यो सरकार पाँच वर्ष चल्ने हो भने नेकपाको जनमत समाप्त हुन्छः खनाल

डिसी नेपाल
२९ असार २०७७ १९:१४

काठमाडौं। सत्तारुढ दल नेकपाका वरिष्ठ नेता झलनाथ खनालले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पाँच वर्ष पूरा गर्ने हो भने नेकपा समाप्त हुने बताएका छन्। खनालले नेकपामा प्रधानमन्त्री ओलीको राजीनामा माग्ने एक प्रमुख नेता मध्ये हुन्।

साहना प्रधान प्रतिष्ठानद्वारा आयोजित भर्चुअल छलफल कार्यक्रममा खनाल आफ्नै पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री ओलीमाथि खनिए। उनले यो सरकार अनियमिततामा फसेको भन्दै अहिले नै सरकारकै कारण नेकपाले आधा जनतमत गुमाइसकेको बताए।

वरिष्ठ नेता खनालले भने, ‘जताततै सरकारको विरोध बढेको छ। एकपछि अर्को अनियमिततालाई सरकारले नियन्त्रण गर्न सकेको छैन। प्रधानमन्त्रीले कतै केही भएको छैन भन्दै आउनु भएको छ। यसरी जाँदा भविष्य अन्धाकार हुने देखिन्छ।’ उनले ओलीसँग डराएर पार्टी बस्न नसक्नेसमेत बताएका छन्। उनले भने, ‘पार्टीमा फटुने हो कि भनेर बस्ने ?, प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्रसित भएर बस्ने?’

यही असाढ १० गते शुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपामा विवाद चर्किएको छ। विवाद बढिरहेका बेला दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच भएका वार्ताहरु पनि टुंगोमा पुग्न सकेका छैनन्। गएको शुक्रबार यता दुई अध्यक्षबीच संवाद टुटेको छ भने स्थायी कमिटी बैठक साउन २ गतेसम्मका लागि स्थगित गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *