकलाई बिभिन्न स्थानमा घुमाउनको लागि नेचर गाईडको पनि सुविधा रहेको छ, त्यहाँ।
यहाँका सामुदायिक वनमा वनभोज स्थलको समेत व्यवस्था छ। मंसिर महिनामा यहाँका खेत वारीमा फूल्ने तोरीको फूलले गाँउ नै पहेलै बनाउँछन् । शान्त र स्वच्छ वातावरणमा रमाउन खोज्ने जो कोहिको लागि मेघौली एउटा उत्कृष्ठ गन्तब्य बन्न पुगेको देखिन्छ।
मेघौलीको प्रमुख आकर्षणको पर्यटकीय गन्तव्य मानिन्छ, गोेलाघाट। निकुञ्ज तथा नदीले तीन तिरबाट घेरिएको सुन्दर टापु जस्तै देखिन्छ, गोलाघाट । सूर्यास्त अवलोकनका लागि गोलाघाट नेपालमै ख्याती प्राप्त गन्तव्य हो। सामुदायिक वन तथा चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेको प्राकृतिक मनोरम स्थल गोलाघाटबाट,दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी तथा गोही पनिदेख्न सकिन्छ।
पर्यटकको चाहना अनुसार सामुदायिक वन तथा निकुञ्जमा हात्ती सयर, जीप सफारी, नदीमा र्याफ्टिङ्ग तथा डुङ्गा सयरको समेत व्यवस्था छ, त्यहाँ।
मेघौलीमा आदिवासी थारू, कुमाल, गुरुङ्ग, मगर लगायतका जनजाती र बाहुन क्षेत्री गरी दर्जनौ जातजातीको बसोबास रहेको छ । बिभिन्न ठाँउबाट बसाई सरेर यस ठाँउमा आउने क्रम समेत बढ्दै गइरहेको छ। त्यहाँ बसोबास गर्ने सबै जातजातीको आ आफ्नै मौलिक सांस्कृति र पहिचान रहेको छ।
हुन त, दुई नदीको चेपुवामा परेको मेघौलीलेबर्षेनी डुवान र कटानको समस्या पनि भोग्ने गर्दछ। हिजोआज नारायणी नदीमा जसीप÷मोटरबोट सञ्चालनको तयारी गरिएको छ । जसको बन्दरगाह गोलाघाटमै हुने चर्चा पनि चलिरहेको हुदाँ मेघौलीमा पर्यटन विकासको सम्भावना बढ्ने देखिन्छ। कतिपय होटलहरुले साँझको समयमा गोलाघाटमा नै पर्यटकलाई खानपिनको प्रवन्धपनि गर्दछन्।
मेघौलीको पर्साढाप क्षेत्रमा अवस्थित आँपबगैचालाई हिजोआज शिवालय नगर पार्कको रुपमा विकास गरिएको छ। यस पार्कमा प्रवेशद्वार, बगैचा, वनभोज स्थल, गैडाको मूर्ति, १०८ शिवलिङ्ग, राधाकृष्ण मन्दिर जस्ता धार्मिक एवम् मानव निर्मित सम्पदाहरु रहेका छन्। मेघौली र गोलाघाट भ्रमणमा आउने पर्यटकहरुले त्यस पार्कको समेत भ्रमण गर्ने गर्दछन्।
त्यहाँको अर्को धार्मिक पर्यटकीय गन्तब्य हो,श्री भोजराज सिद्धबाबा मन्दिर। त्यस ऐतिहासिक एवम् सांस्कृतिक स्थलको उचित व्यवस्थापन र संस्कृति संरक्षण गर्दै धार्मिक पर्यटकहरुको लागि समेत आकर्षक गन्तव्य बनाउने सोचका साथ विविध गतिविधिहरु संचालन गरिएको छ ।
थारु समुदायलाई मेघौलीको पर्याय भन्दा पनि अत्युक्ति नहोला।
मेघौलीमा आदिवासी थारू, कुमाल, गुरुङ्ग, मगर लगायतका जनजाती र बाहुन क्षेत्री गरी दर्जनौ जातजातीको बसोबास रहेको छ । बिभिन्न ठाँउबाट बसाई सरेर यस ठाँउमा आउने क्रम समेत बढ्दै गइरहेको छ। त्यहाँ बसोबास गर्ने सबै जातजातीको आ आफ्नै मौलिक सांस्कृति र पहिचान रहेको छ।
हाम्रो संस्कृति,हाम्रो पहिचान, संस्कृति संरक्षण, हाम्रो अभियान, भन्ने नाराका साथ यिनीहरु पनि आफ्नो संस्कृतिको संरक्षण गर्दै पर्यटन विकासमा अगाडि बढ्ने जमर्को गर्दै छन्। त्यहाँथारु संग्रहालयको पनि स्थापना गरिएको छ ।
त्यस संग्रहालयमा थारुहरुको भेषभुषा, उनीहरुले प्रयोग गर्ने कृषि सामाग्रीहरु, तमौरा लगायतका हातहतियार लगायतका सामाग्रीहरुको प्रदर्शन गरिएको छ । तर त्यसको अवलोकनको लागि आउने पर्यटकको संख्या न्यून रहेको देखिन्छ।
होमस्टेमा आएका वा अन्य पाहुनालाई मौलिक सांस्कृतिक कार्यक्रम देखाउन भनेर मेघौली क्षेत्रमा दुईवटा थारू सांस्कृतिक समूह छन्।थारुहरूको पछिल्लो समय चलेको नाँच लठ्ठी नाँच हो। १५–२० जना थारु महिला–पुरुष परम्परागत भेषभूषामा सजिएर लठ्ठी लिएर ढोलक बजाउँदै समूहमा नाँच्ने गर्दछन्।
त्यसका अलवा थारुहरुले आफ्नो संस्कृति झल्कने झाम्टा नाँच, फागु नाँच, झर्रा, झुम्रालगायतका नाँच प्रस्तुत गर्नेगर्दछन्। त्यहाँका अधिकांश पर्यटकीय होटल तथा होम स्टेहरूले पाहुना आउँदा होटलमै थारु नाँच टोली बोलाएर पर्यटकलाई मनोरञ्जन दिने गर्दछन्।
मेघौली क्षेत्रका कुमालहरुले पनि आफ्नै भेषभुषामा सजिएर कुमाल ठूल नाच देखाउने गर्दछन् । त्यस क्षेत्रमा गुरुङ जनजातीहरुको पनि बसोबास रहेको छ।
तिनीहरुले पनि आफ्नै भेषभूषामा सजिएर प्रस्तुत गर्ने लोक सांस्कृतिक कार्यक्रमले त्यस क्षेत्रमा पर्यटनको विकासमा टेवा पुगेको विश्वास गरिन्छ ।मेघौलीमा सुविधा सम्पन्न आरामदायी होटेल देखि होमस्टेको राम्रो व्यवस्था छ।
त्यहाँ थारू समुदायले सामुदायिक तवरबाट नै ब्यवस्थित रुपमा होमस्टेको सञ्चालनगरेका छन् जहाँ पर्यटकको आकर्षण बढ्दै गएको पाईन्छ ।माछा, लोकल कुखुरा र हाँसका परिकारको स्वाद लिन बाह्य तथा आन्तरिक पर्यटक मेघौली पुग्ने गर्दछन ।
बाग्मती प्रदेश सरकारले हाल कार्यान्वयन गरेको एक जिल्ला, एक पर्यटकीय गन्तव्य कार्यक्रमबाट यस प्रदेशमा १० पर्यटकीय गन्तब्यको घोषणा गरेको छ र जस मध्ये चितवन जिल्लाबाट मेघौली छनौटमा परेको छ ।
बिश्वमा नै दुर्लभ मानिने एक सिंगे गैडाको संरक्षणसँगै स्थानीय मेघौली क्षेत्रको विकास गर्ने उद्देश्य सहित बाग्मती प्रदेशका माननीय मुख्य मन्त्री डोरमणि पौडेलले २०७६ साल मंसिर २४ गते मेघौली गैडा उद्यान (राईनो पार्क) कोे शिलान्यास गरेका थिए। प्रदेश सरकार र अन्य सरोकारवाला निकायको सहयोग र समन्वयमा मेघौलीमा राइनो पार्क निर्माणको कार्यअगाडी बढाईदै छ।
नेपालमै पहिलो पटक विकास भएको जङ्गल सफारीमा आधारित पर्यटन क्षेत्र चितवनको मेघौली अहिले सुस्ताएको छ । तर हिजोआज केहि आशाका किरण छाउन थालेका छन् । पहिला यस क्षेत्रमा सडक लगायतका पूर्वाधारको कमी थियो तर अहिले सडक निर्माणको काम भईरहेको छ ।
यहाँका आदिवासी जनजातीले समेत आफ्नो जीवन शैली तथा संस्कृतिलगायतका विषयवस्तुलाई यहाँको पर्यटकीय ‘ब्राण्ड’को रुपमा विकास गर्ने सोचका साथ आफ्ना गतिविधिहरु संचालन गरिरहेका छन् । यसरी नै प्रदेश सरकार, स्थानीय निकाय र अन्य सरोकारवालाहरु सबै समन्वयात्मक रुपमा अगाडि बढेको खण्डमा दशकौं पछि चम्किँदै छ, पर्यटकीय गन्तब्यः मेघौली ।
Facebook Comment