बागलुङ समाज बेल्जियमको आर्थिक सहयोगपछि कृष्णको मुम्बइमा उपचार शुरु
नयाँ दिल्ली, भारत । खाना पकाउने स्टोव पड्किएर गम्भीर घाइते भएका नेपाली ७ वर्षीय बालकको मुम्बइमा उपचार शुरु भएको छ। उनी परिवारको साथमा भारतको पञ्जावमा बस्दै आएका थिए ।
पीडित बालक कृष्ण विकलाई बागलुङ समाज बेल्जियमले आर्थिक सहयोग गरेपछि मुम्बइमा उपचार शुरु भएको पारिवारिक स्रोतले जनाएको छ। यसअघि पीडित कृष्णको दुई महिनासम्म जलान्धरको स्थानीय अस्पतालमा उपचार भएको थियो ।
खाना पकाउने केरोसिन स्टोव पड्किएर शरीरको ७० प्रतिशत भाग जलेका बालकको आर्थिक अभावले उपचारमा समस्या आएको थियो।
बागलुङको निसिखोला गाउँपालिका–५ डोरपाटन स्थायी घर भई हाल पञ्जावको जालन्धरमा बसोबास गर्दै आएका ज्ञान बहादुर विकका ७ वर्षीय छोरा कृष्ण विक गत मे ७ का दिन उक्त घटनामा घाइते भएका थिए। लकडाउनको चपेटामा परी रोजगारी गुमाएका ज्ञान बहादुर विकलाइ बागलुङ समाज बेल्जियमबाट आर्थिक सहयोग प्राप्त भएको हो।
कोरोनाको त्राससँगै लकडाउनको मार झेल्दै आएका ज्ञान बहादुर विकले रोड पटरी ठेलामा चली रहेको आफ्नो रोजगारी समेत गुमाए। ज्ञान बहादुरको थाप्लोमाथि ६ परिवारका सदस्यको जिम्मेवारी छ। परिवारमा एक्लो कमाउने विक परिवारलाई आर्थिक मारको चपेटाले बिहान बेलुकी छाक टार्नसम्म धौ धौ भइरहेका बेला अचानक ७ वर्षीय छोरा गम्भीर घाईते भएपछि पीडामाथि झन पीडा थपिएको थियो।
भारतका संघ संस्थाबाट २ लाख बढी सहयोग
ज्ञान बहादुरका छोराको उपचारका लागि भारतमा सक्रिय विभिन्न संघ संस्थाहरुसहित अमेरिकामा बस्दै आएका अमर क्षेत्री मार्फत दुई लाख तीस हजार रुपैयाँ सहयोग गरेका छन् । पीडित बालक कृष्ण विकको दुई महिनासम्म जलान्धरको स्थानीय अस्पतालमा उपचार भएको थियो । दुई महिनासम्मको उपचारमा चार लाख भारतीय रुपैयाँ खर्च लागेको ज्ञान बहादुर बताउँछन्।
अब थप उपचार पञ्जावमा सम्भव नभएको भन्दै डाक्टरले पीडित कृष्णलाई दिल्ली अथवा मुम्बईका अस्पतालमा उपचार गराउन सुझाब दिएका थिए। डाक्टरका अनुसार दिल्लीमा उपचार गरे पन्ध्र लाख र मुम्बइमा गरे करिब सात लाखसम्म लाग्ने छ। बिहान बेलुकी छाक टार्न समेत गाह्रो भएको अवस्थामा यति ठूलो रकम जुटाउनु ज्ञान बहादुरका लागि सम्भवै थिएन।
बागलुङ समाज बेल्जियम र सामाजिक अभियन्ता यशु थापाको पहलमा २ लाख ४१ हजार सहयोग
पीडित बालकको उपचारका लागि बागलुङ समाज बेल्जियमले १ लाख ७ हजार ५४९ र इशु थापाको पहलमा १ लाख ५२ हजार ५ सय रुपैयाँ सहयोग गरेको हो । बागलुङ समाज बेल्जियमकी अध्यक्ष गंगा शर्मा, जय राम केसी र गीतकार समाजसेवी यशु थापाको विशेष सक्रियतामा कृष्णको उपचारका लागि खर्च जुटेको समाजले जनाएको छ। उक्त सहयोग अभियानमा नेपालबाट कञ्चन थापा सहित विश्व भरीका दाताहरुले सहयोग गरेका थिए ।
समाजले उपचार खर्च संकलनका लागि सामाजिक सञ्जालमा सहयोग अभियान सुरु गरेको थियो । सोही सहयोग अभियान मार्फ़त उठेको रकम (२,४१,३३५) २ लाख ४१ हजार ३३५ भारतीय रुपैयाँ पीडित बालकका बाबु ज्ञान बहादुरले आफ्नो बैँक खातामा आएको बताएका छन् ।
मुम्बई अस्पतालमा उपचार हुँदै
आर्थिक सहयोग पाउनासाथ पीडित बालकको थप उपचार मुम्बईको नेशनल बर्न सेन्टर अस्पतालमा उपचार सुरु भएको छ। सहयोग रकम पाउनासाथ आफू छोरालाई लिएर पञ्जाबबाट मुम्बई आएको बाबु ज्ञान बहादुरले डिसी नेपाललाई बताए ।
उनले भने, “मनकारी नेपालीहरुको आर्थिक सहयोगले मेरो छोराको उपचार सफल हुने भएको छ । आउँदा दिनमा कति खर्च लाग्छ कुनै लेखाजोखा छैन । छोराको उपचारमा म यहाँहरुकै भरमा छु । यहाँहरुलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु।”
सामाजिक सञ्जालमा गरिएको सहयोग अभियान बन्द
यसैबीच तत्कालका लागि सामाजिक संजाल मार्फ़त शुरु गरिएको सहयोग अभियान तत्कालका लागि बन्द भएको छ। पीडित बालकका लागि सामाजिक सञ्जालबाट शुरु गरिएको सहयोग अभियान तत्कालका लागि बन्द गरिएको सहयोग अभियान्ता तथा संयोजक यशु थापाले बताएकी छन् ।
संयोजक थापाले सामाजिक सञ्जालमार्फत अभियानमा विशेष सहयोग पुर्याएको भन्दै नेपाली मजदुर एकता समाजकी ओमन संयोजक सबु सुनुवार, इजरायलमा रहने समाजसेवी तथा सामाजिक अभियान्ता पवित्रा गौतम (हेम एन्ड माया फाउन्डेशन) र अभियानमा सहयोग गर्ने सबैलाई विशेष धन्यवाद दिएकी छन्।
Facebook Comment