एफएनसीसीआईले भन्यो : तिर्न सक्ने व्यवसायीले ऋणको सावाँ र व्याज तिर्नु
काठमाडौं। बैंकको ऋण तिर्ने विषयलाई लिएर उद्योगी र बैंकहरुबीच विवाद भइरहेका बेला नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले सहज अवस्थामा भएका व्यवसायीलाई ऋणको किस्ता तथा ब्याज तिर्न आग्रह गरेको छ। महासंघले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै तिर्न सक्ने हाल तिर्न सक्ने उद्योगी व्यापारी र व्यवसायीलाई ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न आग्रह गरेको हो।
तिर्न नसक्नेहरुका लागि भने नेपाल राष्ट्र बैंकले ल्याउन लागेको आगामी मौद्रिक नीतिले सम्वोधन गर्ने महासंघले जनाएको छ। ‘हाल तिर्नसक्ने अवस्थामा भएका उद्योगी, व्यापारी तथा व्यवसायीलाई कर्जाको ब्याज तथा किस्ता भुक्तानी गरिदिन आग्रह गर्दछौं’, महासंघको सूचनामा भनिएको छ, ‘तिर्न नसक्ने उद्योगी, व्यापारी तथा व्यवसायीको कर्जाको पुनरसंरचना र पुनरतालिकीकरण तथा ब्याजको पुँजीकरण गरी कर्जा तिर्ने समय थप गर्ने आगामी मौद्रिक नीतिमा व्यवस्था हुन महासंघ सम्बन्धित निकायसँग अनुरोध गर्दछ।’
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारी र यसलाई रोक्न गरिएको लकडाउनका कारण व्यवसाय ठप्प हुँदा उद्योगीहरुले ऋण तिर्न सकेका छैनन्। यसै बीचमा बैंकहरुले ऋणको किस्ता तिर्नका लागि ताकेता गरेपनि उद्योगी र बैंकरबीच विवाद बढेको थियो।
बैंक र उद्योगी व्यवसायीका बीच नियमित छलफल भइरहेका कुनै गुनासो भएमा संयुक्त बैठक बसी समाधान गरिने महासंघले जनाएको छ।
यसअघि महासंघले ऋण तिर्ने विषयमा विवाद बढेको भन्दै असारमै मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई आग्रह गरेको थियो।
जवाफमा राष्ट्र बैंकले साउनमा मौद्रिक नीति ल्याएपनि कोभिडका कारण अप्ठ्यारोमा परेका व्यवसायीको कर्जाको पुर्नतालिकीकरण, पुर्नसंरचना गरिने र ऋण तिर्न समय थप गरिने प्रतिवद्धता जनाइसकेको छ।
Facebook Comment